फुटबलमा धेरै काम गर्ने जोसका साथ नेपाल आएको छुः पूर्व खेलाडी कुमार थापा

0

राष्ट्रिय फुटबल टिमका पूर्व मिडफिल्डर कुमार थापा युईएफए मास्टर्स इन इन्टरनेशनल प्लेयरमा मास्टर्स गरेर नेपाल फर्किएका छन् । विज्ञता हासिल गरेर फर्किएका कुमारलाई नेपाली फुटबलको विकासमा योगदान दिने धोको छ । खेलाडीलाई खेल करियरपछिको समयमा उनीहरुको विज्ञता प्रशासन ब्यवस्थापनको माध्यमबाट फुटबलमा निरन्तरता दिन प्रेरित गर्ने कोर्स हो ।

युरोपेली फुटबल महासंघ युइएफएले संचालन गरेको मास्टर्स इन इन्टरनेशनल प्लेयर्स एआईपी कोर्स गर्ने कुमार थापा नेपालकै पहिलो खेलाडी हुन् । उनी यो कोर्स गर्ने नेपालका मात्र नभएर एसियाकै पहिलो खेलाडी समेत हुन् । यो कोर्स सम्पन्न गरेर पूर्व राष्ट्रिय खेलाडी कुमार थापा नेपाल फर्किएका छन् । दुई वर्षे कोर्स सकाएका कुमार अब नेपालकै फुटबल विकासका लागि केही गर्न चाहन्छन् ।

कोर्सका दौरान सिकेका कुराहरु नेपालमा लागु गर्ने सोचका उनको छ । ‘विषेश गरी आफ्नो देशबाट अन्तर्राष्ट्रिय फुटबल खेलेका खेलाडीलाई उनीहरुको खेलाडी करियर पछि फुटबल ब्यवस्थापनमै लाग्न सक्षम बनाउने कोर्स हो,’ कुमारले भने । खेलाडी करियरपछि कतिपय खेलाडी प्रशिक्षणमा लाग्छन् । तर, त्यसबाहेक पनि फुटबलमा गर्न सकिने धेरै कुराहरु छन् । त्यसमा फुटबल ब्यवस्थापन प्रमुख पाटो हो । फुटबलको ब्यवस्थापनको उपाय खेलाडी भन्दा बढी कसैलाई थाहा हुँदैन ।

केवल उनीहरुका लागि सहि तरिका सिकाउनु आवस्यक छ । त्यही काम यो कोर्सले गरेको हो । ‘यो कोर्सले फुटबल संघ, क्लबको प्रशासन संचालन कसरी गर्ने भन्ने सिकाएको छ,’ कुमारले भने । युरोपेली फुटबल महासंघले कोर्स बनाएर लण्डनको बर्कबक विश्वविद्यालय र फ्रान्सको लेमोज विश्वविद्यालयले संयुक्त रुपमा संचालन गरेको हो । यो कोर्स फुटबलको मास्टर्स डिग्री हो । कुमार यो कोर्सका दोस्रो ब्याचका विद्यार्थी हुन् ।

पहिलो ब्याच सन् २०१५ देखि १७ सम्म संचालन भएको थियो । दोस्रो ब्याच १७ देखि १९ सम्म संचालन भयो । नेपाल फुटबलमा अघि बढ्न चाहिरहेको देश हो । यहाँ कुमारको विज्ञता महत्वपूर्ण छ । ‘क्लबलाई ब्यवस्थित र आर्थिक रुपमा उत्पादक बनाउनेमा यो कोर्स महत्वपूर्ण छ । पहिलाको तुलनामा अहिले फुटबलको क्रेज घटेको देखिन्छ । मेरो विज्ञता समर्थकहरुलाई कसरी बढिभन्दा बढी सहभागिता गराउने, एकेडेमी संचालन गर्ने, क्लबको मूल्य कसरी बढाउने भन्नेमा केन्द्रित हुन्छ,’ कुमारले भने ।

तर, उनको विज्ञतालाई अखिल नेपाल फुटबल संघ वा क्लबले पत्याउनु पर्दछ । त्यही नै पहिलो चुनौति हो । राष्ट्रिय फुटबल टिममा ३४ क्याप जितेका कुमार थापाले २०४९ देखि २०६२ सम्म मनाङ मस्र्याङ्दी क्लबमा खेले । त्यसबेलाका सर्वोत्कृष्ट मिडफिल्डर थापाले मनाङलाई तीन पटक लिग च्याम्पियन पनि बनाए । त्यसपछि उनी सशस्त्र प्रहरी बलमा आबद्ध भएर लिग खेले । अब उनी नेपालको लिगलाई ब्यवस्थित र आर्थिक रुपमा उत्पादक बनाउने तर्फ केन्द्रित भएका छन् । पछिल्लो दुई दशकमा लिग परिक्षणमात्र भइरहेको छ ।

लिग खेल्ने क्लबको संख्यामा घटबढ भइरहन्छ । त्यससँगै कहिले डबल लिग, कहिले सुपर सिक्स, कहिले एउटा रेलिगेसन, कहिले दुईवटा रेलिगेसन, कहिले रेलिगेसन नै नहुने । यस्तो कारणले गर्दा पनि नेपाली फुटबल अस्थिर भइरहेको छ । ‘जुनसुकै कुरा अध्ययनको आधारमा संचालन गरेमा दिगो हुन्छ । अहिले नेपाली फुटबलमा त्यो पाइएको छैन,’ नेपाली लिगमा सुधार गर्नुपर्ने धेरै कुरा कुमारले देखेका छन् ।

अहिले काठमाडौं केन्द्रित लिग भइरहेका छन् । काठमाडौं र ललितपुरका ११ वटा क्लबले ए डिभिजन लिग खेलिरहेका छन् । त्यसैले दर्शकले अपनत्व महसुस गर्न सकेका छैनन् । कुमारको बुझाइमा लिगलाई काठमाडौंबाहिर लैजानु पर्छ । नेपाली क्लबहरु अझै पनि ब्यावसायिक बन्न सकेका छैनन् । क्लब सामूदायिक ढाँचामा चल्दै आएका छन् । कम्पनीमा रुपान्तरण गरेर ब्यावसायिक बनाउनेमा कुनै क्लबले सोच्न पनि सकेका छैनन् । उनलाई त्यसो गर्नका लागि अखिल फुटबल संघको साथ चाहिन्छ ।

तर, आफूलाई एन्फाले वास्ता नगरेको गुनासो छ । केही समय अघि उनले यू–१६ महिला टोलीलाई प्रशिक्षण गरे । तर, त्यसपछि एन्फाले उनलाई कहिले पनि बोलाएन । ‘अखिल नेपाल फुटबल संघका पदाधिकारीले उसले पढेको कुरा नेपालमा काम लाग्दैन, विदेशमा मात्र हुन्छ भनेको सुने,’ कुमारले दुखेसो पोखे । यो कोर्स गर्ने कुमार एसियाकै पहिलो खेलाडी हुन् ।

कोर्सका दौरान उनले फ्रान्स, इंग्ल्याण्ड, स्पेन, जर्मनी, अमेरिका, रुस जस्ता देशका फुटबल ब्यवस्थापनको अध्ययन गर्ने मौका पाए । एक करोड रुपैयाँ भन्दा बढी रकम खर्च गरेर हासिल गरेको उनको विज्ञतालाई सम्बन्धित निकायले प्रयोग गर्न सके नेपाली फुटबलमा उल्लेख्य परिवर्तन आउन सक्छ ।

Post Add 1025X115
Loading...