महिला फुटबलको बिकासमा एन्फाले फिफामा कस्ता योजना पेश गर्नुपर्ला ?

0

नेप्लेज । जियान्नी इन्फान्तिन्होले विश्व फुटबल महासंघ फिफाको जिम्मेबारी संहालेदेखि नै महिला फुटबलको बिकासलाई प्राथमिकतामा राख्ने बताउँदै आएका छन् र त्यस्ता योजनाहरु लागू गरिरहेका छन् ।

यसैको निरन्तरताको रुपा फिफाले नेपालसहित आफ्ना सबै सदस्य राष्ट्रका फुटबल संघहरुलाई सन् २०२० देखि २०२३ सम्म महिला फुटबलको बिकासका लागि आवश्यक रणनीतिसहितको कार्ययोजना पेश गर्न भनेको छ ।

फिफाको ८ वटा मुख्य कार्यक्रमा आधारित रहेर योजना पेश गर्न भनेको हो । पुरुष फुटबल नै पूर्ण व्यवसायिक हुन नसकेको हाम्रो देशमा महिला फुटबलको अवस्था सन्तोषजनक पक्कै छैन । फिफा फरवार्ड कार्यक्रम अन्तर्गतको ५ लाख डलरको यो योजनामा नेपालले के के कुरामा केन्द्रित रहि योजना पेश गर्नुपर्ला त रु

हामीले नेपाली फुटबलका विश्लेषक सन्जीव मिश्रसँग एन्फाले फिफामा पठाउने कार्ययोजनामा समावेश हुनुपर्ने सम्भावित विषयबारे कुराकानी गर्दा उनले प्रशिक्षण, प्रतियोगिता र खेलाडीको नेतृत्व बिकासमै जोड दिनुपर्ने धारणा राखे ।

‘नेपालमा अहिले पनि अधिकांश आमाबाबुले आफ्ना छोराछोरी खेलकुदमा लागेको देख्न चाँहदैनन् । पतृसतात्मक सामाजिक व्यवस्थामा महिला खेलाडीहरुलाई परिवारबाट अनुमति लिनुपर्ने झन्झट अर्कोतिर छ । अहिले पनि अधिकांश महिला खेलाडी बिहेपछि खेलबाट पलायन हुनुपर्ने स्थिति छ,’ नेप्लेजसँगको कुराकानीमा विश्लेषक मिश्रले भने, ‘महिला खेलाडी र उनीहरुका परिवारलाई फुटबलमा आकर्षित गर्नका लागि योजनाहरु तर्जुमा गर्दा सकारात्मक प्रभाव पर्नेछ ।’

नेपालको महिला फुटबल तीन बिभागीय टोलीले नै धानिरहेको छ । बिभागले टिम बनाउनुअघि जिल्लाबाट कर्मकान्डी छनोट गरी राष्ट्रिय टिम तयार गर्ने गरिएको थियो । बिभागबाहेक अन्य क्लबहरुमा स्थापनाका लागि योजना बनाउने वा पुरुष फुटबल खेलिरहेका क्लबहरुलाई महिला टिम बनाउन आकर्षित गर्नुपर्ने मिश्र बताउँछन् ।

‘अहिले तीनवटा बिभागीय टिम छन् । तीनदेखि पाँच वटासम्म महिला क्लबहरु थपिए भने स्तरीय लिग आयोजना गर्न सकिन्छ । हामीले महिला क्लब स्थापना वा विद्यमान ए डिभिजन क्लबहरुलाई महिला टिम बनाउन आर्थिक अनुदानसहितको विशेष लगानीका योजना बनाउनुपर्छ । यस्तो भयो भने क्लबहरु स्तरीय हुन्छन् र उनीहरुलाई समेटेर नियमित लिग आयोजना गर्दा राष्ट्रिय टिमका लागि उत्कृष्ट खेलाडी उत्पादन गर्न सजिलो हुनेछ,’ उनले थपे ।

महिला खेलाडीहरु अहिले वर्षमा एक वा दुई प्रतियोगितामै सीमित हुनुपरेको छ । धेरै भन्दा धेरै प्रतियोगिता आयोजनाका लागि पनि योजना पेश गर्नुपर्ने बताइन्छ । ‘कम्तिमा सबै प्रदेशामा महिला फुटबल टेक्निकल सेन्टर निर्माण गरी दक्ष प्रशिक्षक नियुक्ति दिनुपर्छ,’ उनले थपे, ‘महिला फुटबलको प्रशिक्षक महिला नै हुनुपर्छ भन्ने त होइन तर नेपालमा एकजना पनि ए लाइसेन्स प्राप्त महिला प्रशिक्षक छैनन् । प्रशासन क्षेत्रमा पनि उनीहरुको संग्लग्नता बाक्लो हुन सकेको छैन । महिला प्राविधिक उत्पादन, उनीहरुको क्षमता र नेतृत्व बिकासमा विशेष योजना आवश्यक छ ।’
एन्फाका महिला कमिटी संयोजक पूर्व फुटबलर हरि खड्काले फिफाबाट माग भएअनुसारको योजनाका लागि आफूहरु गृहकार्यमा रहेको र छिट्टै एन्फाको बोर्ड बैठक वा साधारणसभाबाट पारित गरिने बताउँछन् । ‘फिफाले ३ वर्षका लागि आफ्ना योजनाहरु पेश गर्न भनेको हो । फिफाले प्रस्तुत गरेका ८ मध्ये ६ कार्यक्रममा हाम्रो मापदन्ड पूरा हुन्छ । महिला फुटबलको सम्पूर्ण बिकासका लागि सुक्ष्म अनुसन्धान गरेरै फिफामा प्रस्ताव पठाइनेछ,’ हाल रियालिटी शो डान्सिङ विथ स्टार्समा व्यस्त खड्काले नेप्लेजसँग भने ।

नेपालमा महिला फुटबल लिन निकै छोटो समयमा आयोजना हुने गरेको छ । सुरुआती चरण, छनोट चरण र अन्तिम चरण गरी तीन चरणमा लिग सन्चालन भएको खड्काको दावी छ । उपमेयर कप राष्ट्रिय महिला फुटबललाई लिगको सुरुआती चरणका रुपमा लिइएको छ । महिला लिग सन्चालनका लागि एन्फाले फिफाबाट ५० हजार डलर अनुदान पाउँदै आएको छ । ‘यही शैलीबाट लिग जारी राख्ने कि बिभागीय टिमसहित अन्य केहि क्लबहरु स्थापना गरी लिग सन्चालन गर्ने भन्नेबारे हामी छलफला निर्णय गर्नेछौं ।’

फिफाले मागेका याेजनाहरु

महिला फुटबलको विकाशका लागि विश्व फुटबल महासंघ फिफाले आफ्ना एसोसियट देशहरुलाई योजना बनाउन आह्वान गरेको छ । फिफाले महिला फुटबल रणनिती अन्तर्गत विकाश कार्यक्रमका विषयमा २११ सदस्यलाई विभिन्न कार्यक्रममा योजना पठाउन भनेको छ ।

महिला फुटबलको विकाशका लागि फिफाले विभिन्न ८ वटा क्षेत्रमा योजना आह्वान गरेको छ । महिला फुटबल विकाश अन्तगर्त २०२० देखि २०२३ सम्मका लागि योजना बनाउन भनिएको छ । फिफाले ती कार्यक्रममा फिफाले उचित बजेट दिने भएको छ ।

फिफा फरवार्ड कार्यक्रम हरेक सदस्य देशलाई पाँच लाख अमेरीकी डलर बजेट राखिएको छ । यो बजेटमा फिफाले रिलिफ फन्डमा पनि राखेको छ । जुन महिला फुटबललाई मात्र केन्द्रित गरिएको छ ।

फिफा विकाश कार्यक्रममा निम्न योजनाहरु रहेका छन ।

१. महिला फुटबल रणनिती
२. महिला फुटबल क्याम्पियन
३. लिगको विकाश
४. क्लब लाइसेन्स
५. प्रशासन तर्फ क्यापासिटी बिल्डिङ
६. कोचलाई एडुकेसन स्कोलरसिप
७. कोच मेन्टोरसिप
८. महिला फुटबलका लिडरसिप कार्यक्रम

Post Add 1025X115
Loading...