च्याम्पियन्स लिगकाे नकआउट चरणमा पुग्ने लक्ष्यमा रियाल र लिभरपुल

0

युरोपियन च्याम्पियन्स लिगमा आजराति समुह चरणका आठ खेल हुँदैछन । जसमा रियाल मड्रिडले युक्रेनको साख्तर डोनेस्कसंग प्रतिस्पर्धा गर्दैछ । समुह बी अन्तर्गतको खेलमा रियालका लागि नकआउट चरणमा पुग्न आजको खेल जित्नेपर्ने दबाव छ । जिनेदिन जिदानको टिम रियाल समुहको तेस्रो स्थानमा रहेको छ । आजको खेलमा जित निकालेमा रियालले नकआउट चरणमा स्थान बनाउनेछ ।

यसअघि घरेलु मैदानमा साख्तरसँग पराजित भएको रियाल युक्रेनमा जित निकालेर हारको बदला लिने लक्ष्यमा रहेको छ । यता साख्तरले समुह चरणका अघिल्ला दुई खेलमा नराम्रो नतिजा निकालेको थियो । जसमा उनले बोरुसिया मोन्चेनग्लाडबाखसँग छ शुन्यले हारेको थियो भने त्यसपछि चार शुन्यले पराजय ब्यहोरेको थियो ।

अर्को खेलमा यसअघि नै नकआउट चरणमा पुगिसकेको बार्यनले एट्लेटिको मड्रिडसँग उसकै मैदानमा खेल्नेछ । यो खेलका लागि बार्यनका मुख्य स्ट्राइकर रोबेर्ट लेवान्दोस्की र गोलकिपर मानुयल नुयरलाई आराम दिइएको छ । यसअघि समुह चरणमा यी दुई टिम खेल्दा बार्यन चार शुन्यले विजयी भएको थियो ।

यस्तै म्यानचेस्टर सिटीले पनि पोर्टोसँग खेल्नेछ । यो खेलमा सिटीका स्ट्राइकर सर्जियो अगुइरो खेल्नेछैनन् । सिटीले यसअघि नै च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान बनाइसकेको छ । जसका कारण पनि सिटीलाई खासै दबाव छैन । आजको खेलमा जित निकालेमा सिटी समुहको शिर्ष स्थानमा उक्लनेछ ।

यस्तै अर्को खेलमा लिभरपुलले आयाक्ससँग प्रतिस्पर्धा गर्नेछ । अघिल्लो खेलमा एटलान्टासँग दुई शुन्यले पराजित भएपछि लिभरपुल नकआउट चरणमा पुग्नका लागि अझै कुर्नुपरेको थियो । यदि आजको खेलमा उसले आयाक्सलाई हराएको खण्डमा अन्तिम १६ मा प्रवेश गर्नेछ ।

यसअघि आयाक्ससँगको खेलमा लिभरपुल एक शुन्यले विजयी भएको थियो । समुह डी मा रहेको आयाक्स लिभरपुललाई स्तब्ध बनाउँदै समुह चरण पार गर्ने योजनामा छ । उसले पछिल्ला दुई खेलमा सहज जित निकालेको थियो ।

Post Add 1025X115
Loading...