ए डिभिजन लिगमा आज तीन खेल, मछिन्द्र र संकटा भिड्दै

0

शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आजदेखि १२ औं चरणको खेल शुरु हुँदै छ ।

अब सवै टिमका दुई दुई खेल बाँकी रहेकाले उपाधि होड भने रोमाञ्चक बनेको छ । शीर्ष स्थानमा रहेको त्रिभुवन आर्मीको २६ अंक छ भने दोस्रो स्थानमा रहेको मछिन्द्रको २५ तथा तेस्रो स्थानमा रहेको मनाङको २२ अंक छ ।

यी तीन टिमबीच उपाधि होड खुला रहेको छ । अंक तालिका हेर्दाभने आर्मी र मछिन्द्र मध्य एक टिमले उपाधि जित्ने सम्भावना रहेको छ । आर्मी र मछिन्द्र जारी लिगकै अन्तिम खेलमा प्रतिस्पर्धा गर्ने छन् । जुन खेल फाइनल जस्तै हुने अपेक्षा गरिएको छ ।

१२ औं चरण अन्तर्गत आज तीन खेल हुँदै छन् । यसअघि हलचोक मैदानमा पनि प्रतियोगिता गराउने तयारी गरि तालिका प्रकाशन गरे पनि क्लबहरुले हलचोक मैदानमा खेल्न नमाने पछि अन्तिम खेलबाहेक सबै खेल सातदोवाटोमा हुने भएका छन् ।

आज तीन वटा खेल हुने छन् । पहिलो खेल विहान पौने ९ बजे एपीएफ र फ्रेण्ड्स भिड्ने छन् । एपीएफ पुछारबाट दोस्रो स्थानमा छ भने फ्रेण्ड्स नवौं स्थानमा छ ।

यस्तै अर्को खेलमा सवा १२ बजे च्यासल र सरस्वती भिड्ने छन् । च्यासल १० औं तथा सरस्वती पुछारमा छ । तेस्रो खेलमा दिउँसो साढे ३ बजे संकटा र मछिन्द्र आमने सामने हुने छन् । यो खेलमा मछिन्द्र विजयी भए शीर्ष स्थानमा उक्लने छ भने पराजित भए उपाधि होडमा पछि पर्ने खतरा रहने छ ।

गत संस्करणको उप विजेता संकटालाई पनि टप सिक्सभित्र पर्नका लागि जित आवश्यक छ ।

Post Add 1025X115
Loading...