कतारमा जारी फिफा विश्वकप फुटबलमा गत संस्करणको उप विजेता बनेको क्रोएशिया अन्तिम १६ मा प्रवेश गरेको छ ।
आज भएको खेलमा बेल्जियमसँग गोलरहित बराबरी खेल्दै क्रोएशिया उप विजेताको हैसियतामा अन्तिम १६ मा प्रवेश गरेको हो ।
समूह एफमा रहेको क्रोएशिया दोस्रो स्थानमा रहँदा मोरक्को भने शीर्ष स्थानका साथ अन्तिम १६ मा स्थान बनाउन सफल भयो ।
क्रोएशिया र बेल्जियमबीचको खेल निकै नै प्रतिस्पर्धात्मक रहे पनि दुवै टिम गोल गर्न असफल रहे ।
क्रोएशियाले पहिलो हाफमा पेनाल्टी पाएको थियो । तर भारले त्यसलाई रद्द गरिदियो ।
८९ औं मिनेटमा क्रोएशियाका किपर डोमेनिकले उत्कृष्ट बचाउ गर्दै सम्भावित खतरा टारेका थिए ।
बल पोसेसनमा भने बेल्जियमनै अघि रह्यो । उसले ५२ प्रतिशत बल नियन्त्रणमा राखेको थियो ।
क्रोएशिया ५ अंकका साथ अन्तिम १६ मा प्रवेश गर्दा मोरक्को सात अंकका साथ शीर्ष स्थानमा रहेर नकआउट चरणमा पुग्यो । रोमेलो लुकाकुको बेल्जियमभने समूह चरणबाटै आउट भयो ।