प्रत्येक २ वर्षमा हुनुपर्ने राष्ट्रिय खेलकुद ४ दशकमा आठपल्ट, समयमै किन हुँदैन ?

0

मुक्तिबाबु रेग्मी (नेप्लेज)
खेलाडी उत्पादनदेखि अन्तर्राष्ट्रिय सफलतासम्मको आधार तय गर्न पूर्वाधार र प्रशिक्षणसँगै प्रतियोगितालाई पनि महत्वपूर्ण अंगको रुपमा व्याख्या गरिन्छ । नियमित प्रतियोगिताले खेलाडीलाई आफ्नो स्तर निर्धारण गर्न सजिलो हु्रन्छ र आफूलाई निखार्ने मार्गदर्शन मिल्छ ।

नेपालमा घरेलु खेलाडीबाट अन्तर्राष्ट्रियस्तरमा सफलताको अपेक्षा धेरैले गरेका हुन्छन् तर असफलताका कारणबारे न सरोकारवाला निकाय, न निजी क्षेत्र र समर्थकहरुमा पनि विश्लेषण गर्ने परिपाटीको बिकास हुन सकेको छैन ।

कुनै समय नेपाली खेलकुदको नियमनकारी निकाय राष्ट्रिय खेलकुद परिषदले भिजन–२०२० को नारा दिएर सन् २०२० को ग्रिस्मकालीन ओलम्पिकसम्म पदक ल्याउने गरी दीर्घकालीन योजनाहरु बनेका थिए । नारामै सीमित भएका यस्ता परियोजना सफल बनाउनका लागि प्रशिक्षण, प्रतियोगिता र पूर्वाधारलाई महत्व दिइएन ।

त्यसैले त कोरोनाका कारण १ वर्ष सरेको टोकियो ओलम्पिकका लागि नेपाली खेलाडीहरु यसअघिका ओलम्पिकमा जस्तै ‘वाइल्ड कार्ड’को प्रतीक्षामा छन् ।

हरेक २ वर्षमा बृहत खेलकुदको आयोजना गर्ने र राष्ट्रिय टिमको छनोट र अन्तर्राष्ट्रिय सहभागिता पनि त्यही प्रतियोगितालाई आधारित बनाउने परिषदको लक्ष्य थियो, ४० वर्षपछि राखेप आफ्नो लक्ष्यमा कति सफल भयो त ?

बृहत राष्ट्रिय खेलकुदको अवधारणा नेपालमा २०३८ सालमा शरदचन्द्र शाहको पालामा आएको हो र त्यही वर्षदेखि कार्यान्वयन भयो । तत्कालीन शिक्षा तथा खेलकुद मन्त्रालयभन्दा शक्तिशाली परिषद नेतृत्वले आफ्नो योजना र अवधारणालाई सफल कार्यान्वयन गरेको थियो ।

त्यतिबेला हरेक २ वर्षमा बृहत खेलकुदको आयोजना गर्ने र राष्ट्रिय टिमको छनोट र अन्तर्राष्ट्रिय सहभागिता पनि त्यही प्रतियोगितालाई आधारित बनाउने परिषदको लक्ष्य थियो । आज ४० वर्षपछि राखेप आफ्नो लक्ष्यमा कति सफल भयो त ?

बृहत राष्ट्रिय खेलकुद २०३८ सालमा पहिलोपल्ट र त्यसको हरेक २ वर्षपछि तेस्रो संस्करणसम्म आयोजना भयो । त्यसपछि चौथो राष्ट्रिय खेलकुद १२ वर्षपछि मात्रै अर्थात २०५५ सालमा मध्यपश्चिमान्चल बिकास क्षेत्रमा आयोजना भयो ।

पाँचौं राष्ट्रिय खेलकुद आयोजना हुन अर्को एक दशक लाग्यो । २०५८ सालको जेठ २० गते तय भएको बृहत खेलकुद उद्घाटनको अघिल्लो दिन तत्कालीन राजा विरेन्द्रको बंशनाश हुने गरी दरबार हत्याकान्ड भएपछि स्थगित भएको थियो । एकैपल्ट २०६५ सालमा मात्र त्यो प्रतियोगिता आयोजान सम्भव भयो ।

बृहत खेलकुदको ४० वर्षको इतिहासमा ८ मध्ये ४ प्रतियोगिता पछिल्लो १० वर्षमा आयोजना भएका छन् । छैटौं राष्ट्रिय खेलकुद धनगढीमा २०६८ सालमा आयोजना भएको हो ।

सातौं र आठौं राष्ट्रिय खेलकुद भने समयमै आयोजना भयो । तत्कालीन सदस्यसचिव केशवकुमार विष्टले २०७३ सालमा पूर्वान्चलमा सातौं र २०७५ सालमा प्रदेश–५ मा आठौं राष्ट्रिय खेलकुदको सफल आयोजना गरे । नवौं राष्ट्रिय खेलकुद यसै वर्ष फागुन तेस्रो साता गन्डकी प्रदेशमा आयोजना हुने २ वर्षअघि नै तय भएको हो ।

बृहत राष्ट्रिय खेलकुद समयमै आयोजना हुन नसक्नुका बहुरुपी कारणहरु छन् ।-

पहिलोः बहुदलीय व्यवस्थाको थालनी भएपछि राखेपको नेतृत्वमा राजनीतिक नियुक्ति हुन थाल्यो र खेलकुदलाई कार्यकर्ता भर्तीकेन्द्र देखि शक्ति प्रदर्शनको अखडा बनाउन थालियो जसले वास्तविक जिम्मेबारीबाट परिषद ओझेलमा पर्न थाल्यो ।

दोश्रोः २०५१ सालदेखि तत्कालीन माओवादीले सुरु गरेको जनयुद्धका कारण खेल क्षेत्रमात्र होइन देशका सबै क्षेत्रमा नकारात्मक असर प¥यो । सुरक्षाका कारण प्रतियोगिता वा अन्य गतिविधि सीमित हुन थाल्यो । परिषदलाई अर्को बहाना मिल्यो ।

तेस्रोः सुरुमा सीमित श्रोतसाधन सँगै सीमित खेल समावेश गरी सीमित खेलाडीबीच आयोजना गरिएको प्रतियोगिता बिस्तारै नामजस्तै बृहत बन्दै गयो । देशभरका युवाहरुमा खेलप्रतिको आकर्षणले प्रतियोगिता बृहत र प्रतिस्पर्धात्मक हुन थाल्यो । तर त्यसअनुसारको पूर्वाधार बनाउन समयमै चासो नदिइँदा वा तत्कालीन सरकारबाट खेलमा महत्व नदिँदा पूर्वाधार बन्न सकेन । प्रतियोगिता आयोजनाका लागि पूर्वाधारलाई दोष दिने बहाना खेल नेतृत्वलाई मिल्यो । त्यो अहिलेसम्म पनि छ ।

चौथोः यो चाहीँ नवौं राष्ट्रिय खेलकुद आयोजना हुन नसक्नुको कारण हो । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९)का कारण घरेलु खेल गतिविधि अहिले अस्तव्यस्त छ । फागुनमा हुनुपर्ने प्रतियोगिताका लागि अहिलेसम्म कुनै तयारी सुरु गरिएको छैन ।

राष्ट्रिय खेलकुद ऐन २०७७ ले संघीय संरचनाअनुकुल हुने गरी खेलकुदलाई पन बिकेन्द्रीकरणको नीति लिएको छ, अब प्रदेश र स्थानीय तहले पनि खेलकुद संरचना बनाएर गतिविधि सन्चालनका लागि आफैंले कानून बनाउन पाउनेछन्

परिषदले नवौं आयोजनाका लागि जिल्ला र प्रदेशबाट खेलाडी छनोट गर्न कम्तिमा ३ महिनाको समय लाग्ने बताएको छ । पहिलोपल्ट बृहत खेलकुद पूर्वाधारको कारण होइन कोरोनाका कारण स्थगित हुँदैछ ।

‘हामीले प्रतियोगिता आयोजनाकै लागि नवौं खेलकुद गर्नेवाला छैनौं । कोरोनाको त्रास एकातिर छ भने अर्कोतर्फ खेल प्रतिस्पर्धात्मक हुनुपर्छ भन्ने मेरो मान्यता छ,’ आइतबारको एक पत्रकार सम्मेलनमा परिषदका सदस्यसचिव रमेशकुमार सिलवालले भनेका छन्, ‘स्तरीय प्रतियोगिता आयोजना गर्नका लागि स्थानीय तहदेखि जिल्ला र प्रदेश छनोट गर्न र टिम तयारीका लागि कम्तिमा ३ महिना आवश्यक पर्छ । अबको साता दशदिनमा स्थिति सामान्य हुन सकेन भने हामी तोकिएको मितिमा नवौं आयोजना गर्दैनौं । यसपल्ट पूर्वाधारको कारणले प्रतियोगिता आयोजनामा असर पर्दैन ।

कारण जे भए पनि नियमित हुन लागेको बृहत खेलकुद कोरोनाकै कारण फेरि अनियमित हुन पुगेको छ । अहिलेसम्म कर्णाली प्रदेश र प्रदेश नम्बर २ ले बृहत खेलकुद आयोजना गर्न सकेका छैनन् । राखेपले आगामी बजेटदेखि ती दुई प्रदेशमा पूर्वधारमा लगानी गर्ने बताएको छ ।

राष्ट्रिय खेलकुद ऐन २०७७ ले संघीय संरचनाअनुकुल हुने गरी खेलकुदलाई पन बिकेन्द्रीकरणको नीति लिएको छ । अब प्रदेश र स्थानीय तहले पनि खेलकुद संरचना बनाएर गतिविधि सन्चालनका लागि आफैंले कानून बनाउन पाउनेछन् । तीनै तहबीचको उचित समन्वय र सहकार्यले मात्र खेलकुदको दीर्घकालीन बिकास हुने परिकल्पना ऐनको पनि छ ।

Post Add 1025X115
Loading...