नेप्लेज । भारतमा जारी महिला इन्डियन प्रिमियर लिग क्रिकेटमा दिल्ली क्यापिटल्सले सानदार जीत दर्ता गरेको छ । आज भएको खेलमा दिल्लीले गुजरात जायन्ट्स वुमनलाई १० विकेटले पराजित गरेको हो ।
जितसँगै दिल्लीले तालिकामा ६ अंक बनाएको छ भने दोस्रो स्थानमा यथवात रहेको छ । दिल्लीको तेस्रो जित हो । मुम्बई इन्डियन्स ३ खेलबाट शतप्रतिशत जितका साथ शीर्ष स्थानमा छ ।
गुजरातले टस जितेर पहिला ब्याटिङ गरेको थियो । तर उसको निर्णय गलत सावित भयो । गुजरातले निर्धारित ओभरमा ९ विकेट गुमाएर १०५ रनमात्रै बनाउन सक्यो । गुजरातका लागि किम ग्रार्थले सर्वाधिक ३२ रन बनाउँदा जर्जिया वाह्रेमले २२ तथा हेर्लेन डोएलले २० रन जोडिन् ।
तनुजा कुवँरले १३ रन बनाइन् । गुजरातलाई लोस्कोरमा रोक्ने क्रममा दिल्लीका मिर्जानी कापले १५ रन खर्चिएर ५ विकेट लिइन् भने शिखा यादवले २६ रन खर्चिएर ३ विकेट हात पारिन् ।

१०६ रनको जवाफी लक्ष्य पछ्याएको दिल्लीले विकेट पनि नगुमाएर ७.१ ओभरमा लक्ष्य पूरा गरेको थियो ।
दिल्लीलाई जिताउन सेफाली बर्माले २८ बलमा ७६ रनको धुवाँधार पारि खेलिन् । यसैगरी मेग लेनिङले २१ रन बनाइन् ।