ए डिभिजन लिगमा आर्मी र संकटा बराबरीमा रोकिए, भरत खवास घाइते भएपछि एम्बुलेन्स मैदान प्रवेश

0

काठमाडौं, २९ पुस । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय क्लब त्रिभुवन आर्मी र संकटा क्लब एक एक गोलको बराबरीमा रोकिएका छन् ।

बराबरी गर्दै दुवै टिमले एक एक अंक लिए पछि विभागीय क्लब त्रिभुवन आर्मीलाई शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ । पाँचौं चरणको अन्तिममा शीर्ष स्थानमा उक्लिएको आर्मी छैटौं चरणको अन्तिममा पनि शीर्ष स्थानमा पुग्ने लक्ष्यमा थियो । तर १ गोलले पछि परेको संकटाले बराबरी गोल गरेपछि आर्मीको शीर्ष लक्ष्य यो चरणमा अपुरो रह्यो । नतिजासँगै आर्मी १३ अंकसहित शीर्ष स्थानको मछिन्द्रसँग अंक बराबरी गरेको छ । संकटा भने ८ अंकसहित आठौं स्थानमा रहेको छ ।

दशरथ रंगशालामा पहिलो हाफमा विभागीय क्लब आर्मीले अग्रता लिएको थियो । आर्मीले नवयुग श्रेष्ठको गोलको मद्दतले अग्रता लिएको थियो । नवयुगले २९ औं मिनेटमा फ्रिकीक मार्फत आएको बेललाई हेड गर्दै गोल गरेका थिए ।

तर दोस्रो हाफको शुरुमै आर्मीलाई धक्का लाग्यो । आर्मीका युद्ध शाही रातो कार्ड पाउँदै मैदान बाहिरिए पछि १० खेलाडीमा सिमित भएको थियो । पहिलो हाफको १० औं मिनेटमा पहिलो पहेँलो कार्ड पाएका युद्धले ५१ औं मिनेटमा दोस्रो पहेँलो कार्डको दर्शन गर्दै मैदान छाडेका थिए । त्यसपछि दबाबमा आएका आर्मीलाई संकटाले गोल फर्र्र्र्काको थियो ।

संकटाका अमित तामाङले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । आर्मीका सुमन अर्यालले फल गरेपछि संकटाले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीलाई अमितले मिस गरेनन् । ८० औं मिनेटमा आर्मीका कप्तान भरत खवास नवयुग श्रेष्ठलाई रिप्लेस गर्दै मैदान प्रवेश गरेका थिए । तर उनी १ मिनेटमै घाइते हुन पुगे ।

संकटाका लक्ष्मण रुचालले प्रहार गरेको फ्रि कीक उनको टाउँकोमा लाग्दै लडेका थिए । असहज महशुस गरेपछि खेलाडी र रेफ्री दौडिएर भरतको स्थानमा पुगेका थिए भने तत्कालै मेडिकल टिम र एमबुलेन्सनै मैदान प्रवेश गराइएको थियो । तर भरत एम्बुलेन्समा भने चढेनन् । उनी हिडेर मैदान बाहिर गएका थिए । त्यसपछि शुरु भएको खेलमा दुवै तर्फबाट कुनै पनि गोल नभएपछि संकटा र आर्मीले एक एक अंक लिए ।

Post Add 1025X115
Loading...