क्यानकाे कार्यसमितिकाे बैठक असाेज पहिलाे साता काठमाडाैं बाहिर हुने

0

नेपाल क्रिकेट संघ क्यानले असोजको पहिलो साता कार्यसमितिको बैठक गर्ने भएको छ । कोरोना भाइरसको महामारीका बीच पनि जनजीवन सामान्य भएपछि क्यानले असाेजकाे ६ गते कार्यसमितिको बैठक गर्ने भएको हो ।

यसअघि भर्चुअलबाट नै कार्यसमितीको बैठक गर्ने योजनामा रहेको क्यानले अवस्था खुकुलो भएपछि काठमाडौं बाहिर बैठक गर्ने भएको हो । अहिलेसम्मकाे याेजना अनुसार चितवन  जिल्लामा बैठक हुने संभावना रहेकाे छ । सो बैठकमा कार्यसमितिका पदाधिकारीको उपस्थिती हुनेछ । जसमा क्यानले साधारण सभाको मिति पनि  ताेकिने छ ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बैठक हुने निश्चित भएको र सो बैठकले साधारण सभाको मिति तय गर्ने बताए ।

क्यानमा नयाँ कार्यसमिति आएपछि साधारणसभा गर्न सकेको छैन । जसका कारण २१ दिने सूचना निकालेर चाँडो भन्दा चाँडो साधारण सभा गर्ने योजनामा क्यान छ ।

सो बैठकमा ललित  भण्डारीको उपचारका विषयमा पनि निर्णय हुने, खेलाडीको नयाँ सम्झौता २०२० को विषयमा पनि कुरा हुने, आर्थिक नियमावलि लगायतका विषयमा छलफल हुन सक्ने संभावना रहेको छ ।

क्यानले पछिल्लो पटक संघको आर्थिक नियमावलीलाई परिमार्जन गर्ने तयारी गरेको छ । यसअघि विनयराज पाण्डे अध्यक्ष हुँदा बनाइएको आर्थिक नियमावलीमा धेरै बुँदा परिवर्तन हुनेछन्, त्यसलाई अन्तिममा साधारणसभाबाट परिमार्जित बुँदालाई पास गरिनेछ ।

Post Add 1025X115
Loading...