नेपाली क्रिकेटकाे मुख्य प्रशिक्षक, जनरल म्यानेजर, क्रिकेट म्यानेजरका दावेदार ?

0

नेपाल क्रिकेट संघ क्यानले मुख्य प्रशिक्षक सहित जनरल म्यानेजर, क्रिकेट म्यानेजर र फाइनान्स म्यानेजरको आवेदन खुलेको करिव तीन महिना हुन लाग्यो । सेप्टेम्बर तीन तारिखमा २१ दिनका लागि आवेदन खोलेको थियो ।

आवेदनको मिती सकिएको करिव दुई महिना पुगेको छ । यस्तैमा क्यानले सबै विधामा आवश्यक कर्मचार नियुक्तिको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । मुख्य प्रशिक्षक देखि जनरल म्यानेजर, फाइनान्स म्यानेजर र क्रिकेट म्यानेजरका लागि छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
क्यानले अन्तिम पटक मुख्य प्रशिक्षकको अन्तरवार्ताको मिती पुरा गर्दा दुई साताको समय दिएको थियो । त्यो समय पनि लगभग पुरा भएको छ ।

यस्तैमा अर्को साता नेपाल क्रिकेट संघले मुख्य प्रशिक्षकसहित मुख्य पदमा जिम्मेवारी पाउने ब्यक्तिको निधो लाग्ने प्रबल सम्भावना रहेको छ ।
क्यानले मुख्य प्रशिक्षकका लागि अन्तरवार्ता लिएका संभावित तीन चार प्रशिक्षकलाई लगभग फाइनल गरेको छ । त्यसमा पहिलो नम्वरमा डेभ वाटरमोरको नाम रहेको छ ।

तर त्यसका लागि डेभ वाटमोरको उमेरको हकबन्दिलाई आइसीसीसँग कुरा गरेर समन्वय गर्नुपर्नेछ भने उनको सेवा सुविधाका लागि पनि क्यानले उनीसँग समायोजन गर्नुपर्नेछ । यदि वाटमोरले सेवासुविधामा समायोजन गर्न नखोजेको खण्डमा दोस्रो विकल्पमा अर्को प्रशिक्षक छन । त्यसमा भारतका अपुर्वा देशाई, स्कटल्याण्डमा नील मार्टिन्स छन । तर क्यानले यदि डेभ वाटमोर ल्याउन नसकेको खण्डमा भारतीय प्रशिक्षकलाई ल्याउने चाहना रहेको छ । यसमा पुबुदु दशानायकेकाे पनि चर्चा थियाे तर त्याे त्यति सम्भव देखिएकाे छैन ।

जनरल म्यानेजर

क्यानको नयाँ कार्यसमिती आएपछि आइसीसीको निर्देशन थियो, आवश्यक कर्मचारीको पदपुर्ति । सर्त अनुसार फुकुवा गरेको क्यानले लामो समयको पर्खाईपछि जनरल म्यानेजरका लागि आन्तरीक रुपमा शिर्ष तीन जनालाई छनोट गरेको छ । कुल ४५ जना आवेदकमा छनोट भएर २० जनामा झारिएको थियो भने त्यसलाई दोस्रो चरणमा सात जनामा झारेर अन्तरवार्ता लिएका थियो ।

त्यसमा पनि शिर्ष तीन जनाको नाम क्यानले लगभग फाइनल गरेको छ । त्यसमा यसअघि आइसीसीको नेपाल प्रतिनिधी भएर काम गरिसकेका रौनक मल्ल, पछिल्लो पटक भारतमा बस्दै आएका योगेश सापकोटा र बेलायतमा बसोबास गर्ने र क्रिकेटसँग निकै नजिकको नाता भएका प्रशान्त कुँवर दावेदारका रुपमा रहेका छन ।

रौनकले नेपाल क्रिकेट संघ निलम्बन हुँदा आइसीसीको प्रतिनिधीका रुपमा नेपालमा काम गरेका थिए । त्यो बेला उनले नेपाली क्रिकेटलाई केहि हदसम्म सहयोग गरेका थिए । क्यान आएपछि पनि केहि समयसम्म उनले आइसीसीको प्रतिनिधीका रुपमा काम गरेका थिए ।

प्रशान्तको एमसीसीसँग निकै राम्रो सम्बन्ध रहेको छ भने नेपालले पहिलो पटक एमसीसीमा खेल्दा उनको निकै ठूलो हात रहेको थियो । तर क्यानको चाहना कस्तो जनरल म्यानेजर ल्याउने भन्ने टुंगो लाग्न बाँकी रहेको छ । ब्यवसायीक जनरल म्यानेजर ल्याउने की जे भन्यो हस भन्ने ल्याउने भन्नेमा क्यानको हातमा नै भर पर्नेछ ।

किनकी जनरल म्यानेरको नियुक्तिपछि क्यानका पदाधिकारीलाई निकै सजिलो हुनेछ । किनकी सिस्टम तयार पारेपछि कार्यसमितीले निर्णय गर्ने र जनरल म्यानेजरले कसरी क्रिकेटलाई माथिल्लो स्तरसम्म ल्याउन सकिन्छ भन्नेमा ध्यान दिने रहेको छ । उसको काम कर्पोरेटदेखि सबै निकायसँग सम्बन्ध बनाउने र क्रिकेटलाई ब्यवसायीक बनाउने रहनेछ । योजना बनाएर क्यानको बोर्डबाट अगाडी बढाउने जीएमको काम हुनेछ ।

क्रिकेट म्यानेजर

क्रिकेट म्यानेजरका लागि निकै कमको मात्र आवेदन आएको थियो । त्यसमा अन्तरवार्ता एक जनासँगमात्र भएको थियो । अरुले यसका लागि अन्तिम समयमा अन्तरवार्तामा सहभागिता जनाएनन् ।

यसको कारण भने एकिन नभएपनि तर मापदण्ड पुरा नभएपछि एक जनाको मात्र अन्तरवार्ता क्यानले लिएको थियो । त्यसमा विनोद दास रहेको बताइएको छ । यसको अर्थ विनोद दास क्रिकेट म्यानेजर हुने पक्का पक्की रहेको छ ।

यी त भए मुख्य चासो रहेका तीन पोष्ट । फाइनान्स म्यानेजरका लागि क्यानले ३७ आवेदनबाट १५ जनालाई दोस्रो चरणमा छनोट गरेको थियो । त्यसमा अन्तिममा तीन जनालाई छनोट गरेर अन्तरवार्ता गरिसकेको छ । फाइनान्स म्यानेजरका लागि अनुभवी ब्यक्ति नै आउने बताइएको छ ।
अब अत्यावश्यक कर्मचारीको पदपुर्ति भएपछि क्यानको काम गर्ने शैलीमा फरकपन आउने ठुलो आशा गरिएको छ ।

Post Add 1025X115
Loading...