बार्सिलोनाका अध्यक्ष बार्टोमेउले राजीनामा दिए

0

नेप्लेज । स्पेनिस महारथी क्लब बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउ र उनका बोर्ड सदस्यहरुले मंगलबारको बैठकपछि पदबाट सामुहिक राजीनामा दिएका छन् ।

नोभेम्बरको सुरुआतमा हुन लागेको क्लब कार्यसमितिको निर्वाचनमा आफू लोकप्रिय नभएको र अविश्वासको मत अधिक हुन थालेको छनक पाएपछि बार्टोमेउले यो निर्णय लिएका हुन् ।

सोमबार कडा बक्तव्य जारी गरेका बार्टोमेउले राजीनामा दिँदै गर्दा आफ्नो इच्छाका कारण यो सबै नभएको दावी गरिरहेका थिए । उनी ६ वर्षपछि पदबाट बाहिरिँदै थिए ।

लियोनल मेस्सीसँगको बिग्रँदो सम्बन्ध, टिमको लगातार कमजोर प्रदर्शन, समर्थकहरुबीच असन्तोष र क्लबको आर्थिक स्थिति नै बार्टोमेउको बहिर्गमनका कारक हुन् । यति हुँदाहुँदै पनि उनले पद छाड्नुको मुख्य कारण चाहीँ अलोकप्रियता नै हो । हालै उनीबिरुद्ध १६ हजार हस्ताक्षर संकलन भएको थियो, जसले उनलाई यो निर्णय गर्न बाध्य बनाएको हो ।

तथ्य के हो भने क्याटलान सरकार र बार्टोमेउको बिरुद्धमा अभियान सन्चालन गरिरहेकाहरुले मंगलबार कोरोना महामारीका बाबजुद शहरमा सबै स्थानबाट भोटिंगको व्यवस्था हुने बताइरहँदा बार्टोमेउको मन परिवर्तन भएको हो ।

जोहान लापोर्टा अध्यक्ष हुँदा बार्टोमेउ क्लबका निर्देशक थिए । सन् २०१४ मा सान्द्रो रसेल अध्यक्ष बने पनि उनी कानूनी झमेलामा परेर राजीनामा दिनु परेपछि बार्टोमेउले सन् २०१५ को जुलाइसम्म कार्यबाहक र त्यसयता क्लबका सदस्यहरुको मतबाट अध्यक्ष बनेका हुन् ।

Post Add 1025X115
Loading...