५० दिनपछि लिभरपुलले खायो पहिलो गोल

0

उल्भरह्याम्टन वान्डरर्समाथि २–१ को जित दर्ता गर्दै लिभरपुलले प्रिमियर लिग उपाधि जित्ने अभियान अघि बढाएको छ ।

बिहीबार राती भएको खेलमा रोबर्टो फिरमिनोले अन्तिम समयमा गोल गरेपछि लिभरपुलले एक खेल कम खेलेरपनि १६ अंकको अग्रता लिन सफल भएको छ ।

उल्भ्सको मैदानमा भएको खेलको आठौं मिनेटमा जोर्डन हेन्डरसनले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । उनले ट्रेन्ट अलेक्सान्दर आर्नोल्डको कर्नरमा हेडमार्फत गोल गरेका थिए ।

पहिलो हाफमा लिभरपुलले सो अग्रता कायम राख्यो । तर, दोस्रो हाफको छैटौं मिनेटमा राउल जिमिनेजले गोल गर्दै खेल बराबरीमा पु¥याए ।

लिभरपुलले ५० दिनपछि पहिलो गोल खाएको हो । प्रिमियर लिगमा एभर्टनका रिचार्डलिसनले गत डिसेम्बर ५ मा लिभरपुलविरुद्ध गोल गरेका थिए । राउल जिमिनेजले यो सिजन सबै प्रतियोगितामा गरेर २० गोल पनि पूरा गरेका छन् ।

खेल सकिन ६ मिनेट बाँकी हुँदा फिरमिनोले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । इन्ज्युरी समयको सुरुमा डियोगो जोटाले गोल गर्ने राम्रो अवसर खेर फाल्दा लिभरपुलले अंक गुमाउनु परेन ।

जितसँगै लिभरपुलले २३ खेलबाट ६७ अंक बनाएको छ । उल्भरह्याम्टन भने ३४ अंकसहित सातौं स्थानमा छ ।

Post Add 1025X115
Loading...