क्रिकेटका मुख्य प्रशिक्षक पटवालकाे बिकल्प चाँडै खाेज्दै क्यान, त्रिकाेणात्मक सिरीज अन्तिम माैका

0

नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षकले नेपाली राष्ट्रिय टिमको प्रशिक्षण सम्हालेको करिव नौ महिना हुन लाग्यो । यो विचमा पटवालको प्रशिक्षणमा खासै ठुलो उपलब्धि भने हासिल गर्न सकेन । उनी प्रशिक्षक भएपछिको मुख्य ठुलो प्रतियोगिता टी २० विश्वकप छनोट थियो, त्यसमा नेपाल असफल भयो । यसका साथै सागमा पनि घरेलु मैदानमा नेपाली टिम असफल नै रह्यो । त्यसमा पनि नेपाल क्रिकेट संघ क्यानको नयाँ कार्यसमिती आएपछि कतै उमेश पटवाललाई परिवर्तन त गर्ने होइन भन्ने प्रश्न उब्जिएको छ ।

क्यान नभएका बेला आइसीसी र राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा पटवाल नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । मासिक सात हजार अमेरीकी डलर तलवमा नेपाली क्रिकेटको प्रशिक्षक बनेका पटवालको कामलाई क्यानको नयाँ कार्यसमितीलाई चित्त बुझेको छैन ।

क्यानको नयाँ कार्यसमितीका ९० प्रतिशत सदस्य पटवाललाई परिवर्तन गर्नुपर्छ भन्ने लाइनमा छन । क्यानकै एक सदस्यका अनुसार नेपाल ओमान र अमेरीका विचको त्रिकोणात्मक सिरीजपछि पटवाललाई परिवर्तन गर्ने की भन्ने योजनामा क्यान रहेको छ ।
पटवालले आफुलाई प्रमाणित गर्न असफल भएको र मुख्य प्रतियोगितामा चुकेको भन्दै उनको विकल्प खोज्ने तयारी गरेको तीन सदस्यको भनाई छ ।

घरेलु मैदानमा हुने विश्वकप क्रिकेट लिग २ मुखैमा रहेका बेला यो प्रतियोगितालाई सम्पन्न गरेपछि क्यानले प्रशिक्षकका बारेमा नयाँ कदम चाल्न सक्नेछ ।

पटवालको स्थानमा को ल्याउने ?

नेपाल क्रिकेट संघले पटवालको स्थानमा भारतबाट नै नयाँ प्रशिक्षक झिकाउने योजना बनाएको छ । आइसीसीसँगको सहकार्यमा क्यानले अनुभवी भारतीय प्रशिक्षकलाई नेपालको मुख्य प्रशिक्षकमा ल्याउने संभावना रहेको छ । पटवालले पनि नेपाली क्रिकेट टिमको सल्लाहकारका रुपमा काम गरेपछि मुख्य प्रशिक्षक बनेका थिए ।

यसकारण नेपाली क्रिकेटका बारेमा जानकार रहेका प्रशिक्षकलाई नै नयाँ प्रशिक्षकमा नियुक्त गर्ने प्रबल संभावना रहेको छ ।

पटवाल नेपालको ब्याटिङ सल्लाहकार हुँदा नेपालले यूएईमा पहिलो टी २० र एकदिवसिय सिरीज जितेको थियो । तर प्रशिक्षक भएपछि उनले मलेसिया विरुद्धको दुई टी २० सिरीजको प्रतियोगिता जितेपनि सिंगापुरमा भएको टी २० विश्वकप छनोटमा निकै खराव प्रदर्शन टिमले गरेको थियो । कतार र सिंगापुरसँग हार्नु नेपालका लागि विश्वकप खेल्ने सपना चकनाचुर भएको थियो ।

त्यसपछि नेपाली टिमले बंगलादेशमा भएको एसीसी इमर्जिङ कप खेलेको थियो । जसमा नेपाल समुह चरणबाट नै बाहिरीयो । यस्तै एक दशक भन्दा लामो समयपछि घरेलु मैदानमा तीनदिवसिय खेलमा पनि नेपालले राम्रो नजिता निकाल्न सकेन ।

ओमानमा भएको पाँच देश सहभागि टी २० सिरीजमा पनि नेपालले खासै राम्रो गर्न सकेन । सो प्रतियोगितामा नेदरल्याण्ड्सलाई हराउँनु नेपालका लागि ठुलो उपलब्धि बन्यो । आरल्याण्डसँगपनि जितको नजिक पुगेर पराजित भएको थियो । ओमानसँग पनि निकै खराव प्रदर्शन गर्न पुग्यो । त्यसअघि सिंगापुरमा भएको टी २० सिरीजमा नेपालले सिंगापुरलाई हराएपनि जिम्बावेसँग पराजित हुन पुगेको थियो । टी २० मा नेपालले प्रशिक्षक पटवाल आएपछि २३ वटा अन्तराष्ट्रिय खेल खेल्यो । जसमा ११ खेलमा मात्र जित निकाल्यो ।

यस्तै उनको प्रशिक्षणमा नेपालले आधिकारीक ५० ओभरको खेल खेल्न पाएन । यो विचमा नेपालले बंगलादेशमा इमर्जिङ एसिया कप खेलेको थियो, तर सो प्रतियोगितामा यू २३ टिमको सहभागिता रहेकाले त्यसलाई एकदिवसिय मान्यता दिएन ।

अब पटवाललाई जानेबेला नेपालका लागि घरेलु मैदानमा हुने त्रिकोणात्मक सिरीजमा राम्रो गर्नुको विकल्प छैन ।

नेपाल क्रिकेट संघ क्यानको नयाँ कार्यसमिती आएको करिव चार महिना भएको छ । यो विचमा दुई पटक क्यानको बोर्ड बैठक बस्यो र दुबै पटक ठुलो निर्णय भन्दापनि आन्तरीक रुपमा कसरी क्यानलाई अगाडी बढाउने भन्ने छलफल भयो । जसमा खेलाडीको सेन्ट्रल कन्ट्रयाक्ट परिमार्जन, अफिसको स्थापना, सिटी अफिसको ब्यवस्थापन रहेको छ । अब प्रशिक्षकका रुपमा कसलाई ल्याउने भन्ने पनि क्यानको नयाँ काम थपिएको छ ।

Post Add 1025X115
Loading...