तेक्वान्दो खेलाडी सुनिताको गुनासो ‘खेलाडीले लगाउने सेतो कपडा देख्दा खिसी गर्छन्’

0

भारतमा भएको सिनियर महिला ४६ केजी तौल समूहमा दाङकी सुनिता विष्टले दुई स्वर्ण पदक जितिन् । घोराही–१० ठाँटीगाउँ जन्मघर भएकी सुनिताले गत पुस १२ गते भारतको पश्चिम बङ्गालको असानसोलमा भएको प्रथम खुला अन्तरराष्ट्रिय तेक्वान्दोतर्फ नेपालको प्रतिनिधित्व गर्दै उक्त समूहमा स्वर्ण जितेकी हुन् ।

त्यसको दुई दिनपछि पुस १४ गते पश्चिम बङ्गालकै कोलकातामा भएको सिनियर महिला १८ वर्षमाथि पुम्से विधामा थप स्वर्ण जितिन् । उनले जिल्ला, प्रदेश र राष्ट्रियस्तरका खेलमा आफ्नो क्षमता देखाएर सफलता पाएकी छिन् । अन्तरराष्ट्रियस्तरमा भने उनले पहिलोपटक पदक जितेकी हुन् ।

सानै उमेरमा आफ्नो लगनशीलता, मेहेनत र परिश्रमले देशको गौरवलाई खेलमार्फत परिचित गराएकी २० वर्षीया विष्ट घोराहीको महेन्द्र बहुमुखी क्याम्पसमा बीबीएस प्रथम वर्षमा अध्ययनरत छिन् । उनले पढाइसँगै आफ्नो खेललाई निरन्तरता दिदैं आएकी छिन् । न उनको आफन्तमा कोही खेलमा रुचि राख्ने थिए, न त छरछिमेकी नै । न त उनको स्कूलमा कुनै खेलकूद हुन्थ्यो, न गाउँको वातावरण नै खेलकुदमय छ । खेलका लागि आफ्नो नजिकमा कुनै वातावरण नभए पनि ग्रामीण दूरदराजमा जन्मिएर उनी अहिले खेलमा अब्बल सावित भएकी छिन् । खेलकूदको कुनै वातावरण नभएको परिवार र गाउँमा जन्मिएकी विष्ट अहिले अन्तरराष्ट्रियस्तरको खेलाडी बनिसकिन् ।

गाउँमा अझै उनी खेलाडीले लगाउने सेतो कपडा लगाएर हिँडेको, प्रतिस्पर्धाका लागि अभ्यास गरेको देख्दा आफन्त, छरछिमेकी खिसी गर्छन् । ‘खेल सिक्दा शारीरिक अभ्यासस्वरुप ‘पुसअप’ गर्दा हातमा ठेला परेको छ’, हत्केला देखाउँदै उनले भनिन्, ‘हत्केला पछाडिको भागमा कालो रङ बसेको छ, छोरी मान्छेको खस्रो हात हुनु राम्रो लक्षण होइन भन्ने गर्छन् ।’ खेल खेल्दा आफन्तले बिहेको विषय उठाउने गरेको उनलाई मन पर्दैन । महिलाको अन्तिम गन्तव्य नै बिहे भन्ने समाजलाई उनले त्यसको विपरीत मान्छे ‘कुट्ने’ खेल खेलेर सबैलाई चकित पारेकी छिन् ।

कहिलेकाहीँ खेलमा सहयोग गर्ने भएनन् कि भन्ने अनुभव उनको मनमा आउँछ । विष्टले कक्षा ७ मा पढ्दादेखि नै खेल खेल्न थालिन् । हापुर गाउँकै जनजागृति आधारभूत विद्यालयमा पढ्दै गर्दा स्व दिलीप केसीले उनलाई खेल्न सिकाएका थिए । तोक्वान्दोमा रुचि जगाए । सामान्यरुपमा खेल्दै सिक्दै गर्दा उनलाई अहिले तोक्वान्दो नशा, पेशा र दैनिकी बनेको छ ।

विसं २०७३ मा उनी बस दुर्घटनामा परिन् । विष्टको देब्रे हात भाँच्चियो । रड हाल्नुप¥यो । केही समय खेलबाट विश्राम लिनुप¥यो । त्यसले उनको रुचि घटाएन । भन्छिन्, ‘हातको रड निकालेर फालेपछि फेरि तेक्वान्दो गुरु दीपक केसीसँग भेट भयो, उनले खेल्नको लागि प्रेरित गर्नुभयो ।’

विद्यालयका बालबालिकालाई उनी बिहानमा तेक्वान्दो सिकाउँछिन् । आफु प्रत्येक दिन अभ्यास पनि गर्छिन् । विष्ट हाल घोराहीको अल्फा तेक्वान्दो डोजाङ्ग क्लबसँग आबद्ध भएर खेल्दै आएकी छिन् । पर्याप्त खेलकूद प्रतियोगिताको आयोजना नहुनु, राज्यस्तरबाटै यसको बेवास्ताजस्ता कारणले उनलाई खिन्न बनाउँछ । जिम्मेवार निकायको सोच फराकिलो नबन्दासम्म देशको खेलकूदको अवस्था सुध्रिन नसक्ने उनको बुझाइ छ ।

Post Add 1025X115
Loading...