चर्च ब्वाइजलाई इटहरी गोल्ड कपको उपाधि 

  • Image नेप्लेज
  • १७ चैत्र २०८०, शनिवार
  • 1316 पटक हेरिएको
चर्च ब्वाइजलाई इटहरी गोल्ड कपको उपाधि 

१४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्ड कपको उपाधि फुटबलको उपाधि चर्च ब्वाइजले जितेको छ । शनिवार राति सम्पन्न फाइनलमा गत संस्करणको उपबिजेता समेत रहेको चर्च ब्वाइज युनाइटेडले विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । चर्च ब्वाइजले उपाधिसँगै नगद १० लाख रुपैयाँ पाएको छ । उपबिजेतामा सीमित आर्मीले ५ लाखमा चित्त बुझाउन बाध्य भएको छ । 

चर्च ब्वाइजलाई च्याम्पियन बनाउन राजेश परियारले निर्णायक गोल गरे । उनले खेलको तेस्रो मिनेटमा गोल गरेका हुन । खेलको तेस्रो मिनेटमा नै गोल गरेर अग्रता लिएको चर्च ब्वाइजले बाँकी अधिकांश समय रक्षात्मक खेलेको थियो । आर्मीका खेलाडीले पाएका आधा दर्जन अवसरलाई सदुपयोग गर्न नसक्दा उपबिजेतामै सीमित बन्न पुग्यो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी आयोजक राष्ट्रिय जागृति क्लबका प्रवेश दनुवार घोषित भए । उनले नगद १ लाख रुपैयाँ पाए । उत्कृष्ट डिफेन्डर आर्मीका जितेन्द्र कार्की, उत्कृष्ट गोलरक्षक चर्चका दीप कार्की, उत्कृष्ट फरवार्ड आर्मीका नवयुग श्रेष्ठ, उत्कृष्ट मिडफिल्डर चर्चका सुरजज्यू ठकुरी, उत्कृष्ट प्रशिक्षक चर्चकै दर्शन भक्तराज घोषित भए । उनीहरूले जनही २० हजार पाए । सर्वाधिक गोलकर्ता सगरमाथाका विमल घर्ती मगर भए । 

चर्च ब्वाइज आयोजक राष्ट्रिय जागृति क्लबलाई १–० गोलले पराजित गर्दै उपाधि नजिक पुगेको थियो भने आर्मीले साबिक विजेता सगरमाथा क्लब मोरङमाथि पेनाल्टी सुट आउटमा २–१ गोलको जीत हात पार्दै चर्च ब्वाइजसँगको फाइनल भिडन्त पक्का गरेको थियो । क्वाटर फाइनलमा आर्मीले बिर्तामोड युनाइटेडलाई रोकेको थियो ।

चर्च ब्वाइजले न्युरोड टिम एनआरटीलाई पराजित गरेको थियो । चैत्र १० गतेदेखि सुरु भएको प्रतियोगितामा एक भारतीय सहित नेपालका ८ टिमको सहभागिता थियो । इटहरी उपमहानगरपालिकाले संयोजन गरेको प्रतियोगिताको कन्ट्रोल लुब्रीकेन्टले मुख्य प्रायोजन गरेको थियो ।