सरकारकाे कदममा नै फुटबल खेलाडीले विराेध गर्नुपर्ने अवस्था किन आयाे ?

0

कोरोना महामारी नियन्त्रणका लागि भन्दै सरकारले देशब्यापी लकडाउन घोषणा गरेपछि चैत यता देशको खेलकुद गतिविधि ठप्प छ । खेलकुद जस्तो संवेदनशील क्षेत्रमा प्रशिक्षण सहित रोकिएको ७ महिनाभन्दा लामो समय भयो ।

सरकारले लकडाउन खुकुलो र पछि खुल्ला नै गर्दा दैनिक गतिविधि सामान्य भइसकेको छ । तर खेल गतिविधिमा अझै निषेध कायमै छ । खेलकुदको प्रशिक्षण समेत गर्न नपाउने गरी जिल्ला प्रशासनले आदेश जारी गरेको छ ।

लामो समयदेखि खेल गतिविधि बन्द हुँदा खेलाडीको प्रदर्शन क्षमतामा दीर्घकालीन असर पर्नेमा खेल बिज्ञहरुले सुरुदेखि नै आवाज उठाइरहेका हुन् । खेलकुदको सरोकारवाला निकाय राष्ट्रिय खेलकुद परिषद् र खेलकुद मन्त्रालयले यसबारे अहिलेसम्म कुनै निर्णय गरेका छैनन् । राखेप सदस्यसचिव रमेश सिलवालले अहिलेको परिस्थितिमा सरकारी निर्णय उल्लंघन गर्न नमिल्ले बताउँदै आएका छन् ।

लामो समयदेखि प्रशिक्षण समेत गर्न नपाउँदा अब चाहीं खेलाडीहरु नै बोल्न बाध्य भएका छन् । राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरण चेम्जोङले त खुल्लापत्र नै लेखेर प्रशिक्षण सुरु गरिदिन अनुरोध गरेका छन् । त्यस्तै राष्ट्रिय महिला फुटबल टोलीकी स्टार स्ट्राइकर सावित्रा भन्डारीले पनि यस्तै प्रकृतिको माग गरी सामाजिक सन्जालमा लेखेकी छिन् ।

खेलकुद विज्ञहरुले पनि लामो समय खेलाडीलाई मुख्य खेल गतिविधिबाट टाढा राख्दा उनीहरूको शारीरिक र मानसिक स्वास्थ्यमा असर पुग्ने बताउँदै आएका छन् । राखेपका एथलेटिक का पूर्व प्रशिक्षक सुशील नरसिंह राणा ले घरमै गरिने फिटनेसले खेलाडीको समग्र स्तर जोगाइराख्न नसकिने बताउँछन् ।

खेलाडीले आफ्नो खेलस्तर कायम राख्न प्रशिक्षण एक दिन पनि रोकिन नहुने विज्ञहरुको धारणा छ । तर सात महिनासम्म खेलमैदान टेक्न नपाएका खेलाडीलाई आफ्नो लय फिर्ता ल्याउन धेरै समय लाग्नेछ ।

कोरोना महामारीले नेपालमा मात्र होइन विश्वभर नै नकारात्मक असर परेको छ । कोरोनाले धेरै असर परेको युरोप र अमेरिकामा विस्तारै खेल गतिविधि पनि सामान्य अवस्थातर्फ उन्मुख छ । युरोमा घरेलु फुटबल गतिविधि, ग्रान्डस्लाम टेनिस प्रतियगिता, बास्केटबल प्रतियोगता सुरु भइसकेको छ । नेपालमा भने प्रशिक्षण पनि रोक लगाइएको छ ।

यसो भन्दैमा नेपालमा खेलकुद गतिविधि सामान्य अवस्थामा ल्याउनुपर्छ भन्न खोजिएको होइन । कोरोना संक्रमितको दर हेर्ने हो भने नेपालमा कोरोना महामारी भर्खरै सुरु भएको छ । नेपालमा अहिले चार देखि पांच हजार संक्रमित दैनिक थपिरहेका छन् । अहिले खेल गतिविधि सुरु गर्न सम्भव नहोला तर अन्तरष्ट्रिय खेलकुदको तयारीमा रहेका खेलाडीहरूको प्रशिक्षण स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सुरु गर्न ढिला भइसकेको छ ।

जापानको टोकियोमा अर्को वर्ष साउनमा ग्रीष्मकालीन ओलम्पिक हुँदैछ । ओलम्पिकका लागि छनोट प्रतियोगिताको लागि नेपालबाट ७ खेलका १२ खेलाडी छानिएका छन् । उनीहरूले प्रशिक्षण सुरु गर्न नपाएको लामो समय हुँदा उनीहरूको स्तर खस्किएको छ । पुरानै लयमा फर्कन लाग्ने समय कुर्दा ओलम्पिक सकिसकेको हुनेछ ।

नेपाली फुटबल टोलीले विश्वकप छनोट अन्तर्गतका खेलहरु सन् २०२१ को सुरुदेखि नै हुने सम्भावना छ । अहिलेसम्म प्रशिक्षण सुरु नहुँदा अष्ट्रेलिया र जोर्डन लगायतका टोलीसँग प्रतिस्पर्धा सुरु गर्ने क्षमता कस्तो हुने हो त्यो चिन्ता को विषय हो ।

आखिर खेलाडीले नै सरकार र आफ्नो सर्वोच्व निकायविरुद्ध खुलेर नै विरोध गुर्न पक्कैपनि खेलकुद क्षेत्रका लागि नराम्रो धक्का हो । किनकी अरु क्षेत्रहरु खुल्दा खेलकुद क्षेत्रलाई किन यसरी अन्धकारतर्फ धकेलिरहेको छ अझै अन्योलमा छ ।

Post Add 1025X115
Loading...