‘खेलकुदका संरचना प्रयोगबारे कार्यविधि बन्दै छ’

0

मुक्तिबाबु रेग्मी

कोरोना भाइरसको महामारीका कारण नेपाली खेलकुद ठप्प प्राय छ । चैत ११ गतेदेखि भएको लकडाउनका कारण खेलाडीहरु अभ्यासका लागि मैदान उत्रन पाएनन् । साउन ७ गतेदेखि लकडाउन खुले पनि नेपाली खेलाडीहरु अभ्यासमा फर्कने तयारी गरेका बेला जिल्ला प्रशासन कार्यालयले गरेको निषेधाज्ञाका कारण फेरि पनि खेलाडीहरु घरमै बस्न बाध्य भए ।

अहिले निषेधाज्ञा हटेको छ । कोरोनाको महामारी बढ्दै गएकाले अझैं पनि खेलाडीहरुलाई अभ्यासका लागि मैदान आउने अनुमति छैन । तर, गत साता बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न विश्वविद्यालयहरुलाई रोकिएको परीक्षा संचालन गर्न दिने निर्णय गरेको छ भने २५ जना जतिको उपस्थितिमा विभिन्न तालिम तथा सेमिनार पनि गर्न सकिने व्यवस्था गरेको छ ।

खेलाडीहरु मैदानमा उत्रन नपाएको धेरै भए पनि खेलकुदका संरचना भने पछिल्लो समय गलत तरिकाले प्रयो गरेको पाइएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पछिल्लो समय गीतको सुटिङ भएको छ ।

नेपालले सन् २०२२ को कतार विश्वक कपको छनोट खेलका लागि खेल्नु पर्ने रंगशाला अहिले तयारी अवस्थामा राखिएको छ । निकट भविष्यमा अस्ट्रेलियासँग सोही मैदानमा प्रतियोगिता गराउने भएकाले तयारी अवस्थामा राखिएका बेला सुटिङ गर्दा मैदानको घाँसमा पनि क्षति पुगेको छ भने १३ औं दक्षिण एशियाली खेलकुद सागका बेला तयार भएको सेन्थेटिक ट्रयाक पनि विग्रने खतरा उत्पन्न भएको छ । यससम्बन्धी भिडियो नेप्लेज टिभीको युट्युव च्यानलमा तपाईले हेर्न सक्नुहुन्छ ।

नेप्लेजले राखेको भिडियो प्रति युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । नेप्लेजसँग कुरा गर्दै मन्त्री विश्वकर्माले यसरी खेलकुदका संरचना प्रयोग गर्न दिन नहुनेमा आफू सजग रहेको बताए ।
मन्त्री विश्वकर्माले अब दशरथ रंगशाला मात्रै नभइ राज्यले बनाएका देशभरका खेलकुद संरचनाहरु कसैलाई भुडि घटाउन र मर्निङ वाक गर्नका लागि प्रयोग नहुने प्रष्ट पारे । अहिले खेलकुदका संरचना प्रयोग गर्ने विषयमा कार्यविधि नै बनाउन आफू लागि परेको पनि जानकारी दिए ।

उनले भने ‘साउनको दोस्रो साता नै, खेलकुदका संरचनाको प्रयोग गर्ने कुराको कार्यविधि बनाउन राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्यसचिव रमेशकुमार सिलवाललाई निर्देशन दिइसकेको छु । जति पनि देशभर भएका हाम्रा खेलकुदका संरचनाहरु छन् तिनीहरुलाई व्यवस्थितरुपमा संचालन गर्नका लागि अब कार्यविधि बन्दै छ ।’

अब कार्यविधि बनेपछि खेलकुदका संरचनाबाट सरकारले न्यूनतम शूल्क उठाउने जानकारी दिँदै तर त्यहाँ खेलकुद भन्दा बाहिरका कुनै पनि गतिविधि भने हुन नदिने पनि बताए । उनले भने ‘त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालाको जग्गाको भ्यालुएसन कति, त्यो जग्गामा राज्यले यति ठूलो लगानी गरेर संरचना बनाएको छ । ती संरचनाहरु खेल क्षेत्रभन्दा बाहिरबाट मिस युज हुने कुरा त राम्रो भएन ।

त्यसैले खेलकुदका हाम्रा संरचनाहरुलाई कसरी संरक्षण गर्ने आम्दानी नै गर्ने लक्ष्य नभए पनि त्यो संरचना प्रयोग गरेवापत केही शुल्क लिएर त्यसको मर्मत संम्भारका लागि किन प्रयत्न किन नगर्ने, त्यो फेरि खेल क्षेत्रकै लागि मात्र प्रयोग गर्न दिने, र खेल क्षेत्रबाटै न्यूनतम शूल्क लिने गरि काम गर्ने गरि अघि बढ्छौं ।’

Post Add 1025X115
Loading...