सैनामैनामा बनिरहेकाे क्रिकेट रङ्गशालाकाे नाम परिवर्तन गर्न सिलवालकाे सुझाव

रकमकाे अभाव कहिले हुन्न-सिलवाल

0

रुपन्देहीको सैनामैनामा निर्माणाधीन क्रिकेट रङ्गशालाकाे निर्माणका लागि बजेटको कुनै अभाव हुन नदिने प्रतिबद्धता राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेश सिलवालले जनाएका छन ।

सैनामैनास्थित लम्टैयामा निर्माणाधीन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशालाकाे  निरिक्षण गर्नेक्रममा बाेल्दै उनले केन्द्रिकृत योजना अन्तर्गत सरकारले सातवटै प्रदेशमा प्रादेशिक रङ्गशाला निर्माण गर्ने योजना बनाएकाले बजेट अभाव नहुने बताए। बहुवर्षीय योजनामा राखेर करिब पाँच वर्षभित्र सम्पूर्ण संरचना सकिने गरेर काम गर्नुपर्ने सिलवालले बताए ।

क्रिकेट रङ्गशालाकोे डिपिआरबारे जानकारी लिँदै सिलवालले धुर्मुश सुन्तली फाउण्डेशनले चितवनमा निर्माण गरिरहेको क्रिकेट रङ्गशाला र यहाँ निर्माण हुन लागेको रङ्गशालाको नाम एउटै रहेकाले परिमार्जन गर्न नगरपालिकालाई सुझाव दिए । दुबै ठाँउमा एकै नामकाे रङ्गशाला भएकाे खण्डमा केहि कन्फ्युज हुने उनकाे भनाई थियाे ।

करिब २३ हजार दर्शक अट्ने गरी उक्त रङ्गशालाकोे निर्माण सम्पन्न गर्न रु दुई अर्ब १९ करोड लाग्ने नगरपालिकाले जनाएको छ। १५ बिगाहा क्षेत्रफलमा बन्न लागेको रङ्गशालाको डिपिआर नगरपालिकाले केही दिनअघि सार्वजनिक गरेको थियो। उक्त रङ्गशालाका लागि यस वर्ष एक करोडको लागतमा माटो कटिङ, तारबार र डिपिआर बनाइएको छ।

Post Add 1025X115
Loading...