फुटबल र क्रिकेटका पुरूष खेलाडी मैदानमा फर्किदा महिला खेलाडी प्रशिक्षणकाे बाटो कुर्दै !

0

कोरोना भाइरसका कारण निकै लामो समय देखि प्रशिक्षणविहिन रहेका क्रिकेट र फुटबलमा खेलाडी प्रशिक्षणमा फर्किएका छन । तर पुरुष टिमलाई मात्र दुबै संघले प्रशिक्षणका लागि फर्काएको छ । महिला टिमलाई कहिले प्रशिक्षणमा ल्याउने भन्ने दुबै संघसँग तत्काल कुनै योजना छैन ।

कोरोनाका महामारीपछि करिव नौ महिना अवरुद्ध भएको क्रिकेट टिमको प्रशिक्षण सुरु भएको दुई दिन भएको छ । लामो समयको अन्तरालपछि टिमको प्रशिक्षण सुरु हुँदा पुरुष खेलाडी निकै खुसी छन । स्वास्थ्य सावधानीका साथ क्रिकेट खेलाडी दुई दिनदेखि फिटनेस, जिम र सामान्य नेट सेसन गरीरहेका छन । तर अझैपनि पुरै टिम भने प्रशिक्षणमा फर्किसकेको छैन ।

क्यानले अहिले प्रशिक्षणका लागि २७ खेलाडीलाई बोलाएको छ । जसमा केहि खेलाडी अझै क्याम्पमा पुगेका छैनन । तीन खेलाडीलाई कोरोना पोजेटिभ भएपछि आइसोलेसनमा रहेका छन भने उनीहरुको ट्रेसिङमा परेका ६ खेलाडी पनि क्वारेन्टिनमा रहेका छन । उनीहरुको रिपोर्ट नेगेटिभ आएपछि प्रशिक्षणमा फर्किने बताइएको छ ।

पुरुष खेलाडीलाई आसन्न विश्वकप लिग टु का लागि क्यानले तयारीमा जुटाएको छ । त्यो भन्दा अगाडीपनि केहि खेल खेलाउने क्यानको तयारी छ । तर महिला खेलाडीपनि चाँडै प्रशिक्षणमा फर्कन पाए हुने भन्ने आशामा रहेका छन । पछिल्लो पटक महिला क्रिकेट खेलाडीले खेलको अन्तिम प्रतियोगिता दक्षिण एशियाली खेलकुद साग हो ।

त्यसपछि महिला खेलाडीले आफ्नो तरिकाले प्रशिक्षण गरेपनि आधिकारीक रुपमा क्याम्पमा बसेका छैनन् । यतिबेला महिला खेलाडीलाई कहिले प्रशिक्षणमा राख्छ भन्ने प्रश्न क्यानतर्फ तेस्रिन थालेको छ । तर क्यानले तत्काल महिला टिमको प्रशिक्षण सुरु गर्ने कुनै योजना बनाएको छैन ।

किनकी महिला टिमको तत्काल कुनै प्रतियोगिता नभएको क्यानको ठहर छ । यति भइहालेमापनि आसन्न प्रधानमन्त्री कपपछि हुनसक्ने संभावना रहेको छ । २०२१ मा महिला क्रिकेट टिमले एसीसीका प्रतियोगिता खेल्नुपर्ने तालिका भएपनि एकिन मिती तय भइसकेको छैन ।

जसका कारण क्यानले अहिले नै कुनै प्रतियोगिता निश्चित नभएको अवस्थामा क्याम्प सुरु गर्नु त्यति सान्दर्भिक नहुने ठहर गरेको छ । पहिलो पुरुष टिमको प्रधानमन्त्री कप क्रिकेट सक्ने योजना रहेको र त्यसपछि महिला टिमको पनि प्रतियोगिताका तालिका आउनसक्ने भएकाले उनीहरुको क्याम्पका बारेमा त्यसपछि निधो हुने क्यानका एक पदाधिकारीले बताए ।

अहिलेबाट नै क्याम्प राख्दा खर्चको पनि ब्यवस्थापन गर्न आवश्यक रहेको छ, त्यसैले महिला टिमको प्रशिक्षणको कुरामा क्यानले तत्काल ठोस योजना नबनाएको उनको भनाई छ ।

यता अखिल नेपाल फुटबल संघ एन्फाले पुरुष टिमको प्रशिक्षण सुरु गरेर दुई वटा मैत्रीपुर्ण खेलपनि खेलिसकेको छ । अब दुई साताको विदामा खेलाडीलाई पठाएको छ भने त्यसपछि फेरी प्रशिक्षण सुरु गर्नेछ । नेपाली पुरुष टिमले विश्वकप छनोटका खेलहरु खेल्नुपर्ने छ । त्यसका लागि पनि एन्फाले पुरुष टिमलाई अहिलेबाट नै राम्रो र लामो प्रशिक्षणमा राखेको हो ।

तर महिला टिमको प्रशिक्षण कहिलेबाट सुरु गर्ने भन्ने योजना एन्फाले अहिलेलाई बनाएको छैन । एन्फाले केहि दिनमा बैठक बस्ने र त्यसपछि निर्णय गर्ने बताएको छ । यता खेलाडी भने लामो समयसम्म प्रशिक्षण गर्न नपाउँदै कहिले मैदानमा फर्किन पाइएला भनेर आतुर भएको अवस्थाछ ।

महिला फुटबलको गतिविधी सुरु गर्नका लागि पनि महिला कमिटीले काम गरेको र एन्फालाई प्रस्ताव पनि गरेको पेमा लामाले बताइन । दक्षिण एशियाली खेलकुद साग पनि महिला फुटबल खेलाडीले प्रधानसेनापति कप खेलेका थिए । त्यसपछि भने उनले खेल्न पाएका छैनन् ।

तर महिला कमिटीले तत्कालका लागि तीन विभागिए टिमलाई समेटेर भएपनि फुटबल प्रतियोगिता गर्नका लागि एन्फालाई प्रस्ताव गरेको छ । तर त्यो प्रस्तावमा एन्फाले बैठकपछि मात्र निर्णय गर्नेछ ।

पुरुष खेलाडीको प्रशिक्षण गरेपछि महिला खेलाडीलाई पनि कसरी मैदानमा फर्काउने भन्ने योजना बनाउन निकै आवश्यक रहेको छ । जसका लागि सम्बन्धित निकायले चासो दिँदा खेलाडीलाई ठुलो राहत हुनेछ ।

Post Add 1025X115
Loading...