नेपाललाई भारतीय उपमहाद्वीपकै प्रशिक्षक उपयुक्त

0

मुक्तिबाबु रेग्मी-

नेपाली क्रिकेट टिम प्रशिक्षकविहीन भएको लामो समय भइसक्यो । गत माघमा काठमाडौंमा भएको नेपाल, ओमान र अमेरिकाबीचको विश्वकप लिग टु को त्रिकोणात्मक सिरिज पछि तत्कालिन प्रशिक्षक उमेश पटवालले राजीनामा दिए ।

आईसीसीले भारतीय प्रशिक्षक पटवाललाई एक वर्षकालागि नेपाली टिमको जिम्मा दिएको थियो । तर उनी ४ महिनाको कार्यकाल बाँकी छदै पदबाट राजीनामा दिएर विदा भए ।

उनी मासिक ७ हजार डलर पारिश्रमिक र अन्य सेवा सुविधासहित काठमाडौं आएका थिए । उनले प्रशिक्षक पदबाट राजीनामा दिए पछि नेपाली क्रिकेट टिम प्रशिक्षक विहीन अवस्थामा छ ।

नेपाली क्रिकेटको मातृ संस्था नेपाल क्रिकेट संघ (क्यान)मा राजनीतिक हस्तक्षेप भएपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सन् २०१६ देखि निलम्बन गरेको थियो । क्यानले निषपक्ष चुनाव गराउन नसकेपछि राजनीतिक हस्तक्षेप भएकाे थियाे । २०१४मा आर्थिक पाटाे राेक्का गरेकाे आईसीसीले २०१६ मा प्रतिबन्ध नै लगायाे ।

त्यसयता प्रशिक्षक आईसीसीले नै पठाउने र खेलाडीको ग्रेडिङ पनि उसैले गरेको थियो । निलम्बनकै बीचमा नेपालले ४ वर्षका लागि एकदिवसीय मान्यता पनि पाएको छ । अब त्यो मान्यता सन् २०२२ सम्म मात्रै हो ।

पूर्व प्रशिक्षक उमेश पटवाल

नेपालको अबको लक्ष्य टेष्ट मान्यता अर्थात आईसीसीको पूर्णकालीन सदस्य राष्ट बन्नु हो ।

तर पछिल्लो समय मैदान भित्रको प्रदर्शन र मैदान बाहिरको राजनीतिले यो बाटो सहज देखिएको छैन । त्यसमाथि झन्डै ९ महिनादेखि मुख्य प्रशिक्षकबिहीन हुनु पनि बिडम्बना हो ।

भलै कोरोना भाइरसको महामारीले क्रिकेट गतिविधि हुन सकेको छैन ।

जिल्ला र प्रदेशबाटै शुद्धीकरण हुँदै आएको क्यानको संरचना गत असोजमा काठमाडौंमा केन्द्रीय निर्वाचनमा आएर सकियो । त्यसपछि आईसीसीले आंशिक रुपमा क्यानको निलम्बन फुकुवा गरेको हो । अहिले कार्यसमितिले काम गरे पनि आईसीसीको प्रत्यक्ष संग्लग्नता आवश्यक पर्छ ।

अहिले क्यानले प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको छ । गत साता प्रकाशित विज्ञापन अनुसार सेप्टेम्बर २३ तारिखभित्र आवेदन दिनुपर्ने छ । क्यानले वेबसाइटमा विज्ञापन प्रकाशित गरेकाले पनि यो विश्वव्यापीरुपमा इच्छुक उम्मेदवारले दरखास्त दिन सक्ने छन् ।

प्रशिक्षकका लागि लेभल थ्री कोर्ष गरेको हुनुपर्ने, कम्तिमा तीन वर्ष आईसीसीको पूर्ण सदस्य टिमको प्रशिक्षक भएको, प्रथम श्रेणीको टिम, विदेशी फ्रेन्चाइज लिग मध्य कुनै एकको प्रशिक्षक भएको हुनुपर्ने र क्रिकेटिङ कल्चर बुझेको भनेर योग्यता तोकिएको छ ।

यसमा कतिले दरखास्त दिए भन्ने कुरा २३ सेप्टेम्बरको समय सकिएपछि क्यानले नै सार्वजनिक गर्नेछ । तर कतिपयले क्यानले जारी गरेको सार्वजनिक सूचना नै विधानसम्बन नरहेको भनेर टिप्पणी गरिरहेका छन् ।

प्रशिक्षक बन्न नेपालमा तीनजना व्यक्तिहरु योग्य देखिए पनि उनीहरु तीनैले चासो दिएका छैनन् । क्यान पनि खेलाडीको मनोभावना अनुसार सकेसम्म बिदेशी प्रशिक्षक नै अनुबन्ध गराउने कसरतमा छ । यसका लागि आईसीसीसँग समन्वय भइरहेको भनिएको छ ।

त्यसो भए नेपालली राष्ट्रिय टिम र नेपालको परिवेश सुहाउँदो प्रशिक्षकको नियुक्ति कसरी गर्ने त ? हामीले क्रिकेट विश्लेषक, पूर्व प्रशासक, कप्तान लगायतसँग कुरा गर्दा सबैको राय भारतीय उपमहाद्वीपकै प्रशिक्षकले नेपाली टिमको नेतृत्व गर्न सक्ने धारणा राखे ।

इतिहास हेर्दा पनि नेपालमा भारतीय उपमहाद्वीपकै प्रशिक्षक प्रभावशाली छन् । भाषा, संस्कृति, रहनसहन र यस क्षेत्रको विकेटसँग परिचित तथा विश्व क्रिकेटको महाशक्ति राष्ट्रहरु भारत, पाकिस्तान, श्रीलंका यही क्षेत्रमा पर्ने भएकाले पनि स्तरीय प्रशिक्षकका लागि गोरो अनुहारको पछि लाग्नु आवश्यक नहुनेमा सबैको मतएैक्यता छ ।

सन् १९९६ मा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेयता नेपालमा ६ जना बिदेशी प्रशिक्षकले प्रशिक्षण गराएका थिए । तीमध्ये ५ जना भारतीय उपमहाद्वीपकै रहे । सन् १९९६ को एसीसी ट्रफीयता नेपालले लामो समयसम्म दुई वर्षको अन्तरमा हुने यही प्रतियोगितामै सीमित रह्यो । यसबीचमा पाकिस्तानका फारुक जमान र भारतका वीरेन्द्र भट्नाकरले नेपालको टिम संहाले ।

सन् १९९८ मा नेपालले कीर्तिपुर मैदानमा एसीसी ट्रफीको आयोजना गर्दा नेपाली टिमको प्रशिक्षक अस्ट्रेलियाका ब्रेन विगिङ्स थिए । यी तीनैजना प्रशिक्षकको नियुक्ति क्यानको सम्बन्धको आधारमा सम्बन्धित देशका क्रिकेट संघले उपलब्ध गराएर भएको थियो ।

सन् २००१ मा श्रीलंकाली प्रशिक्षक रोय लुक डायस आईसीसीको माध्यमबाट नेपालमा आएका हुन् । झन्डै १ दशक नेपालमा विताएका उनले नेपाली क्रिकेटको अहिलेको सफलताको आधार खडा गरेका थिए । ट्वान्टी ट्वान्टी विश्वकपसम्म पुग्ने तथा नेपाललाई एकदिवशीय मान्यता दिलाउनेमध्येका महत्वपूर्ण सदस्य पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, शक्ति गौचन, बसन्त रेग्मी लगायतका क्रिकेटरको उत्पादन र क्षमता पहिचानको श्रेय उनैलाई दिने गरिएको छ ।

डायसको बहिर्गमनपछि श्रीलंकाकै पुवुदु दाशानायकेले सन् २०११ देखि ४ वर्ष नेपालको जिम्मेबारी संहाल्दा डायसको सपना पूरा गरेरै छाडे । यसबीचमा नेपालले आफूले खेलेकामध्ये अधिकांश प्रतियोगिता जित्यो । नेपाल विश्व क्रिकेटमा पहिचानसहित उदायो । विश्वकप खेल्यो । आईसीसी विश्व क्रिकेट लिग डिभिजन वानसम्म आइपुग्यो ।

पूर्व कप्तान एल.बी क्षेत्री

२०१५ मा उनी विदा भएपछिको २ वर्ष स्थानीय प्रशिक्षक जगत टमाटाले नै जिम्मेबारी संहाले । उनैको प्रशिक्षणमा नेपालले सन् २०१८ मा एकदिवशीय मान्यता पाएको हो । एकदिवशीय मान्यता पाएपछि खेलाडीको आग्रहअनुसार आईसीसीले भारतीय उमेश पटवाललाई मुख्य प्रशिक्षकको जिम्मेबारी दियो । पटवाल त्यसअघि नेपाली टिमको ब्याटिङ सल्लाहकारको रुपमा थिए ।
अहिले खेलाडीदेखि समर्थकसम्मले बिदेशी प्रशिक्षककै नियुक्तिको माग गरिरहेका छन् । राष्ट्रिय टोलीका पूर्व कप्तान एल.बी क्षेत्रीले घरेलु प्रशिक्षकहरु दवाव झेल्न इच्छुक नदेखिएका कारण बिदेशी प्रशिक्षकको आवश्यकता परेको बताउँछन् । नेपालले आफ्नो स्तरमा उत्कृष्ट प्रदर्शन गरी टेष्ट मान्यता हासिल गर्न पनि अनुभवी बिदेशी प्रशिक्षकको आवश्यकता पर्ने उनको तर्क छ ।

उसो भए कस्ता प्रशिक्षकले नेपाललाई थप सफलता दिलाउन सक्लान् त ? ‘सार्क देशहरु भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानमा क्रिकेटले राम्रो विकास गरेको छ । सार्कका देशहरुसँग भाषा संकृतिलगायतमा एकरुपता छ ।

यही क्षेत्रका प्रशिक्षकले नेपाली खेलाडीको भावनाअनुसार प्रशिक्षण दिन सक्छन्,’ नेप्लेजसँगको कुराकानीमा उनले थपे, ‘मेरो बिचारमा भारतीय प्रशिक्षक अझ प्रभावकारी हुन सक्छन् । किनभने भारत विश्व क्रिकेटको सबैभन्दा प्रभावशाली देश हो । त्यसबाहेक हाम्रो संस्कृति समान छ । भारतसँगको सामरिक सम्बन्धमा पनि यसले सहज हुन सक्छ ।’

क्षेत्रीले क्रिकेट गतिविधि धेरै हुने ठाउँबाट प्रशिक्षक ल्याउने कुरामा पनि क्यानले बिचार गर्नुपर्ने ताए ।

‘नेपालले चार वर्षका लागि मात्रै एकदिवसीय मान्यता पाएको हो । यसलाई टिकाउँदै टेस्ट राष्ट्र बन्ने बाटो कोर्नुपर्ने चुनौती छ । हामीले प्रशिक्षक ल्याउँदा त्यो देशको ल्याउनुपर्छ जहाँ क्रिकेट गतिविधि अधिक होस् । त्यस्तो भयो भने नेपाली खेलाडीहरुलाई अभ्यासका लागि पनि ती ठाउँमा पठाउँदा उनीहरुले बढी भन्दा बढी एक्सपोजर पाउँछन्,’ उनले थपे ।

भारत हाम्रो छिमेकी देश भएकाले पनि त्यहाँको प्रशिक्षक ल्याउँदा हरेक कुराले उपयुक्त हुने नेपाली क्रिकेट टिमका पूर्व खेलाडी आमिर अख्तरको तर्क छ । उनले भारतीय प्रशिक्षकहरु अहिले अन्य टेष्ट राष्ट्रकै प्रशिक्षक भइसकेकाले त्यसको फाइदा नेपालले लिन सक्ने बताए ।

उनले भने, ‘भारतीय प्रशिक्षकहरु अहिले दक्षिण अफ्रिका, वेस्टइण्डिज, जिम्बावे र अफगानिस्तानको टिम सम्हालिरहेका छन् ।

पूर्व क्रिकेटर आमिर अख्तर

साथै अस्ट्रेलियाको राज्यस्तरको प्रशिक्षणमा पुगिसकेको छन् । विश्वको क्रिकेट संस्कृतिमा भारतको ठूलो योगदान रहेकाले पनि उनीहरुबाटै प्रशिक्षक ल्याउँदा फाइदा लिन सकिन्छ ।’

उनले भारतीय उपमहाद्वीप क्षेत्रबाहिरको प्रशिक्षकका लागि भाषा लगायतको समस्या परिरहने दावी गरे ।

नेपालको छिमेकी देश भएर पनि भारतीय क्रिकेटबाट त्यति धेरै फाइदा लिन सकेको छैन । अबको दिनमा क्रमश व्यवसाकियता तर्फ उन्मुख नेपाली क्रिकेटलाई अघि बढाउन र बीसीसीआईसँगको सम्बन्ध स्थापित गर्न पनि त्यस्ता प्रशिक्षकको भूमिका महत्वपूर्ण हुने उनको भनाई छ ।

साथै पारश्रिमिकका हिसाबले पनि धेरै कुरामा सहज हुने उनको बुझाई छ ।

Post Add 1025X115
Loading...