क्यानले गुमाएकाे १ कराेड ३६ लाख

0

नेपाल क्रिकेट संघले टी २० विश्वकप खेलेर आएपछि प्रायोजक भित्रिने कति संभावना छ भने त्यो बेला दूरसञ्चार कम्पनी नेपाल टेलिकमले गरेको प्रायोजन प्रत्यक्ष उदाहरण हो । भलै त्यो सम्झौता न पुरा भयो न क्रिकेटले पुरै रकम नै पायो ।

सन् २०१५ को जुलाई तिर मा नेपाल क्रिकेट संघ अस्तित्वमा हुँदा घरेलु खेलकुदमा नै सबै भन्दा धेरै रकमका प्रायोजन भेटेको थियो । नेपाल टेलिकमले तीन बर्षका लागि त्यो बेला एक करोड ५५ लाख रुपैयाँको प्रायोजन गरेको थियो । नेपाली खेलकुदको इतिहासमा नै ठुलो रकम भित्र्याएको त्यो प्रायोजन आएपछि क्रिकेटमा नियमित धेरै गतिविधी हुन्छ भन्ने आशा गरिएको थियो । महिला र पुरुष दुबै टिमका लागि गरेको सो प्रायोजनले क्रिकेटमा तरंग ल्याएको थियो । तर त्यो सम्झौताले आफ्नो समय पुरा नगर्दै बीचमा नै तोडियो । कारण थियो नेपाल क्रिकेट संघ क्यान निलम्बनमा पर्नु ।

त्यो बेलासम्म फुटबलमा पनि बर्षको २०–३० लाख रुपैयाँको प्रायोजकमात्र आउने अवस्था थियो । तर टी २० विश्वकप खेलिसकेको क्रिकेटमा टेलिकमले त्यति धेरै रकम प्रायोजन गर्नु ठूलो उपलब्धि थियो ।

टेलिकम मुख्य प्रयोजनका रुपमा भित्रिएको करिव एक बर्ष नवित्दै नेपाल क्रिकेट संघ आइसीसीको निलम्बनमा पर्‍याे । त्यो बेला तीन चरणमा गरेर पुरै रकम दिने शर्त थियो ।

जसमा पहिलो चरणमा साँढे १८ लाख रुपैयाँ टेलिकमले क्यानलाई दिएको थियो । त्यो बेला सम्झौताको २५ प्रतिशत रकम सोझै खेलाडीको सुविधामा जाने सर्त थियो । बाँकी ७५ प्रतिशत रकममा करिव ७० लाखको खर्चमा नेपाल टेलिकम च्याम्पियनसिप ट्रफि गर्ने योजना थियो । जुन हरेक बर्ष गर्ने बताइएको थियो । त्यो प्रतियोगिताको विजेताले त्यो बेला १० लाख रुपैयाँ पाउने भनिएको थियो ।

त्यो प्रतियोगिताले नेपाली घरेलु क्रिकेटमा राम्रो प्रभाव पार्ने विश्वास गरिएको थियो । टेलिकम मुख्य प्रायोजनमा आउनु भन्दा करिव एक बर्ष अगाडीसम्म क्यानमा कुनै प्रायोजन थिएन । टेलिकम प्रायोजकका रुपमा भित्रिएपछि खेलाडीमात्र होइन, क्रिकेट निकायपनि निकै हौसिएको थियो ।

तर क्यान भित्रको विवाद निकै झांगिएको थियो । जसका फलस्वरुप क्यान निलम्बनमा पर्‍याे भने त्यो प्रत्यक्ष असर प्रायोजकमा पर्‍याे । त्यहि बेला क्यानले टेलिभिजन राइट्स नेपाल टेलिभिजनलाई तीन बर्षका लागि १८ लाखमा विक्रि गरेको थियो । बर्षको १८ लाख आउने गरेर घरेलु तथा अन्तराष्ट्रिय प्रतियोगिताको प्रत्यक्ष प्रशारणका लागि गरिएको सम्झौता त्यसै खेर गयो ।

क्यान निलम्बन भएपनि न क्रिकेट प्रतियोगिता नियमित हुन थाले न त प्रायोजक नै होसिए । क्रिकेट संघ निलम्बनमा परेपछि सम्झौता अनुसार उसको लोगो जर्सीमा लगाउन नपाउने भयो । आइसीसीले नेपालको जर्सीमा कुनै प्रायोजकको लोगो राख्न दिएन ।

यतिमात्र होइन, पहिलो चरणमा आएको साँढे १८ लाख रुपैयाँ नै क्यानको खातामा आएको करिव साँढै एक करोड मध्येको अन्तिम रकम बन्यो ।

त्यसपछि आउनुपर्ने रकम त्यसै हरायो भने टेलिकमले पनि क्रिकेटमा इच्छा देखाउन छोड्यो । त्यो बेला यो सम्झौतमा मुख्य मूभीका निभाएकी सो बेलाकी प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेले जुन तरिकाले टेलिकमले क्रिकेटमा लगानी गर्न खोजेको थियो, त्योबेला निकै ठूलो कदम थियो । उसले सुरुवातमा तीन बर्षका लागि भनेपछि पछि त्यसलाई बढाउने सोच राखेको थियो । तर सम्झौतापछि टेलिकमको नाममा कुनै प्रतियोगिता हुन सकेन । त्यसमा पनि क्रिकेट निलम्बन भएपछि त झन त्यसै टेलिकम बाहिरीयो ।

अझैपनि त्यो सम्झौतालाई फेरी निरन्तरता दिन सक्ने अवस्था बाँकी रहेको छ । यदि क्यानले चाहेको खण्डमा टेलिकमको त्यो बेला बाँकी रहेको रकम पाउने र सम्झौतालाई फेरी ब्युत्याउने संभावना रहेको छ ।

सम्झौता अनुसार क्यानले टेलिकमबाट बाँकी एक करोड ३६ लाख ५० हजार रुपैयाँ पाउनुपर्ने थियो । तर त्यो क्यान निलम्बनसँगै त्यसै हरायो ।
यतिबेला क्यानसँग कुनैपनि प्रायोजक छैन । उनीहरुले चाहेको खण्डमा त्यो सम्झौतालाई निरन्तरता दिनसक्ने कानूनी आधार छ ।

Post Add 1025X115
Loading...