मुजिब बोर्सो फिफा अन्तर्राष्ट्रिय फुटबल सिरिजको ट्रफी सार्वजनिक

0

नेप्लेज, ढाका । नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल सिरिजको ट्रफी सार्वजनिक गरिएको छ । बंगबन्धु रंगशालामा नेपाल र बंगलादेशबीच २ वटा म्याचको सिरिज हुँदै छ । मुजिब बोर्सो फिफा अन्तराष्ट्रिय फुटबल सिरिज नाम दिइएको यस प्रतियोगिताको ट्रफी नेपाली टिमका प्रशिक्षक बालगोपाल महर्जन र कप्तान किरण चेम्जोङले सार्वजनिक गरेका हुन् ।

यो म्याचमा ५ जना खेलाडी परिवर्तन गर्न पाइने नियम बनाइएको छ भने कम्तिमा ८ हजारसम्म दर्शकलाई प्रवेश गराउने तयारी गरिएको छ । यसैगरी दुवै म्याच ड्र भएमा सिरिजको छिनोफानो पेनाल्टी सुटआउट गर्ने पनि जनाइएको छ । तर पहिलो म्याचको नतिजा आएमा दोस्रोमा बराबरी भएमा भने पेनाल्टी सुट आउट हुने छैन ।

प्रिम्याच कन्फ्रेन्समा नेपाली टिमका प्रशिक्षक महर्जनले तयारी राम्रो भएको बताएका छन् । कोभिडको समयमा पनि नेपाल र बंगलादेशमा फुटबल शुरु हुनु आफैमा खुशीको कुरा भएको बताउँदै नेपाली टिम जित्नकै लागि यहाँ खेल्न आएको बताए । कोभिडका कारण खेलाडीहरु को कति आएनन भन्ने प्रश्ननै नभएको बताउँदै आफ्नो स्क्वाडले शतप्रतिशत नतिजा निकाल्ने विश्वास व्यक्त गरे ।

यस्तै कप्तान किरणले पनि नेपाली टिम सबैकुराले बंगलादेशलाई पराजित गर्न सक्षम रहेको बताउँदै फुटबल सामूहिक गेम भएकाले कुनै एक जना खेलाडीमा नेपाली टिम भर नपर्ने प्रष्ट पारे ।

Post Add 1025X115
Loading...