‘नेपाल क्रिकेट व्यक्तिबाट होइन प्रणालीबाट चल्नुपर्छ, प्रणाली अझै बनेको छैन’

0

नेप्लेज । पारस खड्काले सन् २००९ देखि २०१९ सम्म नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानी गरे । १ दशकसम्म कप्तानको भूमिकामा रहेका उनले पदबाट राजीनामा दिएको १ वर्ष पुगेको छ । सन् २००४ देखि राष्ट्रिय क्रिकेट टिमको सदस्य पारस १६ वर्षे खेलाडी जीवनमा सबै उपलब्धी हासिल गरे । नेपाललाई डिभिजन पाँचदेखि एकदिवशीय मान्यता र ट्वान्टी–२० विश्वकपसम्मको ऐतिहासिक उपलब्धिमा उनको कप्तानी भूमिका निकै नै सराहनीय रह्यो ।

सन् २०१६ मा नेपाल क्रिकेट संघ (क्यान)लाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले निलम्बन गरेपछिको तीन वर्ष आईसीसीसँगको सहकार्यमा खेलाडी छनोटदेखि व्यवस्थापनको जिम्मेबारी पनि बहन गरे । गत वर्षको असोजमा क्यानको निर्वाचन सँगै नयाँ कार्यसमिति निर्वाचित भएपछि आईसीसीले निलम्बन ससर्त फुकुवा गरेको भोलिपल्ट पारसले कप्तानबाट राजीनामा दिएका हुन् । पूर्व कप्तान पारससँग हामीले कप्तानबाट बाहिरिएको १ वर्षमा भएका परिवर्तन र एकदिवशीय मान्यता जोगाइराख्न लिनुपर्ने रणनीतिबारे कुराकानी गरेका छौंः

तपाईले नेपाल क्रिकेट टोलीमा एक दशकसम्म कप्तान रहनेर राजीनामा दिनुभएको १ वर्ष पूग्यो । यो १ वर्षमा परिवर्तन चाही के–के पाउनुभयो ?

परिवर्तन भन्दा पनि मूख्य त नेपाल क्रिकेट संघ कस्तो हुनुपर्छ र अहिले कहाँ छ भन्ने कुरा हो । मैले पहिलादेखि भन्दै आएको कुरा व्यक्ति भन्दा पनि नेपाल क्रिकेट महत्वपूर्ण छ । मैले त कप्तानको रुपमा आफ्नो जिम्मेवारी पुरा गर्न खोजेको हो । अहिले खेलाडीको रुपमा आफ्नो भूमिका निर्वाह गर्दैछु । अहिले व्यक्ति भन्दा पनि नेपाल क्रिकेट उचित प्रणालीबाट चल्नु पर्छ । र, त्यो परिवर्तन अहिलेसम्म देखिएको छैन । हेरौं आगामी दिनमा के हुन्छ ।

तपाईले क्यानमा नयाँ नेतृत्व आएपछि राम्रो हुन्छ भन्नुभएको थियो, नयाँ शिराबाट काम शुरु गर्नका लागि कप्तानबाट राजीनामा दिएको बताउनु भएको थियो तर अहिलेसम्म देखिने गरी काम त भएको छैन नि है ?

देखिएको छ÷छैन भन्ने कुरा उहाँहरुको दायित्वभित्र पर्छ । मैले पनि व्यक्तिगतरुपमा खेलाडीको रुपमा र विभिन्न तरिकाले उहाँहरुलाई सुझाव दिएको छु । गर्नुपर्ने ठाउँमा भएका व्यक्तिहरुले आ–आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्छ । उहाँहरुले कसरी काम गर्नुभएको छ र उहाँहरुले गरेको कामको मूल्यांकन कसरी र कसले गर्ने भन्ने कुरा हो ।

राजीनामा दिँदा तपाईले व्यक्तिगत कारण भने पनि धेरैले क्यानको विपक्षमा रहेको भन्ने आरोप लगाएका थिए नि ?

त्यस्तो होइन । म क्यानको विपक्षमा गएर राजीनामा गरेको होइन । क्यानको विपक्षमा कहिले पनि थिएन र हुने कुरा पनि होइन । क्रिकेटको लागि राम्रो जसले गर्छ त्यो व्यक्ति संस्था जसलाई पनि गर्ने हो । क्रिकेटमा यत्रो समय बिताकाले मैले जहिले पनि क्रिकेटलाई पहिलो प्राथमिकता दिँदै आएको छु । क्रिकेटका गतिविधि जति पनि क्यानसँगै ठोकिन्छ । म उहाँहरुको विपक्षमा नभई राजीनामाको विषय मेरो व्यक्तिगत निर्णय हो ।

क्यान आएर/गएर भन्दा पनि क्रिकेट कहाँ छ र कहाँ पुग्न सक्छ, क्रिकेटको लागि के गर्न सकिन्छ भन्ने कुरामा बढी ध्यान दिनुपर्छ । उदाहरणको रुपमा विगतमा हामी खाली नेपाल चुकेको, क्यानले के गर्‍यो के गरेन भन्ने कुरामा केन्द्रित भयौं । क्यानले यो भन्यो, खेलाडीले यो भन्छन् भन्ने कुरामा भन्दा पनि क्यानका पदाधिकारीले के गर्नुभयो र के योजना बनाउनु भयो भन्ने कुरामा उहाँहरुले सोँच्नु पर्‍यो ।

उहाँहरुलाई काम गर्नका लागि कसैबाट अबरोध भएको जस्तो लाग्दैन, तर उहाँहरुसँग ठोष प्लान छैन, तर, अबको दिनमा क्यानले योजना र रणनीति बनाएर राम्रोसँग कार्यान्वयन होस् । तपाई हामी जति रोइ कराई गरे पनि केही हुँदैन

अहिले त अझ कोभिड छ । जसले गर्दा ७ महिना त त्यसै खेर गएको छ । अब त योजना रणनीति बनाएर अघि बढ्ने बेला भएको छ । भोलि भोलि भन्दा भन्दै धेरै ढिला हुनसक्छ । जिम्मेवार व्यक्तिहरुले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ । हामी खेलाडीहरुले आफ्नो जिम्मेवारी पूरा गर्न तयार छौं । खाली खेलाडीहरुलाई ‘कोट’ गरेर ‘कन्ट्रोभर्सी’मा ल्याउन भएन ।

क्यानको एक वर्ष जसरी वित्यो, यसले आगामी दिनको भविष्य कस्तो देख्नुहुन्छ ?

क्यानको आफ्नो रणनीति होला । चुनाव जितेर उहाँहरु आउनुभएको छ । यत्रो प्यानलसहित नै जितेर आउनु भएकाले पक्कै पनि उहाँहरुसँग योजना होला । पदमात्रै लिन त आउनु भएको त पक्कै छैन होला ।

साथसाथै अहिले काम देखाउनका लागि गरियो की साँच्चिकै गरियो भन्ने ठूलो प्रश्न हो । अहिले क्यानलाई मात्रै दोस दिन भने मिल्दैन । क्यानसँग पनि सिमित स्रोत साधन छ । क्यान अझैं पूर्णरुपमा फकुवा भएको छैन । एक वर्षसम्म किन पूर्ण फुकुवा हुन सकेन भनेर उहाँहरुले नै जवाफ दिन सक्नुहोला ।

उहाँहरुलाई काम गर्नका लागि कसैबाट अबरोध भएको जस्तो लाग्दैन । तर उहाँहरुसँग ठोष प्लान छैन । तर, अबको दिनमा क्यानले योजना र रणनीति बनाएर राम्रोसँग कार्यान्वयन होस् । तपाई हामी जति रोइ कराई गरे पनि केही हुँदैन । नेपाल क्रिकेट संघ आगामी तीन वर्ष उहाँहरुले नै हो चलाउने । उहाँहरुले क्रिकेटको विकास गर्नुपर्छ । अहिले व्यक्तिगत स्वार्थहरु सबै त्यागेर अघि बढ्ने बेला छ । क्यान संस्था भएकाले जे कुराहरु पनि संस्थागतरुपमा अघि बढ्नु पर्ने देखिन्छ ।

पछिल्लोपटक ललित भन्डारीका लागि नेपाल क्रिकेट खेलाडी संघले जस्तो पहलकदमी लियो । संघको महासचिवको नाताले तपाईं निकै सक्रिय रहनुभयो । यसरी संगठित रुपमा सहयोग गर्ने अवधारणा कसरी आयो ?

मैले एउटा खेलाडीलाई सहयोग गर्न पहलकदमी लिएको हो । किनभने त्यो आकस्मिक घटना थियो र मानिसको जीवन मरणको कुरा थियो । आफ्नो सीमित श्रोत साधानका बीच खेलाडी संघ अन्तर्गत नै रहेर काम गरिएको हो । भोलिको दिनमा यस्तै

अवस्थाबाट गुज्रने अन्य खेलाडीका लागि के गर्ने भन्नेबारे खेलाडी संघमा कुराकानी भएको छ । खेलाडीमा आपतकालीन अवस्था आयो भने खेलाडी संघले कसरी सहयोग गर्ने भन्ने मापदन्ड तोक्नुपर्ने अवस्था पनि आएको छ ।

मैले व्यक्तिगत रुपमा आफूूले जे गर्न सक्छु त्यही गरेको हो । यो काम पारस खड्का एक्लैले पनि गरेको होइन । यो हामी सबैको पहलबाट एक जनाको ज्यान जोगिएको हो । यसमा ठूलो भूमिका डाक्टरहरुको थियो । त्यो भन्दा अगाडि नेपालगन्जमा र धनगढीमा पनि उपचारका लागि कस्तो पहल भयो भन्ने बारे ललितलाई नै थाहा छ । अहिलेको लागि ऊ खतरामुक्त छ र आशा गरौं ऊ छिटो भन्दा छिटो उ क्रिकेट मैदानमा फर्कियोस ।

खेलाडीको रुपमा, पूर्व कप्तानको रुपमा र क्रिकेटमा लागिरहेको व्यक्तिको हिसावमा मैले नेपाल क्रिकेटका लागि जहा“ राम्रो हुन्छ, खेलाडीहरुका लागि जहाँ राम्रो हुन्छ त्यहाँ कुनै पनि भूमिकामा म आफूले आफूलाई प्रस्तुत गर्ने हो ।

मान्छेले यो भन्ला त्यो भन्ला भनेर लाग्ने हो भने सायद हामी यहाँसम्म कहिल्यै पनि आइपुग्ने थिएनौं । त्यसैले कसले के भन्छ भनेर सोच्नुभन्दा पनि राम्रो काम र आफ्नो जिम्मेबारी बहन गर्दै खेलाडीका लागि गर्नुपर्ने राम्रो कामका लागि म सधैं अगाडि नै बढ्नेछु ।

२०२१/२२ मा हामी व्यस्त हुनेछौं । हामीले नियमित प्रशिक्षण गर्न नपाएको ७ महिना भएको छ र अझै कहिले खुल्ने थाहा छैन । त्यसले टिमको प्रदर्शनमा असर पुग्नेनै छ । कतिको दवाव हुन्छ ?

पक्कै पनि त्यो हाम्रा लागि दवावपूर्ण अवस्था हुनेछ । किनभने ६/७ महिनादेखि प्रशिक्षण भएको छैन । अहिले पनि प्रशिक्षण गर्न घरबाट निस्कने सक्ने अवस्था आइसकेको छैन । २०२१ मा धेरै अर्को वर्ष धेरै व्यस्त हुनुपर्नेछ ।

को प्रशिक्षक ठीक हुने भन्दा पनि एकदिवशीय मान्यताको अवधि छोटो भएकाले नितान्त नयाँ प्रशिक्षक आउँदा एकदिवशीय मान्यता जोगाउने गरी तत्कालको रणनीति बनाउन कठिन हुन्छ कि !

प्रशिक्षकको लागि आवेदन पनि खोलिएको छ । राम्रो प्रशिक्षक ल्याउनुपर्छ । सायद १२/१४ महिना बाँकी छ होला हाम्रो एकदिवशीय मान्यताको समय । यसबीचमा सबै समस्याहरु समाधान गरी क्रिकेट टिमलाई कसरी बलियो बनाउने भन्ने पहिलो प्राथमिकता हुनुपर्छ । ता कि मैदानमा राम्रो नतिजा ल्याउन सकियोस र राम्रो नतिजा ल्याएर मात्रै आगामी दिनमा हामीले भविश्य सुरक्षित गर्न सक्छौं ।

अहिलेको लागि चाहीँ चुनौतिपूर्ण नै छ । किनभने हामी क्रिकेटबाट बाहिर छौं र हामीमात्र नभएर धेरै देशहरुमा क्रिकेट गतिविधि हुन सकेको छैन । नेपालमा खेलकुदलाई नै कसरी सुरु गर्ने भन्नेबारे योजना रणनीति बनेको थाहा छैन । क्रिकेट कहिलेदेखि सुरु हुन्छ भन्नेबारे कुरेर बस्नुपर्ने छ । आशा गरौं क्रिकेट सुरु भएपछि राम्रो प्रदर्शन गर्न सकौं तर सजिलो चाहीँ हुने छैन ।

एकदिवशीय मान्यता कायमै राख्न कतिको कठिन देख्नुहुन्छ ?

हेर्नुस ग्यारेन्टी केहि कुराको पनि छैन । एकदिवशीय मान्यतामा हाम्रो क्रिकेटको भविश्य जोडिन्छ त्यसैले खेलाडीहरु यो मान्यता जोगाउन जिउज्यान लगाएर प्रयास गर्नेछन् । तर टिमको प्रदर्शन भनेको क्षणिक हुन्छ । एउटा उचित प्रणाली स्थापित गरी त्यसैलाई अगाडि बढाउने बारेमा सोच्नुपर्छ ।

मेरो बिचारमा १२ देखि १५ वर्षमा नेपाल टेष्ट मान्यताप्राप्त देश हुनेछ । टेष्ट मान्यता पाउने योजना लिने हो भने एकदिवशीय मान्यतामा निरन्तर रहनुपर्छ । त्यसका लागि मैदानभित्रको प्रदर्शन र मैदान बाहिरको संरचना दुवै उत्कृष्ट हुनुपर्छ । के गर्ने कसोगर्ने भन्ने जिम्मेबारी क्रिकेट संघले लिनुपर्छ । संघको कदममा हामी खेलाडीहरुले आफ्नो जिम्मेबारी पूरा गरेर उहाँहरुको राम्रो सोचलाई सहयोग गरेर अगाडि बढ्ने हो ।

अन्तिममा नयाँ प्रशिक्षक अनुबन्भको तयारी भइरहेको छ । कस्तो प्रशिक्षक नेपाललाई आवश्यक छ आजको अवस्थामा ?

को प्रशिक्षक ठीक हुने भन्दा पनि एकदिवशीय मान्यताको अवधि छोटो भएकाले नितान्त नयाँ प्रशिक्षक आउँदा एकदिवशीय मान्यता जोगाउने गरी तत्कालको रणनीति बनाउन कठिन हुन्छ कि । सुनेअनुसार पुराना प्रशिक्षकहरुले पनि आवेदन दिनुभएको छ । पुवुदु दासानायके लगायतका प्रशिक्षकहरु नेपाल आएर काम गरिसक्नुभएको छ । त्यो बाहेक पनि धेरै उत्कृष्ट प्रशिक्षकहरुले आवेदन दिनुभएको होला ।

प्रशिक्षले जस्तो सिकाए पनि खेल्ने खेलाडीहरुले नै हो । नयाँ प्रशिक्षक आएपछि योजना र रणनीति राम्रो हुन्छ र टिममा सकारात्मक भावनाको बिकास हुन्छ भने खेलाडीहरुले राम्रो प्रदर्शन गर्न सक्ने अवस्था हुनसक्छ । तर व्यक्तिगत रुपमा यही प्रशिक्षक चाहिन्छ भनेर हामीले बोल्न मिल्दैन र जो आएपछि केहि फरक पर्दैन ।

राम्रो प्रशिक्षक वा राम्रो खेलाडी भन्दा पनि नेपालको अवस्था हेरेर कसले राम्रो योगदान दिन सक्छ त्यस्ता प्रशिक्षक ल्याएर र अहिलेको लागि कम्तिमा एकदिवशीय मान्यता जोगाउने गरी काम गर्नुपर्छ । आशा गरौं क्रिकेट संघले राम्रो प्रशिक्षक छान्नेछ जसले नेपाल क्रिकेटलाई समान स्तरमा कायम राख्न सकोस ।

Post Add 1025X115
Loading...