फुटबल प्रतियाेगिताका लागि मैदानकाे मर्मत

0

तेमाल गाउँपालिका,चापाखोरिस्थित खेल मैदान माघ ३ बाट हुन लागिएको अध्यक्षकप फुटबल प्रतियोगितालाई लक्षित गर्दै मर्मत गरिएको छ ।

काभ्रेको तेमाल गाउँपालिकामा आयोजना हुन लागिएको अध्यक्षकप अन्तरवडा फुटवल प्रतियोगिताका लागि स्काभेटर प्रयोग गरि मैदानलाई निश्चिति रुप दिइएको छ । स्वस्थ जीवनका लागि खेलकुद, व्यक्तित्व विकासका लागि खेलकुद, आन्तरिक पर्यटन प्रर्वधनका लागि खेलकुद भन्ने नाराका साथ आयोजना गर्न लागिएको प्रतियोगिता माघ ३ गते उद्घाटन गर्दै माघ ५ गते समापन हुनेछ ।

प्रतियोगितामा प्रत्येक वडाबाट एक टिम मात्र सहभागी हुन पाउनेछन् । सहभागी टिमले १८ जना खेलाडी र दुई (म्यानेजर र प्रशिक्षक) गरी जम्मा २० जना दर्ता गराउनुपर्ने खेल संयोजक ज्ञान बहदुर तमाङले बताए । त्यस्तै प्रतियोगितामा भाग लिने टिमका खेलाडी सम्बन्धित वडाको हुनुपर्ने छ । प्रतियोगितामा प्रथम हुने टिमले ७५ हजार नगद सहित कप प्राप्त गर्नेछ भने दोस्रो हुने टिमले नगद ५० हजार प्राप्त गर्नेछन् । तेस्रो हुने टिमले २५ हजार नगद प्राप्त गर्नेछन् । उत्कृट खेलाडी, सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट गोल किपरले ५-५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।

तेमाल गाउँपालिका अध्यक्षकप अन्तरवडा फुटवल प्रतियोगिता गाउँपालिकाको वडा नम्वर ७ स्थित राधाकृष्ण मा.बि को मैदानमा हुनेछ । प्रतियोगितालाई मध्यनजर गर्दै मैदान सम्याउने काम पूरा भएको छ । गाउँपालिका कै उत्कृष्ट खेल मैदान बन्न सक्ने खेल मैदान संरक्षणको अभावमा चरणमा सिमित भएको थियो ।

नेपाल भ्रमण वर्ष २०२० को उपलक्ष्यमा आयोजना गर्न लागिएको प्रतियोगिताले भ्रमण वर्ष सफल पार्न स्थानीय स्तरबाट केहि सहयोग पुग्ने गाउँपालिकाले विश्वास लिएको प्रवक्ता ज्ञान बहादुर तामाङले बताए । काभ्रेको तेमाल गाउँपालिकामा सम्भावना बोकेको थुप्रै मैदान भए पनि संरक्षणमा सम्बन्धित निकायको ध्यान नपुग्दा ओझेलमा परेका छन् ।

खेलकुदमा बिकास गर्नका लागि खेलमैदान अति आवश्यक तत्व हो । त्यसैले क्षेत्रीय स्तरबाट खेलकुदमा बिकास गर्नका लागि खेलमैदान सुधार गर्नु आवश्यक छ ।

Post Add 1025X115
Loading...