कुशल र आशिफको उत्कृष्ट साझेदारीका कारण नेपालको फराकिलो जित

  • Image नेप्लेज
  • १ असार २०७९, बुधवार
  • 1390 पटक हेरिएको
कुशल र आशिफको उत्कृष्ट साझेदारीका कारण नेपालको फराकिलो जित

ओपनरद्धय कुशल भुर्तेल र आशिफ शेखको कीर्तिमानी शतकीय साझेदारीका कारण नेपालले ओमानविरुद्ध सात विकेटको जित निकालेको छ । नेपालका लागि सतकीय साझेदारी गर्ने पहिलो ओपनर जोडी बनेका कुशल र आशिफ दुबैले अर्धशतक बनाए । यतिमात्र होइन, कुशल र आशिफ नेपालका लागि कुनैपनि विकेटमा शतकिय साझेदारी गर्ने तेस्रो जोडी बनेको छ ।

यसअघि देभ खनाल र दिपेन्द्रसिंह ऐरीले कीर्तिपुर मैदानमा पीएनजीविरुद्ध एक सय २९ रनको साझेदारी गरेका थिए । यस्तै रोहित पौडेल र आरिफ शेखले पनि कीर्तिपुर मैदानमा पीएनजीविरुद्ध नै एक सय चार रनको साझेदारी गरेका थिए । यो जोडी एकदिवसिय क्रिकेटमा ठूलो साझेदारी गर्ने दोस्रो जोडी बनेको छ । 

ह्युस्टनस्थित मौसा क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको ओमान ४६ ओभर पाँच बलमा एक सय ६३ रन बनायो । खराब सुरुवात गरेको ओमानको स्कोर मात्र ११ रन हुँदा नेपालले पहिलो विकेट लिन सफल भयो । ओपनर कश्यपकुमार प्रजापतीर्ला करण केसीले बोल्ड गरे । 
त्यसपछि क्रिजमा आएका सोयब खानलाई पनि करणले नै डेभ खनालको हातबाट क्याच आउट गराएपछि नेपालले दोस्रो सफलता हात पार्यो । सोयबपनि मात्र दुई रनमा आउट भए । जसका कारण ओमानले १५ रनमा दोस्रो विकेट खेर फाल्यो । 

ओमानको पारीलाई सम्हाल्ने प्रयास गरेका जतिन्दर सिंहलाई सन्दिपले ब्यक्तिगत २३ रनमा आउट गरेपछि ओमानको पारी सुरुवातमा नै दबाबमा आएको थियो । जतिन्दर आउट हुँदा ओमानको स्कोर ४० रन थियो । 

ओमानले त्यसपछि स्कोरबोर्डमा अरु १९ रन थप्दा बाँकी दुई विकेट गुमायो । जसमा आयान खानले खाता खोल्न सकेनन् भने खवार अली मात्र एक रनमा आउट भए । दुबै विकेट सन्दिपले लिएका थिए । जसका कारण ओमानले ४९ रन हुँदा पाँच विकेट खेर फालेको थियो । 

ओमानको पारिलाई कप्तान जिसन मक्सुद र सन्दिप गोउडले सम्हालेका थिए । जसमा उनीहरुले छैटौं विकेटका लागि ८३ रनको साझेदारी गरेका थिए । जसमा कप्तान जिसन मस्कुदले ५२ रन बनाए । उनले एक सय एक बलमा तीन चौकाको मद्दतले अर्धशतकीय पारी खेले । तर दिपेन्द्रसिंह ऐरीको बलमा आउट भएपछि ओमानले एक सय ३२ रनमा छैटौं विकेट गुमायो । 

त्यसपछि सन्दिपपनि ४७ रनमा करण केसीले सन्दिप लामिछानेको हातबाट क्याच आउट गराएपछि ओमानको एक सय ४६ रनमा सातौं विकेट गुमायो । ओमानको स्कोर एक सय ५७ रन हुँदा आठौं विकेट झरेको थियो । उसका मुहम्मद नसिम ब्यक्तिगत १० रनमा आउट भए । कलिम उल्लाहलाई पनि करणले ब्यक्तिगत एक रनमा आउट गर्दै पेभेलियन फर्काए । 

बलिङमा करण केसीले पाँच विकेट लिए । उनले नौं ओभरमा ३३ रन खर्चएर पाँच विकेट लिन सफल भए भने सन्दिप लामिछानेले तीन विकेट लिए । 

जवाफमा नेपालले ३३ ओभर एक बलमा तीन विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । एकदिवसिय क्रिकेटमा नै उत्कृष्ट सुरुवात गरेका आसिफ र कुशलमा आसिफले ४६ बलमा अर्धशतक पुरा गरे भने कुशलले ६७ बलमा अर्धशतक पुरा गरे । नेपालको स्कोर एक सय १४ रन हुँदा पहिलो विकेट गयो । ७४ बलमा पाँच चौका प्रहार गरेका कुशल ५६ रनमा आउट भए ।

त्यसपछि क्रिजमा आएका देब खनाल मात्र १० रनमा आउट भएपछि नेपालले एक सय २७ रनमा दोस्रो विकेट गुमायो । त्यसपछि ओपनर आशिफ शेखपनि लामो सट खेल्न खोज्दा आउट भए । जसका कारण नेपालले एक सय ३८ रनमा तेस्रो विकेट गुमायो । 

त्यसपछि रोहित पौडेलले अविजित २६ रन बनाए भने दिपेन्द्रसिंह ऐरीले ६ रनको योगदान गरे । जारी सिरिजमा तीन खेल खेलेको नेपालले एक जित र एक खेलमा हार ब्यहोर्दा एक खेल टाई भएको छ । अब नेपालले भोली अमेरिकासँग खेल्नेछ । 

यो जितपछि नेपालको १५ खेलमा १५ अंक भएको छ । शिर्ष स्थानमा रहेको ओमानको ३६ खेलमा ४४ अंक छ । 

सम्बन्धित खबर