आर्मी संकटा क्लवसँग बराबरीमा राेकियाे

0

सहिद स्मारक ए डिभिजन लिगमा अहिले विभागिए टिम त्रिभुवन आर्मीले संकटा क्लवसँग बराबरीमा चित्त बुझाएको छ । आर्मीले संकटासँग एक एक गोलको बराबरी खेल्यो ।

दशरथ रंगशालामा जारी खेलमा आर्मीले एक गोलको अग्रता जोगाउन सकेन । खेलको २९ औं मिनेटमा आर्मीले गोल गर्यो । उसका लागि नवयुग श्रेष्ठले हेडर गोल गरे ।

एक गोलले पछि परेको संकटाले ३८ औं मिनेटमा बराबरी गर्ने मौका पाएका थिए । तर सुवास गुरुङको कर्नरमा इरनेस्ट टाम्पेको प्रहारलाई आर्मीका सन्तोष तामाङले बचाए ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको आर्मीले दोस्रो हाफको सुरुवातमा नै दश खेलाडीमा झर्न पुग्यो । खेलको ५४ औं मिनेटमा आर्मीका युद्ध शाही दोहोरो पहेलो कार्ड पाउदै मैदानबाट बाहिरीए । उनले लक्ष्मण रुचाललाई खराव ट्याकल गर्दा दोहोरो पहेलो कार्ड पाएको थिए ।

त्यसको लगत्तै संकटाले पेनाल्टीको अवसर पायो । डिबक्समा सुमन अर्यालले हातले बल छोएपछि पाएको पेनाल्टीलाई संकटाका अमित तामाङले गोल गर्न सफल भए । जसका कारण खेल एक एक गोलको बराबरीमा पुग्यो ।

त्यसपछि एकपटक जर्ज प्रिन्स कार्कीले पाएको मौकामा चुक्दा आर्मीले अग्रता लिन असफल भए ।

त्यसपछि ८० औं मिनेटमा नवयुग श्रेष्ठको स्थानमा मैदानमा प्रवेश गरेका भरत खवास मैदान छिरेको केहिबेरमा नै घाइते हुन पुगे । केहिबेर अचेत भएपछि मैदानमा एम्बुलेन्स नै छिरेको थियो । तर त्यसपछि उनी केहिबेरको आराममा निको भए ।

त्यसपछि दुबै टिमबाट गोल हुन सकेन र खेल बराबरीमा सकियो । बराबरीपछि आर्मीले लिगको शिर्ष स्थानमा उक्लने मौका गुमाएको छ । उसको ६ खेलमा १३ अंक भएको छ । जारी लिगमा आर्मीको यो पहिलो बराबरी हो । संकटाकाे ६ खेलमा ८ अंक छ ।

Post Add 1025X115
Loading...