खेलकुद क्षेत्रलाई अघि बढाउन नै यहाँ आएको हुँ : खेलकुदमन्त्री तामाङ

1

नेप्लेज । प्रधानमन्त्री केपी शर्मा ओलीले गत आइतबार प्रतिनिधि सभा भंग गरेपछि उनकै पार्टी फुट्यो । पार्टी फुट्दा पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनाल एकातिर रहेका छन् भने प्रधानमन्त्री ओलीको कित्तामा पूर्व रामबहादुर थापा बादल रहेका छन् ।
यो बीचमा प्रधानमन्त्रीले चालेको कदम गलत भन्दै प्रचण्ड र माधवसमूहमा मन्त्रीहरुले राजीनामा दिएर विदा भए ।

उनीहरुले राजीनामा दिएपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । पुनर्गठन गर्दा उनले आफ्नै पक्षका जगतबहादुर विश्वकर्मालाई विदा गरेर सिन्धुपाल्चोकका दावा लामा तामाङ ‘क्षितिज’लाई खेलकुदमन्त्रीको जिम्मेवारी दिएका छन् ।

शुक्रबार राति राष्ट्रपति भवन शीतल निवासमा सपथग्रहण गरेका मन्त्रीहरुले आइतबार सिंहदरबार पुगेर पदभागर ग्रहण गरेका छन् । यस्तैमा नवनियुक्त मन्त्री तामाङले युवा तथा खेलकुदमन्त्रालय पुगेर पदभार ग्रहण गरे । उनलाई सचिव रामप्रसाद थपलियाले स्वागत गर्दै पदभार गराएका थिए । पदभार ग्रहण गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री तामाङले भने ‘अहिले नै कुराहरु राख्ने भन्दा पनि नाम नै युवा तथा खेलकुद भएकाले यसले युवा र खेलकुदलाई फोकस गर्छ भन्ने कुरालाई प्रष्ट पार्छ ।’

‘अहिले नै धेरै कुराहरु गर्नुभन्दा पनि मन्त्रालयका सचिव, सहसचिव, उपसचिव सहित कर्मचारी साथीहरुका साथै यस क्षेत्रका विज्ञहरुका साथै खेल क्षेत्रमै जीवनयापन गर्नुभएका खेलाडीहरुसँग परामर्श गरेर के गर्दा राम्रो भन्दा राम्रो गर्नसकिन्छ त्यसमा फोकस हुने छु ।’ मन्त्री तामाङले भने ।
अहिलेनै नजिकै ठूला प्रतियोगिताहरु नरहेकाले पनि होला मन्त्री तामाङले पुराना कार्यक्रमलाई निरन्तरता दिने र नयाँ कार्यक्रम बनाउन आफू लागि पर्ने बताए ।

मन्त्री भएर युवा तथा खेलकुदमा आउँदै गर्दा तपाईको मिसन केही होला नी भन्ने सञ्चारकर्मीको प्रश्नमा मन्त्री तामाङले भने ‘यहाँ थुप्रै विषयहरु पनि छन्, यी विषयहरुका सम्बन्धमा सचिव ज्यु देखि कर्मचारीसँग सल्लाहर गरेर मात्र गर्छु ।’

संसद भंग गरेपछि भएको मन्त्रिपरिषद् पुनर्गठनबाट आएका मन्त्री तामाङले परिस्थिति कपिय अवस्थामा प्रतिकुल हुन पनि सक्ने आंकलन गरेका छन् । साथ साथै उनले अनुकुल पनि हुनसक्ने विषयमा घुमाउरो तरिकाले जवाफ दिएका थिए ।

‘यो खेल क्षेत्र भएको हुनालो जस्तोसुकै प्रतिकुल परिस्थितिमा पनि यो खेल क्षेत्रलाई अघि बढाउनु पर्छ, थुप्रै द्वन्द्वकालिन देशहरुमा पनि खेलहरु अघि बढेको देखेका छौं, तर त्यस्तो अवस्थामा नेपाल नरहेकाले खेल क्षेत्रलाई अगाडि बढाउनु मेरो लक्ष्य हुने छ ।’ मन्त्री तामाङको जवाफ थियो ।

Post Add 1025X115
Loading...