पञ्जाबको जित, प्लेअफ पुग्ने चौथो टिम को बन्ला ?

  • Image नेप्लेज
  • ३० वैशाख २०७९, शुक्रवार
  • 1665 पटक हेरिएको
पञ्जाबको जित, प्लेअफ पुग्ने चौथो टिम को बन्ला ?

इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा पञ्जाव किंग्सले छैटौं जित दर्ता गरेको छ। आज भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरमाथि पञ्जावले ५४ रनको जित दर्ता गरेपछि प्ले अफ पुग्ने चौथो टिमको होड अझैं रोमाञ्चक बनेको छ।

जारी प्रतियोगितामा बैंग्लोरले १३ खेलबाट १४ अंक चौथो स्थानमा रहेको छ। आज खेलमा जित निकालेको भए तेस्रो स्थानमा उक्लदै प्लेअफ पुग्ने टिम हुने थियो।

तर पञ्जाबले जित निकाल्दै १२ खेलबाट १२ अंक जोड्दै छैटौं स्थानमा उक्लिएपछि उसको पनि अन्तिम चारमा पुग्ने सम्भावना कायमै रहेको छ। समान १२ अंक रहेको दिल्ली क्यापिटल्स पाँचौं स्थानमा रहेको छ।

पञ्जावले दिएको २१० रनको लक्ष्य पछ्याएको बैंग्लोरले निर्धारित ओभरमा९ विकेट गुमाएर १५५ रन मात्रै बनायो। बैंग्लोरका लागि ग्लेन म्याक्सवेलले सर्वाधिक ३५ रन बनाउँदा रजत पतिदारले २६ रन बनाए।

विराट कोहलीले २० रन बनाउँदा दिनेश कार्तिकले ११ रन जोडेका थिए। मोहमद सिराज ९ तथा जोस हेजलवुड ७ रनमा नटआउट रहेका थिए।

कागिसो राबडाले ३ विकेट लिँदा ऋषि धवन र राहुल चहारले दुई दुई विकेट लिए। 

पहिला ब्याटिङ गरेको पञ्जावले निर्धारित ओभरमा ९ विकेट गुमाएर २०९ रन बनायो। लियाम लिभिङस्टोनले सर्वाधिक ७० रनको अर्धशतकीय पारि खेल्दा जोनि वेरिस्टोले पनि ६६ रनको अर्धशतकीय पारि खेले।

शिखर धवनले २१ तथा मयंक अग्रवालले १९ रन बनाए। हर्षल पटेलले सर्वाधिक ४ विकेट लिँदा वानेन्दू हसरंगाले दुई विकेट लिए।

सम्बन्धित खबर