काठमाडौं । तेह्रौ दक्षिण एशियाली खेलकुद साग आयोजना भएको झण्डै एक वर्ष पछि आज खर्च विवरण सार्वजनिक हुन लागेको छ । गत बर्षको मंसिर १५–२४ सम्म काठमाडौं पोखरा र जनकपुरमा १३ औं सागको आयोजना भएको थियो ।
खर्च विवरण सार्वजनिक गर्न राखेप सदस्य सचिव रमेशकुमार सिलवालले आज दिउँसो १ बजे परिषदमा पत्रकार सम्मेलनको आयोजना गरेका छन् । सिलवालले आफू दोहो¥याएर सदस्य सचिव भएको पाँच महिनापछि खर्च सार्वजनिक गर्न लागेका हुन् ।
साग आयोजना तथा सञ्चालन कार्यविधिमा प्रतियोगिता सम्पन्न भएको तीन महिनाभित्र खर्च विवरण सार्वजनिक गर्नुपर्ने उल्लेख छ ।
सदस्य सचिव सिलवालले तीन महिनाभित्र खर्च सार्वजनिक गर्ने भनेपनि अहिलेसम्म खर्च सार्वजनिक भएको थिएन ।
सरकारले सागका लागि तीन अर्ब रुपैया उपलब्ध गराएको थियो । सागमा सरकारले उपलब्ध गराएको रकम बचत भएको राखेपका सदस्य सचिव सिलवालले बताउँदै आएका छन् । उनले भने ‘यसअघि सार्वजनिक गर्ने तयारी गरिए पनि कोभिडका कारण ढिला भएको र केही विलहरु आउन बाँकी रहेकाले पनि केही ढिला भएको हो ।’
नेपालले १३ औं सागमा ऐतिहासिक ५१ स्वर्ण, ६० रजत र ९६ कास्य पदक जित्दै तालिकाको दोस्रो स्थानमा रहेको थियो ।