क्यानको एक बर्षको समीक्षाः चर्चा भन्दा आलोचना धेरै, काम गर्ने समय नै नभएको गुनासो

0

नेपाल क्रिकेट संघ क्यानको नयाँ कार्यसमिती आएको एक बर्ष पुगेको छ । यो एक बर्षमा क्यानले आस समर्थकले सोचेको जस्तो अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै आलोचना पनि भयो । अघिल्लो बर्षको असोजको १० गते अर्थात आजैको दिन चतुरबहादुर चन्दको नेतृत्वमा निलम्बनमा रहेको क्यानको नयाँ कार्यसमिती आएको थियो ।

आइसीसीको रोवरोहमा भएको निर्वाचनलाई बैधानिकता दिँदै आइसीसीले असोज २७ गते शसर्त फुकुवा गरेको थियो । यो एक बर्षमा ६ महिना क्यानले कुनै काम गर्न पाएन । किनकी कोरोना भाइरसको महामारीले कुनैपनि गतिविधी गर्न पाएन । क्यान असोजको अन्तिममा सशस्त फुकुवा भएपछि धेरै चुनौतीहरु संघको अगाडी देखिएका थिए ।

चार बर्षदेखि लथालिंग भएको क्रिकेटलाई ब्यवस्थापन गर्नका लागि क्यानका अगाडी ठूलो भर्याङ चड्नुपर्ने थियो । तर त्यो भर्याङ चड्नका लागि उसलाई निकै कठिन भयो । केहि सिडी चड्नै लाग्दा कोरोना भाइरसले क्रिकेट संघ र पुरै क्रिकेटलाई थला पार्यो । त्यसपछि क्यानको झन ठूलो आलोचना भयो ।

यो एक बर्षमा क्यानले गरेका राम्रा कामहरु

क्यान अस्त्विमा आएपछि आइसीसीको समन्वयमा पहिलो पटक अन्तराष्ट्रिय एकदिवसिय सिरीज गर्नुपर्ने चुनौती आइपर्यो । जुन त्यति सजिलो थिएन । भरखर आएको क्यानको कार्यसमितीले यसलाई राष्ट्रिय गौरवसँग जोडेर नेपालमा त्रिकोणात्मक सिरीज गर्ने अठोट लियो । माघमा भएको सो सिरीजका लागि क्यानले सबै काम छोडेर त्यसकै पछि लाग्यो । एकदिवसिय मान्यता पाएपछि पहिलो पटक घरेलु मैदान प्रतियोगिता गराउनुपर्ने थियो । त्यसका लागि सबै पक्षहरु मिलाउनुपर्ने थियो । त्यसमा क्यानका सबै पदाधिकारी एक साथ लागे ।

सो प्रतियोगितालाई क्यानले सफल रुपमा सम्पन्न गर्यो । त्यो प्रतियोगितापछि क्यानले बोर्डको निर्णयबाट सन् २०२० देखि नै लागु हुने गरेर खेलाडीले अन्तराष्ट्रिय प्रतियोगिताकालागि तयारी भत्ता बढाएको थियो । जसमा क्यानले क्याम्पमा रहेका खेलाडीलाई ५००० रुपैयाँ भत्ता दिने निर्णय गरेको थियो ।

त्रिकोणात्मक सिरीजपछि नेपालले खेलाडीको बर्गिकरण गर्ने भनेर तयारी गर्दा लकडाउन भयो । लकडाउनको विचमा नै क्यानले कीर्तिपुर र मुलपानीको मैदानमा कामलाई निरन्तरता दियो ।

यसका साथै कीर्तिपुर मैदानमा रहेका कर्मचारीको तलव लामो समयपछि बढाइयो भने रोकिएको तलवपनि दिइएको छ । क्यानले पहिलो पटक जिल्ला संघलाई सहयोग रकम पनि दियो । ६ प्रदेशलाई तीन लाख र जिल्लालाई एक लाख रुपैयाँ दिने निर्णय गर्यो । जसमा तत्कालको अवस्थालाई मध्येनजर गरेर प्रदेशलाई एक लाख र जिल्लालाई ५० हजार रुपैयाँ पनि वितरण गरियो ।

तीन प्रदेशमा क्युरेटर नियुक्त गर्ने कामपनि यो एक बर्षमा क्यानले गरेको थियो । भैरहवा, पोखरा र विरगञ्जका क्रिकेट मैदानमा क्युरेटर नियुक्त गर्ने काम गर्यो । साथै मुलपानी क्रिकेट मैदानमा पहिलो पटक ६ जना स्टाफलाई नियुक्त गरेको थियो ।

यस्तै क्यानकै पहलमा पहिलो पटक पुरुष खेलाडीको तलव एक बर्षमा १५ हजार बढाइयो । आइसीसीसँगको समन्वयमा २०१९ मा १० हजार र पछि क्यानले आफैले गरेको बर्गिकरणमा थप पाँच हजार रुपैयाँ पुरुष खेलाडीको बढ्यो ।

यस्तै महिला खेलाडीलाई पनि पहिलो पटक बर्गिकरण गरेर मासिक तलवमा राखियो । यो बर्गिकरणका कारण भने क्यानको आलोचना धेरै भएका कारण त्यसलाई कसरी ब्यवस्थापन गर्ने भन्ने पनि ध्यानाकर्षण गरेको छ । यसका साथै क्यानकै पहलमा क्रिकेट खेलाडीले २०१९ को तलव १९ महिनापछि पाए ।

यस्तै पाँच बर्षको आर्थिक प्रतिवेदनलाई पनि क्यानले आइसीसीको निर्देशनमा तयार पार्न सफल भयो ।

यसका साथै क्यानले अफिस ब्यवस्थापनका लागि काम सुरु गरेको छ भने कीर्तिपुर मैदानमा खेलाडीका लागि होस्टेल बनाउने प्रक्रिया पनि सुरु भएको छ । यस्तै नेपालमा नै डिसेम्बरमा त्रिकोणात्मक सिरीजका लागि प्रस्ताव गर्ने भएको छ । यस्तै खेलाडीको बीमा गर्ने र त्यसको कार्यविधी बनाउने योजना बनाएको छ । यस्तै नेपालमा घरेलु प्रतियोगिता गर्ने र फ्रेन्चाइजी लिग एनपीएल गर्ने योजना पनि बनाएको छ । यस्तै आर्थिक नियमावलीलाई परिमार्जन गर्ने प्रक्रिया अगाडी बढाएको छ ।

गर्न नसकेका कामहरु ।

एक बर्षको विचमा क्यानले गर्न चाहेर पनि नसकेका कुराहरु पछि रहेका छन । आंशिक रुपमा फुकुवा भएको क्यानलाई कसरी पुर्ण रुपमा फुकुवा गर्ने भन्नेमा त्यति ध्यान नगएको क्यानको आरोप छ । क्यान नेतृत्व आएको केहि समयमा नै पारस खड्काले कप्तान पदबाट राजिनामा दिएपछि ठुलो तरंग फैलिएको थियो । पारसले ब्यक्तिगत निर्णयका आधारमा कप्तानबाट राजिनामा दिँदा क्यानले उनलाई फर्काउने प्रयास गरेपनि असफल भएको थियो ।

त्यसपछि क्यानले आफ्नो क्यालेन्डर बनाएर नियमित महिला तथा पुरुष प्रतियोगिता गर्ने भनेपनि गर्नसकेन । यस्तै चैत्रमा एनपीएल गर्ने प्रस्ताव प्रतियोगिता समन्वय समितीले बनाएको थियो । तर त्यसको तयारी हुँदा हुँदै विचमा कोरोना आएर सबै विथोलिएको थियो । २०२० को क्यालेन्डरलाई कोरोनाले प्रभावित पार्दा क्यानले केहि गर्न सकेन भनेर आलोचना नभएको होइन ।

क्यानले प्रतियोगिता समन्वय समिती, आर्थिक समिती, मिडिया समिती बनाएपनि अहिलेसम्म अनुशासन समिती, छनोट समिती भने बनाउन सकेको छैन । खेलाडीसँगको सम्झौतामा के के राख्ने कसरी खेलाडीलाई गाइड गर्ने भनेर हुनुपर्ने अनुशासन समिती र राष्ट्रिय टिम छनोटका लागि चाहिने छनोट समिती बन्न नसक्दा केहि नपुगेको जस्तो आभाष भइरहेको छ ।

यो विचमा क्यानले बार्षिक रुपमा गर्नुपर्ने साधारण सभा पनि गर्न सकेन । क्यानले साधारण सभा गर्ने बताएपनि अन्तिम समयमा स्थगित गर्नुपरेकाे थियाे । यसमा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले क्यानले गर्न नसकेको भन्दापनि अवस्थाले गर्न नदिएको बताउछन । उनले क्यान आएको सुरुवाती तीन महिनासम्म कुनै काम नभएको र विचमा कोरोनाले सबै योजनालाई भताभुंग पारेको बताए ।

पछिल्लो तीन महिनामा क्यानले काम गर्ने वाताबरण सिर्जना गरेको र यो एक बर्षमा धरै राम्रा काम भएको चन्दले बताए ।

यस्तै कोषाध्यष रोशन सिंहले विश्वमा कोरोना महामारीका कारण सबै क्रिकेट बोर्ड आर्थिक समस्यामा परिरहेका बेला नेपाल क्रिकेट संघ अझैपनि आंशिक रुपमा फुकुवाको अवस्थामा छ । यस्तोमा आर्थिक रुपमा क्यानलाई ठुलो जटिलता रहेको बताए । क्यानले प्रायोजक खोजेर काम गर्न सकेन भने यो समस्या लम्बिने उनको भनाई छ । आइसीसीको मात्र मुख ताकेर बस्नुपर्ने अहिलेको अवस्था रहेको र त्यसलाई चाँडै चिर्ने उनले बताए ।

क्यानले अहिले जतिपनि देखिने गरि काम गरेको त, त्यो भन्दा दोब्बर रुपमा योजना बनाइरहेको र चाँडै त्यसको नतिजा पनि आउने सिंहले बताए ।

एक बर्षमा क्यानमा देखिएको अताडचडावका कारण क्रिकेट प्रेमीहरुले आशा भन्दा बढि निराशा जगाइरहेका छन । यस्तो अवस्थामा अब क्रिकेट संघले आगामी दिन झन ठुला चुनौतीको सामना गर्नुपर्ने अवस्था कायमै रहेका छन ।

Post Add 1025X115
Loading...