को हुन्, क्यानको जनरल म्यानेजरका दावेदार योगेश सापकोटा

0

आईसीसीको प्रतिवन्ध फुकुवा भएपछि नेपाल क्रिकेट संघ क्यानले प्रशासनिक संरचना बनाउँदै छ । त्यसका लागि कार्यालय व्यवस्थापनकालागि जनरल म्यानेजरका लागि दरखास्त आह्वान गरेको थियो । यसको अन्तर्वार्ता पनि भइसकेको छ । क्यानले तीन जनालाई अन्तवार्ताका लागि छनोट गरेको थियो ।

अन्तर्वार्ता दिने तीन जनामा क्यान निलम्बनमा रहेका बेला आईसीसीको नेपाल प्रतिनिधी भएर काम गरिसकेका रौनक मल्ल, पछिल्लो समय भारतमा बस्दै आएका चितवनका योगेश सापकोटा र बेलायतमा बसोबास गर्ने र क्रिकेटसँग निकै नजिकको नाता भएका प्रशान्त कुँवर रहेका छन् ।
योगेश सापकोटा सानैदेखि भारतमा बस्दै आएका छन् । तर उनी पटक पटक नेपाली खेलकुदसँग जोडिएका व्यक्ति हुन् भने भारतमा उनी कार्यरत रहेका छन् । डबल एमबीए गरेका सापकोटाले एमबीए इन स्पोर्टस म्यानेजमेन्ट अस्ट्रेलियाबाट गरेका हुन् भने इन्टरनेशनल विजनेश मार्केटिङ इन एमबीए भने भारतबाटै गरेका थिए ।

खेलकुद (स्पोर्टस) मार्केटिङमा पोख्त सापकोटाले (इन्डियन प्रिमियर लिग) आईपीएलको टिम राजस्थान रोयल्समा काम गरेका छन् । यसैगरी दिल्ली डाइनामो फुटबल क्लबमा पनि काम गरेका सापकोटा यही काम गोवा एफसीसँग पनि आवद्ध भएर गरेका छन् । यसैगरी आईपीएलकै दिल्ली क्यापिटल्समा आवद्ध उनले हकि इन्डियासँग पनि काम गरिसकेका छन् ।

विग ब्यासको सिड्नी थन्डरमा पनि भोलेन्टियरको रुपमा काम गरेको उनको अनुभव रहेको छ । अहिले फ्रिलान्सरको रुपमा स्पोर्टस कन्सलट्यान्सको रुपमा कार्यरत उनी केही समय अघि चर्चामा रहेको नेपाल सुपर लिगमा पनि आवद्ध भएका थिए । चौधरी ग्रुपले आयोजना गर्ने भनेर पत्रकार सम्मेलन गरि जानकारी गराएको सुपर लिग सञ्चालन हुन नसके पनि उनी उक्त प्रतियोगिताको टुर्नामेन्ट डाइरेक्टरको रुपमा रहेका थिए । प्रतियोगिता शुरुहुन नसके पनि त्यतिबेला नेपाल आएर झण्डै चार महिनाको पूर्व तयारीमा सहभागि भएका थिए ।

क्यानको जनरल म्यानेजरमा अन्तवार्ता दिएका सापकोटाले आफूसँग क्यानको मार्केट भ्यालु बनाउने योजनाहरु सुनाएका थिए । अहिले क्रिकेट विजनेश पनि भएको बताउँदै यसलाई कसरी दीगो बनाउने र ग्रासरुट लेभलमा अझ बढी प्रभावकारी बनाउने चुनौती क्यानसँग रहेका बेला सापकोटाले यसलाई सहजीकरण गर्न सक्ने विश्वास लिएका छन् ।

नेप्लेजसँग छोटो प्रतिक्रिया दिएका सापकोटाले आफू नेपालमा आएर काम गर्न तयार रहेको बताए । ‘भारतमा रहेर पनि यही काम गरिरहेको मैले नेपालमा अबसर पाए झनै राम्रो गर्न सक्छु भन्ने विश्वास छ ।’ उनले भने ।

Post Add 1025X115
Loading...