सरकारले भनेका जति काम गर्ने हो भने खेलकुदमा बजेट थप गर्नुपर्छ : सदस्यसचिव सिलवाल

0

सरकारले संघीय संसदमा आर्थिक वर्ष २०७७–०७८ को बार्षिक बजेट पेश गरेको छ । १४ खर्ब ७४ करोडको बजेट पेश गरेको सरकारले युवा तथा खेलकुद क्षेत्रमा भने २ अर्ब ३६ करोड मात्रै विनियोजन गरेको छ ।

गत वर्ष ३ अर्ब ९९ करोड विनियोजन गरेको सरकारले यस पटक खेलकुद क्षेत्रमा बजेट घटाएको छ । सरकारले यो वर्ष १ अर्ब ६३ करोड बजेट घटाएको हो । गत मंसिरमा भएको १३ औं दक्षिण एशियाली खेलकुद सागको सफल आयोजना र खेलाडीले ऐतिहासिक पदक जितेकाले हौसिएको खेलकुद क्षेत्र बजेट सार्वजनिक भएपछि भने निराश भएको छ ।

राष्ट्रिय खेकलुद परिषद् राखेपका सदस्य सचिव रमेश सिलवालले लक्ष्य अनुसारको बजेट सरकारले नछुट्याएको बताएका छन् । प्रधानमन्त्रीदेखि सबै सरकारी निकायहरु खेलकुद प्रति सकारात्मक हुँदा हुँदै पनि खेलकुदको बजेट घट्नु दुर्भाग्य भएको टिप्पणी गरे । कोरोना भाइरसको महामारीका कारण बजेट घट्ने निश्चित भए पनि आफूले कम्तिमा ३ अर्बको बजेट आउने अपेक्षा गरेको बताए । प्रतिशतमा भन्दा अहिले आशा गरेको भन्दा ४० प्रतिशतले कम बजेट आएको जानकारी दिए । उनले भने ‘बजेट सरसर्ती हेर्दा निराशा जनक त छ, रातो किताबमा आएपछि थप कुरा गर्दा राम्रो हुन्छ ।’

बजेटको अहिलेको रकम हेर्दा निराशाजनक भएपनि पछि सरकारले खेलकुदका लागि बजेट थप गर्दै जाने विश्वास पनि व्यक्त गरे । ‘उदाहरणका लागि गत वर्ष आयोजना भएको १३ औं दक्षिण एशियाली खेलकुद सागका लागि शुरुमा ५० लाखको मात्रै बजेट थियो, पछि नेपाल सरकारले ३ अर्ब ६५ करोड बजेट निकासा गरेको थियो ।’ सदस्य सचिव सिलवालको भनाई छ ।

‘अर्थमन्त्रीले खेलकुदको बजेटको सिँगो सैद्धान्तिक पक्षको व्याख्या गर्दा अन्तर्राष्ट्रिय खेल मैदान निर्माण, प्रादेशिक रंगशालाहरुको निर्माण, स्थानीय खेल ग्रामको निर्माण, कर्भडहलको निर्माणको कुरा उल्लेख गर्नुभएको छ । यसमा मेरो सैद्धान्तिक सहमति छ । हाई अल्टिच्युट ट्रेनिङ सेन्टर निर्माण, नवौं राष्ट्रिय खेलकुदको आयोजना यी सबै काम गर्ने हो भने यो बजेट अपर्याप्त छ । अहिलेको अवस्था सुध्रियो भने खेलकुदमा थप बजेट आउँछ भन्नेमा म विश्वस्त छु ।’ सदस्य सचिव सिलवालको भनाई थियो ।

खेलकुदको बजेटका लागि आफूले अर्थमन्त्रीसँग भेटेर कुरा गर्ने बताउँदै भविष्यमा आयोजना हुने खेलकुद लगाएतका कुरामा बजेटको कमि नहुने विश्वास पनि व्यक्त गरे ।

Post Add 1025X115
Loading...