ए डिभिजन लिग याे बर्ष नहुने, राष्ट्रिय लिग गर्ने तयारी

0

अखिल नेपाल फुटबल संघ एन्फाले गर्दै आएको सहिद स्मारक ए डिभिजन लिग यो बर्ष नहुने भएको छ । एन्फाले कोरोना भाइरसका कारण अस्तब्यस्त बनेको घरेलु फुटबल प्रतियोगितालाई ब्यवस्थित गर्न योजना बनाएपनि यो बर्ष ए डिभिजन लिग गर्न नसक्ने बताएको छ ।

एन्फाका महासचिव इन्द्रमान तुलाधरले कोरोनाका कारण रोकिएका घरेलु प्रतियोगितालाई त्यहिबाट फेरी सुरु गर्न एन्फा तयार रहेको बताए । तर ए डिभिजन लिग गर्नका लागि यो बर्ष एन्फा असफल हुने बताए ।

चैत्र ११ गतेबाट कोरोनाका कारण लकडाउन हुँदा बी डिभिजन लिग विचमा नै रोकिएको थियो भने सी डिभिजन लिगको छनोट चरणपनि विथोलिएको थियो ।

अब एन्फाले यी प्रतियोगितालाई सुचारु गर्ने भएको छ । तर शिर्ष डिभिजनका लिग गर्नका लागि उपयुक्त समय नभएको बताएको छ । एन्फाले राष्ट्रिय टिमलाई प्रशिक्षणमा फर्काएर दुई वटा मैत्रीपुर्ण खेल बंगलादेशसँग खेलेको छ । तर घरेलु प्रतियोगिताका लागि अझै उपयुक्त योजना बन्न सकेको छैन ।

अहिले एन्फालाई ए डिभिजन लिग गर्नका लागि बी डिभिजन लिग सक्नुपर्ने हुन्छ । त्यसैले पनि यो बर्षको ए डिभिजन लिग नहुने पक्का भएको छ ।

करिव चार बर्ष ए डिभिजन लिग नहुँदा दुई बर्ष अगाडीमात्र एन्फाले फेरी लिगलाई सुरु गरेको थियो । जसमा दुई बर्ष अगाडी रेलिगेसन विनाको लिग गरेको थियो । जसका कारण एन्फा निकै आलोचित बनेको थियो । तर गत बर्ष एन्फाले एक टिमलाई रेलिगेट गरेर लिग सकेको थियो । जसमा मच्छिन्द्र क्लव विजयी भएको थियो ।

सो लिगमा सरस्वती क्लव रेलिगेट भएको थियो । तर बी डिभिजन लिग विचमा नै रोकिदाँ बढुवा हुने टिमको टुंगो लाग्न सकेन ।

अब एन्फाले २०७८ सालको भदौमा मात्र नयाँ सिजनको लिग गर्ने योजना बनाएको छ । त्यसका लागि एन्फाले छलफल अगाडी बढाएको छ ।
तर एन्फाले यो बर्ष राष्ट्रिय लिग भने गर्ने योजना बनाएको छ । यसका साथै काठमाडौं बाहिरका प्रतियोगिताहरुलाई सुरु गर्ने योजना बनाएको छ ।

Post Add 1025X115
Loading...