खेलकुद गतिविधि सन्चालन गर्न दिने सरकारको तयारी

0

नेप्लेज । सरकारले शून्यप्रायः रहेको घरेलु खेलकुद गतिविधि सन्चालन गर्न दिने तयारी गरेको छ ।

पर्याप्त स्वास्थ्य सुरक्षा सावधानी अपनाएर बैदेशिक खेलको प्रशिक्षण लगायतका घरेलु खेलकुद गतिविधि सन्चालन गर्न दिने गरी मन्त्रिपरिषदको सोमबारको बैठकमा छलफल भएको थियो ।

सोमबारको बैठकमा युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले गरेको प्रस्तावमा प्रधानमन्त्री लगायत सबै मन्त्रीहरु सहमत रहेको मन्त्रालय श्रोतले जानकारी दिएको छ ।

कोरोना महामारी नियन्त्रणका लागि चैत ११ गतेदेखि लागू गरिएको देशव्यापी लकडाउनयता नेपालमा घरेलु खेलकुद गतिविधि ठप्प छ ।

अन्तर्राष्ट्रिय क्यालेन्डर नजिक आइरहेका खेलहरुको प्रशिक्षण सुरु गराउनुपर्ने दवावका बीच राष्ट्रिय खेलकुद परिषदले केहि खेलको प्रशिक्षण सन्चालन अनुमति प्रदान गरे पनि सरकारले आधिकारिक रुपमा खेल गतिविधि रोकिरहेको थियो ।

राखेपको अनुमतिमा राष्ट्रिय फुटबल टोली बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि अहिले ढाकामा छ । त्यस्तै क्रिकेटको प्रशिक्षण पनि मंसिर १० देखि सुरु हुँदैछ । राखेपकै अनुमतिमा आसन्न ओलम्पिक छनोटको तयारीमा रहेका कराँते लगायतका खेलहरुको प्रशिक्षण भइरहेको छ ।

लामो समय घरमा थुनिनुपर्दा खेलाडीहरुको प्रदर्शन क्षमता निकै ह्रास आएको र भविश्यमा हुने प्रतियोगिताका लागि पुरानो लयमा फर्काउन लामो समय लाग्ने भन्दै विज्ञहरुले कम्तिमा राष्ट्रिय टोलीका खेलाडीको प्रशिक्षक सुरु गर्न पटक पटक सुझाव दिइरहेका थिए ।

Post Add 1025X115
Loading...