आरसिटीकाे अबको लक्ष्य ए डिभिजन

0

ए डिभिजन लिगमा फर्किने लक्ष्यमा आरसिटी
रानीपोखरी कर्नर टिम । नेपाली फुटबलमा आरसिटीको नामले परिचित यो क्लबले शहीद स्मारक ए डिभिजन लिगको ६ वटा उपाधि जितिसकेको छ । ए डिभिजन लिगको दोस्रो सफल टिम हो आरसिटी ।

सन् १९३२ मा स्थापना भएको अन्नपूर्ण क्लबको फुटबल खेल्ने टिम हो, आरसिटी ।
रानीपोखरीको उत्तर–पश्चिम कुना नजिकै भएका कारण यसलाई आरसिटी भनिएको हो । ६ वर्षअघि रेलिगेसनमा परेको आरसिटीले त्यसपछिका दुईवटा बी डिभिजन लिग खेल्यो ।

यसअघिको संस्करणको च्याम्पियन बनेपनि वार्म अप लिग भनिएकाले शीर्ष डिभिजनमा फर्किन सकेन ।
नेपाली फुटबलको इतिहास बोकेको आरसिटी अघिल्लो संस्करण जस्तै राम्रो प्रदर्शन गरेर शीर्ष डिभिजनमा फर्किने तयारीमा छ ।

आरसिटीले २०२८, २०२९, २०३०, २०३६, २०३८ र २०४१ को लिग जितेको थियो । तर, पछिल्लो समय भने ‘मिड टेबल’ मै रहँदै आएको थियो । २०७१ को लिगमा आर्थिक संकटका कारण रेलिगेसनमा प¥यो ।

एउटा इतिहास बोकेको क्लब फेरी शीर्ष डिभिजनमा उक्लिने लक्ष्मा छ ।
‘टिम राम्रो बनाएका छौं,’ आरसिटीका म्यानेजर राजु शाही भन्छन्,‘तर, खेल हो भन्न सकिँदैन ।’
‘यसपटक ४०–५० लाख जित खर्च गरेका छौं,’ शाहीले भने ।

यस पटकको ए डिभिजन लिगमा आरसिटीले राम्रै खर्च गरेको छ । अघिल्लो संस्करणमा बी डिभिजन लिग च्याम्पियन बनाउन योगदान दिएका केही खेलाडीलाई अनुबन्ध गरेको छ । ए डिभिजन लिगमा आरसिटीको पोस्ट सम्हालेको भेटरान गोलकिपर दिलिप क्षेत्री, ए डिभिजन लिग खेलिसकेका अमर डंगोल लगायतका खेलाडी आरसिटीमा छन् ।


ए डिभिजनभन्दा बी डिभिजन खेल्न गाह्रो भएको अनुभव प्रशिक्षक सुलभ जंग राणाको छ । ‘हामीसँग बी डिभिजन खेलेको अनुभव पनि थिएन । साथै सोचेको पनि थिएनौं, बी डिभिजनमा झर्छ भनेर,’ आरसिटी बी डिभिजनमा झर्दा सुलभ खेलाडीकै भूमिकामा थिए ।

‘यो पटक क्लबलाई ए डिभिजनमा चढाएर राहत महसुस गर्नेछु,’ सुलभ दृढ छन् ।
‘केही समयअघि सबैभन्दा धेरै लिग जितेको टिम भएकाले हामीलाई ए डिभिजनमा उक्लिन दबाब पनि छ ।’

लिगकै लागि भनेर आरसिटीले बुटवलमा डेढ महिना क्लोज क्याम्प राखेको थियो । खेलाडीलाई त्यति खर्च नगरेपनि उनीहरुको स्तर सुधार्न र मनोबल उच्च बनाउन आरसिटीले लगानी गरेको छ ।
अहिलेसम्म कुनै ठूलो प्रायोजक आरसिटीले भेटाएको छैन । तर, क्लब ब्यवस्थापन भने प्रायोजक भेट्नेमा आशावादी छ ।

खेलाडी, प्रशिक्षक र ब्यवस्थापन सबैले ए डिभिजनमा चढ्ने गरी तयारी गरेको प्रशिक्षक राणाको भनाई छ ।

प्रशिक्षक सुलभले पनि लामो समय आरसिटीमा खेले । अहिले उनी नयाँ भूमिकामा छन् । इतिहास बोकेको क्लबलाई ए डिभिजनमा फर्काउने जिम्मेवारी सुलभको काँधमा छ ।

अहिले आरसिटीमा बी डिभिजन लिगका ‘बीग नेम’ पनि छन् । टिममा जुनियर र सिनियर खेलाडीको राम्रो कम्बिनेसन पनि छ ।

राकेश हमाल, अमर डंगोल, दिलिप क्षेत्री, कृष्ण कुँवर र अजय थापा मगर आरसिटीका मुख्य खेलाडीहरु हुन् ।

लिगको तयारीका लागि आरसिटीले केही मैत्रिपूर्ण खेलहरु पनि खेलेको थियो । जसमा टिमको प्रदर्शनप्रति प्रशिक्षक सन्तुष्ट छन् ।

ए डिभिजन लिगमा उक्लाउने जिम्मेवारी प्रशिक्षक सुलभको मात्र नभई खेलाडी तथा ब्यवस्थापनको पनि उत्तिकै छ । आइतबारदेखि बी डिभिजन लिग सुरु हुँदैछ । १२ टोलीले अर्को सिजनको ए डिभिजन लिगमा उक्लिनका लागि प्रतिष्पर्धा गर्नेछन् ।

Post Add 1025X115
Loading...