किन खेलकुद मन्त्रालय जे कुरामा पनि माैन छ ?

काम कम नामकाे मात्र मन्त्रालय जस्ताे देखिएकाे छ

0

६ महिनादेखि खेल गतिविधि ठप्प भएकाले खेलाडी देखि टिमहरू आर्थिक संकटमा परेका छन् । यस्तो अवस्थामा मुख्य जिम्मेवारी निभाउनुपर्ने युवा तथा खेलकुद मन्त्रालय भने कानमा तेल हालेर बसेको जस्तो देखिएको छ । करिव ६ महिनाको अवधिमा मन्त्रालयले अहिलेसम्म एक पटक पनि खेलकुदलाई कसरी सुरुगर्न सकिन्छ भनेर कोहिसँग छलफलसम्म गरेको छैन । उल्टो, कुनैपनि संघले प्रशिक्षणका लागि आग्रह गर्दा त्यो निवदेनलाई उल्टो ढिला गर्ने काम गरेको पाइएको छ ।

कोरोना भाइरसका कारण प्रशिक्षण बन्द भएपछि फेरी सुरु गर्नका लागि अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय खेलकुद परिषद्को माध्यमबाट युवा तथा खेलकुद मन्त्रालयलाई पत्राचार गर्यो । तर एन्फाको सो प्रस्ताव करिव एक महिनासम्म कुनै सुनुवाई हुन सकेन । उल्टो खेलकुद मन्त्रालयले स्वास्थ्य सावधानीका लागि फिफाले बनाएका बुँधालाई नेपालीकरण गरेर ल्याउन भनेर निवदेन फिर्ता पठायो । त्यसपछि एन्फाले फेरी सबै पेपर मिलाएर मन्त्रालयमा बुझाउँदा उसले सीसीएमसीबाट नै यसको निर्णय हुने भनेर चुप लागेर बस्यो ।

तर भदौं एक गतेबाट नै प्रशिक्षण सुरु गर्न सक्ने भनेर सरकारले नै भन्यो, यसमा मन्त्रालयको पहल शुन्य नै देखियो । चैतदेखि ठप्प खेल गतिविधि कहिलेदेखि सुचारु हुन्छ भन्ने अझै यकिन छैन । खेलाडी, प्रशिक्षक र निर्णायकलाई मात्र उपस्थित गराएर स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइ प्रतियोगिता गराउन सकिने उदाहरण धेरै देशले प्रस्तुत गरेपनि युवा तथा खेलकुद मन्त्रालयले भने कुनै पहलै गरेको छैन । ६ महिनादेखि ठप्प खेल क्षेत्रबारे मन्त्रालयले अहिलेसम्म केही बोलेकै छैन ।

यो विषयमा खेलकुदका जानकार भन्छन– यतिबेला खेलकुद मन्त्रालय सुतेर बसेको छ, खालि नियुक्ति गर्ने र पत्र दिनेकाम मात्र होइन, मन्त्रालयको, उसले यस्तो अवस्थामा झन सक्रियता देखाउनुपर्नेमा उल्टो अझै निन्द्रामा रहेको जस्तो देखिएको बताउछन ।

खेल क्षेत्रमा खेलाडी, प्रशिक्षक र निर्णायक मात्र जोडिएका छैनन्, तिनमा आश्रितको संख्या पनि ठूलो छ । यस्तै फुटबल, क्रिकेट, भलिबल लगायत खेलमा निजी क्षेत्रको ठूलो लगानी छ । खेलमा व्यावसायिकता विकासमा सरकारभन्दा निजी क्षेत्रले बढी योगदान गरेका छन् ।

६ महिनादेखि खेल गतिविधि ठप्प भएकाले त्यसको असर सबैलाई परेको छ । तर मन्त्रालयले न असर सम्बोधनका लागि कुनै पहल गरेको छ, न त खेल संघ र खेलाडीसँग छलफल नै गरेको छ । अहिलेको अवस्थामा खेलाडीलाई खेललाई कसरी सुरु गर्ने भनेर मन्त्रालयले सक्रियताका साथ सबै खेलसँग सल्लाह र सुझाव लिनुपर्ने थियो, तर अहिलेसम्म मन्त्रालयले कुनै चासो नदिएको खेल पदाधिकारीको भनाई छ ।

चाहिने बेला मन्त्रालयले बेवास्ता गरेमा अभिभावकत्वबाट टाढिरहेको ती पदाधिकारीले बताए ।

खेलकुद मन्त्रालय खेल क्षेत्रको मुख्य अभिभावक हो । अप्ठेरोमा पर्नेलाई ढाडस दिने र अप्ठेरो फुकाउने मुख्य जिम्मेवारी उसैको हो । तर संघहरुले अभ्यासमा फर्किने वातावरण मिलाइदिन गरेको आग्रहलाई समेत बेवास्ता गरेर मन्त्रालय अभिभावकीय जिम्मेवारी निभाउनै असफल भएको छ ।

मन्त्रालयका प्रवक्ता रामबन्धु सुवेदीले भने मन्त्रालय र विभिन्न संघले ठोस योजना बनाएर आएमा त्यसलाई सहजै स्विकार हुने, तर यसमा परिषद्ले पनि अग्रसरता देखाउनुपर्ने बताउछन ।

पछिल्लो पटक मन्त्री पदबाट हट्ने चर्चा भइरहेका बेला खेलकुद मन्त्री जगत विरुद्धकर्मा आफ्नो तनावमा छन । उनले अहिलेसम्म गर्नुपर्ने कामपनि गरेका छैनन् । राष्ट्रिय खेलकुद परिषद्मा पदाधिकारी नियुक्तिको काम नै पुरा गर्न सकेका छैनन् ।

राष्ट्रिय खेलकुद परिषद्मा नयाँ सदस्य सचिव आएपछि त्यसको समिती अझै पुरा हुन सकेको छैन । महामारी रोकथाम हुने संकेतसम्म छैन । त्यहि संकेत नदेखेर आर्थिक गतिविधि चलायमान बनाउन सरकारले व्यापार व्यवसाय सञ्चालन गर्न दिएको हो ।

Post Add 1025X115
Loading...