कोशीमाथि बागमति प्रदेशको रोमाञ्चक जीत

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-०७
  • |
  • 238 पटक हेरिएको

काठमाण्डौमा जारी वीर गणेशमान सिंह राष्ट्रिय टी-२० च्याम्पियनसिप अन्तर्गत चौथो दिनको पहिलो खेलमा बागमती प्रदेशले रोमाञ्चक जित दर्ता गरेको छ।

अन्तिम ओभरसम्म पुगेको खेलमा बागमती प्रदेशले कोशी प्रदेशलाई ७ रनको अन्तरले पराजित गर्दै प्रतियोगिताको दोस्रो जित हात पार्‍यो। कोशी प्रदेश भने आफ्नो पहिलो खेलमा पराजित हुन पुगेको हो।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बागमती प्रदेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३८ रन बनाएको थियो।

लगातार अन्तरालमा विकेट गुमाएको बागमती प्रदेशले साझेदारी बनाउन नसक्दा ब्याटिङमा जुझ्नु परेको थियो।

बागमतीका लागि ईशान पाण्डेले सर्वाधिक ३१ तथा सोनु देवकोटाले ३० रनको योगदान गरे। यस्तै गौतम केसी र रबिन जोशीले समेत समान १३/१३ रन बनाएका थिए।

कोशी प्रदेशको बलिङ तर्फ श्रवण यादवले ३ विकेट तथा ज्ञानेन्द्र श्रेष्ठले २ विकेट हात पारे।

जवाफमा १३९ रनको विजयी लक्ष्य लिएर मैदान उत्रिएको कोशीले सानदार सुरुवात गरेको थियो। कप्तान अङ्कित सुवेदी र मिनस थापाले पहिलो विकेटको लागि ५३ रनको साझेदारी गर्दै कोशीलाई राम्रो सुरुवात दिएका थिए।

३६ रन बनाएका अङ्कित र ११ रन बनाएका मिनास गरी दुवै ओपनरको विकेट पश्चात् केही समस्यामा आएको कोशी प्रदेशलाई चेजमा कायम राख्न सुजन थपलिया र सोनु अन्सारीले तेस्रो विकेटका लागी २७ रनको साझेदारी गरे।

ईशान पाण्डेले सोनुको विकेट प्राप्त गरे पश्चात् ब्याटिङ गर्न आएका फिर्दोश अन्सारीले सुजनसंग साझेदारी गर्दै कोशीको इनिंगलाई अघि बढाए। १४औँ ओभरको अन्तिम दुई बलमा सुवास खत्रीले लगातार २ विकेट लिँदै बागमतीलाई खेलमा फर्काएका थिए।

कोशीलाई जितसम्म पुर्‍याउन सुजन थपलियाले एक एण्डबाट लगातार प्रयास गरे। यद्यपि १७ औँ ओभरको तेस्रो बलमा ३२ रन बनाएका सुजनलाई सुभ कंसकारले पभेलियन फर्काए पश्चात् बागमती खेलमा हाबी बन्यो।

४ विकेट बाँकी रहँदा २० रन आवश्यक रहेको अवस्थामा बागमतीका रिजन ढकालले १८ औँ ओभरमा २ विकेट तथा राम नरेश गिरिले १९ औँ ओभरमा १ विकेट लिएपछि कोशी समस्यामा आएको थियो। अन्तिम ओभरमा रिजनले श्रवणको विकेट लिँदै बागमतीलाई रोमाञ्चक खेलमा जित दिलाए।

खेलको प्लेयर अफ दि म्याच बागमतीका ईशान पाण्डे चुनिए। प्रतियोगिता अन्तर्गत आजको दोस्रो खेलमा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश भिड्दै छन्।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey