भिसाका कारण प्रशिक्षक वाटमोर माघ पहिलो साता काठमाडौं आउने

0

नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक डेभ वाटमोर माघको पहिलो साता काठमाडौं आउने भएका छन् ।

क्यानले हालै प्रशिक्षक नियुक्त गरेका वाटमोर जनवरी पहिलो साता आइपुग्ने बताइएको थियो । तर, भिसाको समस्याका कारण उनी आउने मिति पर धकेलिएको नेपाल क्रिकेट संघ क्यानका सचिव अशोकनाथ प्याकुरेलले नेप्लेज डटकमलाई जानकारी दिए ।

उनले भने ‘कोरोना महामारीका कारण अहिले भिसा दिन रोकिएको रहेछ, अहिले हामीले सबै प्रक्रिया पुरा गरेर भिसाको काम अघि बढाएका छौं, शुक्रबार सम्म जवाफ आउला ।’

कोरोना महामारी कारण अनअराइभल भिसा पनि सरकारले रोकेको छ । भिसाको पक्रिया पुरा भए प्रशिक्षक वाटमोर तत्कालै नेपाल आउने गरि तयारी अवस्थामा रहेको पनि क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए ।

उनले भने ‘भिसा लगाएतका प्रक्रियामा सचिव ज्यु लाग्नु भएको छ । अब तत्कालै आउने गरि प्रक्रिया मिलाउँदै छौं ।’ भिसा लगाएतका सबै प्रक्रियाहरु पुरा भए वाटमोर माघको पहिलो साताभित्रै काठमाडौं आइपुग्ने पनि सचिव प्याकुरेलले बताए । नेपाल क्रिकेट संघ क्यानले कार्यप्रारम्भ गरेपछि पहिलो पटक प्रशिक्षक नियुक्त गरेको हो । खुल्ला प्रतिस्पर्धाबाट प्रशिक्षक नियुक्तिको प्रक्रिया अघि बढाएको थियो ।

जसमा ७२ वटा निवेदन परेकोमा अस्ट्रेलियन पूर्व क्रिकेटर वाटमोर नेपाली राष्ट्रिय टिमको प्रशिक्षक नियुक्त भएका हुन् । उनी नेपाल आउने अहिलेसम्मकै ‘हाईप्रोफाइल’ प्रशिक्षक हुन् ।

वाटमोरको प्रशिक्षणमा श्रीलंकाले विश्वकप जितेको थियो भने । २००३ मा भने श्रीलंकाले सेमिफाइनल सम्मको यात्रा तय गरेको थियो । बंगलादेशको प्रशिक्षक भएका बेला पहिलो पटक एकदिवसीय क्रिकेटमा अस्ट्रेलियालाई पराजित गरेका थिए भने जिम्बावेविरुद्धको पहिलो टेस्ट पनि बंगलादेशलाई जिताएका थिए ।

२००७ को विश्वकपमा बंगलादेश सुपरएटमा पुगेको थियो । यसैगरी वाटमोरले भारतको यु १९ क्रिकेट टिम पनि सम्हालेका थिए भने त्यहाँको आईपीएल खेल्ने टिम कोलकता नाइट राईडर्स (केकेआर)को पनि प्रशिक्षक भएर काम गरेका थिए ।
उनी २०१२ मा पाकिस्तान क्रिकेट टिमको प्रशिक्षक पनि भएका थिए । उनको प्रशिक्षणमा पाकिस्तानले एशियाकप जितेको थियो । नेपाल आउनुअघि वाटमोर सिंगापुरको प्रशिक्षक थिए ।

नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले वाटमोरबाट नेपाली टिमले ठूलो अपेक्षा राखेको बताएका छन् । गत शनिबार नेप्लेजलाई दिएको भिडियो अन्तर्वार्तामा उनले वाटमोर आउने कुराले आफू धेरै उत्साहित भएको बताएका थिए ।  उनले भनेका थिए ‘वाटमोर आफैमा ठूलो नाम, उहाँको सोँचले नेपाली क्रिकेटमा केही फरक पर्न सक्छ ।’

 

Post Add 1025X115
Loading...