नेप्लेज । दोहामा जारी लिजेन्ड्स क्रिकेटमा नेपाली टिमका पूर्व कप्तान पारस खड्का आवद्ध एसिया लायन्स विजयी भएको छ ।
वर्षाका कारण १० ओभरमा झारिएको खेलमा एसिया लायन्सले वल्ड जाएन्ट्सलाई ३५ रनले पराजित गरेको हो । पहिला ब्याटिङ गरेको एसिया लायन्सले निर्धारित १० ओभरको खेलमा ३ विकेट गुमाएर ९९ रन बनाएको थियो । मिसबाह उल हकले नटआउट ४४ रनको पारि खेल्दा तिलकरत्ने दिलसनले ३२ रनको नटआउट पारि खेले । तिसारा परेराले १० रन बनाउँदा साइद अफ्रिदीले २ तथा उपुल थरंगाले १ रन जोडे ।
वल्ड जायन्ट्सका रिकार्डो पावेल, क्रिस गेल र पौल कलिङवुडले एक एक विकेट लिए । जवाफमा १०० रनको लक्ष्य पछ्याएको वल्ड जायन्ट्सले निर्धारित ओभरमा ५ विकेट गुमाएर ६४ रनमात्रै बनाउन सक्यो । क्रिस गेलले २३ रन बनाउँदा लेन्डल सिमोनले १४ रन जोडे ।
केभिन ओब्रेनले नटआउट ८ तथा रस टेलरले ७ र नको नटआउट पारि खेले पनि जित निकाल्न सकेनन् । सेन वाट्सन ३ तथा एरोन फिन्च २ रनमा पभेलियन फर्किएका थिए । एसियाका साइद अफ्रिदी र अब्जुर रज्जाकले दुई दुई विकेट लए ।

सोहेल तनभिरको नाममा १ विकेट रह्यो । एसिया लायन्सको यो लगातार दोस्रो जित हो । एसिया लायन्स ४ अंकका साथ शीर्ष स्थानमा छ भने वल्ड जायन्टसको पहिलो हार हो । उसको २ अंक रहेको छ । इन्डिया महाराजले भने अहिलेसम्म दुवै खेल हारेको छ ।
एसिया लायन्स र वल्ड जायन्ट्सबीचको खेलमा नेपाली टिमका पूर्व कप्तान पारस खड्का प्लेयिङ ११ मा परे पनि ब्याटिङ र बलिङ दुवै गर्नु परेन ।