नेपालगञ्ज म्याराथन आज हुँदै

0

धारा नेपालगन्ज म्याराथन आज हुँदैछ । काेराेना भाइरसलाई मध्यनजर गरेर आयाेजकले यसपटकको म्याराथनमा मात्र तीन इभेन्ट्समा प्रतिस्पर्धा गराउने भएकाे छ ।

यसपटक पुरुष खुल्लातर्फ म्याराथन, महिलाको हाफ म्याराथन र ३ किलोमिटरको कर्पोरेट रन समावेश गरिएको छ ।

म्याराथनमा सागका स्वर्ण पदक विजेता किरण सिंह बोगटी, साविक विजेता नवराज साउद, सागकै स्वर्ण पदक विजेता गोपी पार्कीलगायतका २० भन्दा बढी धावकले प्रतिस्पर्धा गर्दैछन् । त्यस्तै महिलातर्फ १० भन्दा बढी खेलाडीले भाग लिने बताईएको छ ।

यस पटक म्याराथनकाे विजेताले ७५ हजार, दोस्रोले ३० हजार, तेस्रोले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै चौथोले १०, पाँचौंले ८, छैटौंले ७, सातौंले ६ र आठौं हुनेले ५ हजार रुपैयाँ पाउनेछन् ।

महिला हाफ म्याराथनको विजेताले ३० हजार, दोस्राले १५, तेस्रोले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै चौथोलाई ७, पाँचौंलाई ६ र छैटौं हुनेलाई ५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

नेपाल एथलेटिक्स संघबाट मान्यता प्राप्त नेपालगन्ज म्याराथनलाई नेपाल ओलम्पिक कमिटीले ओलम्पिक छनोटका रुपमा समेत लिएको छ । म्याराथनका विजेताले अर्को वर्ष जापानमा आयोजना हुने ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने एनओसीले जानकारी गराएको छ ।

Post Add 1025X115
Loading...