साग भएकाे एक महिनामा पनि ‘रिभ्यू’ हुन सकेन किन ?

0

नेपालले तेस्रो पटक आयोजना गरेको दक्षिण एसियाली खेलकुद साग सकिएको एक महिना भएको छ । तर अहिलेसम्म नत राष्ट्रिय खेलकुद परिषद् नत ओलम्पिक कमिटीले नै यसको विश्लेषण (रिभ्यु) गरेको छ । कुनै पनि देशले अन्तराष्ट्रिय प्रतियोगिता गरेपछि त्यसको विश्लेषण गरेर भएका कमजोरी र सकारात्मक पक्षको मुल्यांकन गर्ने गर्छ । तर नेपालमा कुनैपनि प्रतियोगितामा सहभागिता जनाउदा होस या प्रतियोगिता आयोजना गर्दा त्यसको विश्लेषण गर्ने चलन विरलै मात्र छ ।

यस्तैमा सागको सफल आयोजना गरेको भनिएको नेपाल सरकार अन्र्तगत राष्ट्रिय खेलकुद परिषद्ले एक महिनासम्म पनि यसको रिभ्यु गर्न सकेको छैन । यो विषयमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवाललाई बुझ्दा सहभागि संघहरुले आफ्नो तर्फबाट गर्नुपर्ने काम अझै गर्न नसकेको र त्यसका लागि परिषद्ले पत्राचार गरिसकेको बताए ।

उनले संघले समयमा नै आफ्नो विस्तृत विवरणसहित फाइल नपठाएकाले केहि ढिलो भएको र चाँडै सागको रिभ्यू गर्ने बताए ।

१३ औं संस्करणको सागलाई हतारहतारमा आयोजना गरेर नेपालले सफल रुपमा गरेको घोषणा गरेको थियो । यसपटकको सागमा नेपालले ऐतिहासिक सफलता हात पार्यो । प्रतियोगितामा सहभागि २६ खेलमा सुटिङ बाहेक सबै खेलले कुनै न कुनै पदक जित्यो । जसमा नेपालले ५१ स्वर्ण ६० रजत र ९५ काश्यका साथ दुई सय ६ पदक जितेको थियो ।

सागको इतिहासमा यो नेपालको अहिलेसम्म कै धेरै पदक थियो । तर प्रतियोगिता सकिएपछि सरकारले गरेको पुरस्कार घोषणामा भेदभाव गरेको भनेर आलोचना पनि गरियो । टिम इभेन्ट्समा रजत र काश्य जित्ने खेलाडीले कति पाउने भन्ने सरकारले केहि बोलेन ।

नेपाली खेलकुद क्षेत्रले कुनैपनि प्रतियोगिता गर्दा रिभ्यू समयमा नगरेको यो पहिलो पटक भने होइन, यसअघि ओलम्पिक, एशियाडमा सहभागिता जनाउँदा होस या घरेलु प्रतियोगिता राष्ट्रिय खेलकुदको आयोजना गर्दा कहिलेपनि बेलैमा यसको रिभ्यु भएन ।

कुनैपनि प्रतियोगितामा सहभागिता जनाउँदा होस या आयोजना गर्दा त्यसको विस्तृत अध्ययन गरेर मुल्यांकन गर्नुपर्ने हुन्छ । चाहे त्यो बजेटका हिसावले होस या अरु किसिमले तर नेपालमा अहिलेसम्म कहिलेपनि त्यो समयमा भएको छैन ।

यसपटकको सागमा पुर्वाधार देखि खेलाडीको भत्ता, तयारी लगायतका विषयमा राष्ट्रिय खेलकुद परिषद्ले विस्तृत विवरण दिनुपर्ने थियो । कति खर्च, के केमा खर्च लगायतका बिवरणमा संघले समयमा नै आफ्नो काम नसक्दा परिषद् हेरेर बसेको छ ।

विभिन्न उपसमितीहरुले आफ्नो शिर्षमा रहेको बजेट धमाधम लिइसकेका छन । कुल ५ अर्व बजेट रहेको सागमा कति खर्च भयो त त्यसको हिसावकिताव भने छैन ।

Post Add 1025X115
Loading...