आइसीसी विश्वकप लिग टु का अधिकांश खेल दुबईमा गर्ने तयारी, फेब्रेवरीमा नेपालले सिरिज गर्ला ?

0

कोरोना भाइरसका कारण पछिल्लो ६ महिना देखि नेपालले खेल्ने अन्तराष्ट्रिय क्रिकेट प्रतियोगिता एकपछि अर्को गरि स्थगित भएका थिए । नेपालले नामिविया, स्कटल्याण्ड, पपुवा न्यूगिनीसँग खेल्ने तालिका थियो । तर कोरोनाका कारण तीनै सिरीजलाई आइसीसीले स्थगित गरेको थियो । अब २०२१ मा नेपालले एकपछि अर्को प्रतियोगिता खेल्नुपर्ने देखिएको छ ।

आइसीसी विश्वकप लिग टु अन्तर्गत नेपालले २०२१ मा सात वटा सिरीज खेल्ने तालिका रहेको छ । जसमा २०२० मा स्थगित भएका तीन र अरु तालिकामा नै रहेका चार सिरीज नेपालले खेल्नुपर्नेछ । त्यसमा २०२० मा २ सिरीज नेपालमा पनि आयोजना गर्नुपर्ने तालिका आइसीसीको क्यालेन्डरमा छ ।

यस्तैमा नेपालले खेल्ने पाँच वटा सिरीजमा अधिकांस दुबईमा हुने संभावना धेरै रहेको छ । दुबईमा कोरोनाको संक्रमण कम भएकाले पनि आइसीसीले सिरीजलाई दुबईमा गर्ने चाहना राखेको छ । किनकी त्यहाँ उपलब्ध हुने मैदानलाई मध्यनजर गरेर आइसीसीले आन्तरीक रुपमा दुबईलाई तथष्ट भेन्युका रुपमा राखेर प्रतियोगिताहरु गर्ने तयारीमा लागेको क्यान स्रोतले बतायो ।

यस्तै २०२१ मा नेपाली महिला टिमले पनि दुई वटा प्रतियोगिता खेल्ने तालिका छ । जसमा एउटा महिला विश्वकप छनोट र अर्को एसीसीले आयोजना गर्ने महिला प्रतियोगितामा नेपालले भाग लिनेछ । यस्तै यू १९ प्रतियोगितामा पनि नेपालले सहभागिता जनाउने संभावना छ ।

२०२१ को क्यालेन्डर चाँडै सार्वजनिक हुने भएकाले त्यसका लागि नेपाल क्रिकेट संघले आन्तरिक रुपमा तयारी गरिरहेको समेत बुझिएको छ ।
नेपाल क्रिकेट संघ क्यानले डिसेम्बरमा काठमाडौंमा नै अन्तराष्ट्रिय प्रतियोगिता गर्ने योजना बनाएपनि त्यो भने हुने संभावना निकै कम देखिएको छ । किनकी नेपालमा बढ्दो कोरोनाको संक्रमणका लागि कुनैपनि टिमले नेपालमा आउन इच्छा नदेखाएको बताइएको छ ।

क्यानले डिसेम्बरमा नेपालमा प्रतियोगिता गर्नका लागि आईसीसी र विभिन्न बोर्डलाई प्रस्ताव गरेको थियो । तर नेपालमा कोरोनाको दर दिनकै बढेकाले स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर उनीहरु खेल्न आउन त्यति इच्छुक नदेखिएको बताइएको छ ।

लिग टु अन्र्तगत कोरोना नभएको भए नेपालले अहिलेसम्म अप्रिल २०२० मा नामिवियामा स्कटल्याण्ड र घरेलु टिमसँग खेलिसकेको हुने थियो भने स्कटल्याण्डमा अर्को सिरीज नामिविया र स्कटल्याण्डसँग खेल्ने थियो । यस्तै जुन महिनामा पीएनजीमा यूएई र नेपालले खेल्ने तालिका थियो ।
अब आइसीसीले यसअघि स्थगित भएका प्रतियोगिताको क्यालेन्डर ब्यवस्थापन गरेर प्रायः सबै प्रतियोगिता यूएईका विभिन्न मैदानमा गर्ने योजना बनाएको छ । यसका लागि यूएई क्रिकेट बोर्डले पनि आइसीसीलाई प्रस्ताव गरेको छ ।

आइसीसीको यसअघिको तालिका अनुसार २०२१ को फेब्रेवरीमा नेपालले यूएई र पीएनजीलाई होष्ट गर्ने कार्यक्रम छ, यसका लागि नेपाल क्रिकेट संघ क्यानले होष्टको दावेदारीता गर्ने क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताए । उनले यूएईमा हुने प्रतियोगिता नेपालमा पनि गर्न सकिने र आफुले गर्नुपर्ने प्रतियोगिता सबै मापदण्ड अपनाएर गर्न तयार रहेको बताए ।

यस्तै नेपालले अगष्टमा अमेरीकामा ओमानसँग खेल्नेपनि तालिका छ । तर त्यो पनि परिवर्तन हुने ठुलो संभावना रहेको छ । नोभेम्बरमा फेरी नेपालले नामिविया र स्कटल्याण्डलाई होष्ट गर्ने तालिका रहेको छ । यदि कोरोनाको संक्रमण त्यो बेलासम्म ठिक भएमा नेपालले त्यो प्रतियोगिता आयोजना गर्ने सक्ने सम्भावना रहेको छ ।

कोरोनाका कारण अहिलेसम्म आइसीसीले लिग टु का पाँच् वटा प्रतियोगिता स्थगित गरेको छ । त्यसमा नेपालले खेल्ने तीन वटा प्रतियोगिता रहेका थिए ।

Post Add 1025X115
Loading...