इन्डियन प्रिमियर लिग क्रिकेट आइपीएलमा दिल्ली क्यापिटल्सले पहिलो जित दर्ता गरेको छ । गयराति भएको खेलमा दिल्लीले कोलकता नाइट राइडर्सलाई ४ विकेटले पराजित गरेको हो ।
पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा सबै विकेट गुमाएर १२७ रन बनाएको थियो, जवाफमा दिल्लीले १९.२ ओभरमा ६ विकेट गुमाएर १२८ रन बनायो।
टस हारेर पहिले ब्याटिङ गरेको नयाँ ओपनिङ जोडी जेसन रोय र लिटन दासले पहिलो विकेटका लागि मात्र १५ रन जोडे।
लिटन ४ रन बनाएर मुकेश कुमारको शिकार बने । पछिल्लो खेलमा शतक प्रहार गरेका भेंकटेश अय्यरले खाता पनि खोल्न सकेनन् र उनको स्थानमा एनरिके नोर्टजेले खेलेका थिए ।

कप्तान नितिश राना ४, मनदीप सिंह १२ र रिंकु सिंह ६ रन बनाएर प्याभिलियन फर्किए । झर्दै गरेको विकेटको बीचमा जेसन रोयले एक छेउबाट केही राम्रा सट खेले र आउट हुनुअघि ३९ बलमा ५ चौका र एक छक्काको मद्दतले ४३ रन बनाए ।
प्रभावशाली खेलाडीका रूपमा आएका अनुकुल रोयले निराश बनाए र कुनै रन बनाउन नसकेर पभेलियन फर्किए ।
टोलीले १७ औं ओभरमा आफ्नो १०० रन पुरा गर्यो। आन्द्रे रसेल एक छेउमा अडिए र अन्तिम ओभरमा धमाका गरे। उनले मुकेश कुमार विरुद्ध लगातार तीन छक्का प्रहार गरी आफ्नो टोलीलाई सम्मानजनक स्कोरमा पुर्याए। रसेल ३१ बलमा ३८ रनमा अविजित रहे । दिल्ली क्यापिटल्सका इशान्त शर्मा, एनरिक नोर्टजे, अक्षर पटेल र कुलदीप यादवले समान २–२ विकेट लिए ।

लक्ष्य पछ्याउन दिल्ली क्यापिटल्सका लागि कप्तान डेभिड वार्नरले पृथ्वी शासँग मिलेर पहिलो विकेटका लागि ३८ रन जोडे।
शाले ११ बलको सामना गरे पनि १३ रन मात्र बनाउन सके । आफ्नो पहिलो खेल खेलिरहेका मिचेल मार्स २ र फिल साल्ट मात्र ५ रन बनाएर पभेलियन फर्किएका थिए ।
वार्नरले आक्रामक ब्याटिङ सुरु गरे । उनी ४१ बलमा ११ चौकाको मद्दतले ५७ रन बनाएर आउट भए । मनिष पाण्डे २१ रन बनाएर ११० रनमा आउट भए ।

अमान खानले खाता पनि खोल्न सकेनन् । केकेआरका बलरहरूले दिल्लीका ब्याट्सम्यानलाई सजिलै रन बनाउन दिएनन् र खेल अन्तिम ओभरमा पुगेको थियो जसमा टोलीले ७ रन बनाउनुपर्ने थियो ।
अक्षर पटेलले कुलवन्त खेजरोलियाको पहिलो बलमा २ रन लिए । अर्को बलमा पनि दुई रन आयो तर त्यो नो बल भयो । अक्षर पटेलले तेस्रो बलमा २ रन बनाएर आफ्नो टोलीलाई प्रतियोगिताको पहिलो जित दिलाए ।
अक्षर पटेलले १९ रनको अविजित इनिङ्स खेले ।