सिटिजन्स बैंक खुला टेनिस : ऋतिक र अभिलाषालाई स्वर्ण
- नेप्लेज
- |
- २०८१-०१-१४
- |
- 386 पटक हेरिएको
ऋतिक राणा र अभिलाषा विष्टको जोडीले १० औं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको मिक्स डबल्समा शुक्रबार स्वर्ण जितेका छन् ।
सिटिजन्स बैंकको मुख्य प्रायोजनमा काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको फाइनलमा ऋतिक र अभिलाषाको जोडीले प्रदीप खड्का र माहिका राणाको जोडीलाई ६-१ र ७-५ को सोझो सेटमा पराजित गरे ।
पूर्व राष्ट्रिय च्याम्पियन जितेन्द्र परियारले भेट्रानमा दोहोरो स्वर्ण जिते । जितेन्द्रले पुरुष ३५ वर्षमाथि सिंगल्स र डबल्समा स्वर्ण जितेका हुन् । सिंगल्सको फाइनलमा जितेन्द्रले सन्तोष खत्रीलाई ३-६, ६-३ र १०-३ को सेटमा हराए । जितेन्द्रले इलम दिक्षितसंग मिलेर अनिल साइ र सिमान्त गुरुङको जोडीलाई ३-६, ७-५ र १०-७ को सेटमा डबल्सको फाइनलमा पाखा लगाए ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को टेनिस कोर्टमा भएको भेट्रान ६५ वर्षमाथि पुरुष सिंगल्समा कमल थापा पहिलो बने । उनले फाइनलमा कर्मा घलेको चुनौती ६-० र ६-१ ले समाप्त पारे ।
भेट्रानमै विमलकुमार गुरुङले पनि दोहोरो स्वर्ण चुमे । ५५ वर्षमाथि पुरुष सिंगल्स फाइनलमा विमलले बाजी मारे । उनले फाइनलमा प्रदीपबहादुर शाहमाथि ६-२ र ६-१ को जित दर्ता गरे । उक्त स्पर्धाको डबल्समा विमल र हिमाल शाहको जोडीले कमल थापा र छ्याम्बा धुन्डुपको जोडीलाई फाइनलमा ६-१ र ७-५ को सेटमा पराजित गरे ।
भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्सको फाइनलमा कमलबहादुर भण्डारीले महेश श्रेष्ठलाई सीधा सेटमा ६-२ र ६-२ ले पाखा लगाए । सो स्पर्धाको डबल्समा चन्द्र शाही र डेगेन्द्र श्रेष्ठको जोडी च्याम्पियन भए । उक्त जोडीले फाइनलमा महेश श्रेष्ठ र छेवाङ लामाको जोडीलाई ६-१ र ६-४ को सोझो सेटमा पन्छाए ।
प्रतियोगिताको अन्तिम दिन पुरुष-महिलाको सिंगल्स फाइनल हुनेछ । पुरुषमा प्रदीप खड्का र प्रणव मानन्धर उपाधिका लागि भिड्ने । अभिलाषा विष्ट र सुनिरा थापाबीच महिला सिंगल्स उपाधि भिडन्त हुनेछ ।