विराट कोहलीले चौथो पटक जिते आइसीसी क्रिकेटर अफ दी इयरको उपाधि

  • Image नेप्लेज
  • ११ माघ २०८०, बिहिवार
  • 1058 पटक हेरिएको
विराट कोहलीले चौथो पटक जिते आइसीसी क्रिकेटर अफ दी इयरको उपाधि

भारतीय क्रिकेटर विराट कोहली आइसीसी एक दिवसीय क्रिकेटर अफ दी इयरबाट सम्मानित भएका छन् । उनलाई आइसीसीले   २०२३ को लागि ओडीआई क्रिकेटर अफ द इयरको रूपमा छनोट गरेको हो । कोहलीले गत वर्ष उत्कृष्ट प्रदर्शन गरेका थिए र त्यसैको आधारमा अन्य प्रतिस्पर्धीलाई हराउन सफल भएका थिए। यो अवार्ड जित्ने दौडमा भारतका शुभमन गिल र फास्ट बलर मोहम्मद शामीका साथै न्युजिल्यान्डका डेरिल मिचेल पनि थिए । सबैलाई पछाडि छोडेर कोहलीले ठूलो अवार्ड जितेका  हुन् । कोहली चार पटक जित्ने पहिलो क्रिकेटर पनि बने ।

सन् २०२३ अघि कोहली २०१२, २०१७ र २०१८ मा उत्कृष्ट प्रदर्शन गर्दै ओडीआई क्रिकेटर अफ द इयर बन्ने उपलब्धि पनि हासिल गरेका थिए। कोहलीले दक्षिण अफ्रिकाका एबी डिभिलियर्सलाई पछाडि पारेका छन् । डिभिलियर्सले तीन पटक (२०१०, २०१४, २०१५) वर्षको उत्कृष्ट एकदिवसीय खेलाडी बन्ने उपलब्धि हासिल गरेका थिए ।

विराट कोहलीले गत वर्ष धेरै रन बनाए र धेरै ठूला उपलब्धिहरू पनि आफ्नो नाममा बनाए, जसमा एकदिवसीयमा सबैभन्दा धेरै शतक बनाउने कीर्तिमान पनि समावेश छ। कोहलीले १३७७ रन बनाएका थिए र २०२३ मा गिलपछि दोस्रो सर्वाधिक रन बनाउने खेलाडी थिए। विश्वकपमा पनि उनले ७६५ रन बनाए, जुन एकै संस्करणमा कुनै पनि ब्याट्सम्यानले बनाएको सर्वाधिक हो । उनी प्रतियोगिताको प्लेयर अफ द टुर्नामेन्ट समेत घोषित भएका थिए । उनले बलिङमा १ विकेट र फिल्डिङमा १२ क्याच लिए ।  

यस्तै महिलातर्फ श्रीलंकाकी कप्तान चमारी अटापट्टुले आईसीसी ओडीआई क्रिकेटर अफ दि इयर अवार्ड जितेकी छन् । अटापट्टुले अस्ट्रेलियाकी एश्ले गार्डनर, न्युजिल्यान्डकी अमेलिया केर र इङ्ल्यान्डकी नताली शिभर-ब्रन्टलाई पछि पारेकी हुन् ।