आर्मी र हेल्प नेपाल उपाधिका लागि खेल्ने

  • Image नेप्लेज
  • ३० पौष २०७९, शनिवार
  • 806 पटक हेरिएको
आर्मी र हेल्प नेपाल उपाधिका लागि खेल्ने

नेपाल भलिबल संघको आयोजनामा राजधानीमा जारी सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ साविक विजेता विभागीय क्लब त्रिभुवन आर्मी र हेल्प नेपालबीच उपाधि भिडन्त हुने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा पुरुषतर्फको खेलमा साविक विजेता आर्मी क्लबले सेमिफाइनलमा अर्को विभागीय क्लब एपीएफमाथि ३–० को सहज जित निकाल्दै उपाधि नजिक स्थान पक्का गरेको हो ।

आर्मीलेफाइनल प्रवेश गर्ने क्रममा एपिएफमाथि २५–२३, २५–१७, २५–१७ को जित निकाल्दै उपाधि नजिक पुगेको हो । पुरुष तर्फको दोश्रो खेलमा पाकिस्तानी खेलाडीले सज्जित टिपटप हेल्प नेपालले निकैनै संघर्षपूर्ण खेलमा जित निकाल्दै उपाधिका लागि आर्मीसंगको भेट पक्का छ ।

पहिलो सेट २५–२१ ले जितेको हेल्प नेपाल दोश्रो सेट २४–२६ ले पुलिसलाई सुम्पन पुग्यो । तेश्रो सेट पुनः २५–१७ ले आफ्नो पक्षमा पार्न सफल हेल्प नेपाल चौथो सेट फेरी २०–२५ ले पुलिसलाई दिन बाध्य भयो । अन्तिम तथा निर्णायक खेलमा १५–८ को जित निकाल्दै हेल्प नेपालफाइनल प्रवेश गर्न सफल भएको हो । फाइनल खेल भोलि हुने छ ।