क्विक्स कपको उपाधि जनज्योतीलाई

0

काठमाडौं । राजधानीमा भएको क्विक्स कप छात्रा फुटबलको उपाधि जन ज्योति पब्लिक स्कुलले जितेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको फाइनलमा दुर्गा माविलाई जन ज्योतीले २–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । २६ औं मिनेटमा दुर्गा माविका लागि सुनिता ब्लोनले गोल गर्दै अग्रता दिलाएकी थिइन् । १ गोलले अग्रता लिएको दुर्गा माविले उक्त अग्रतलाई धेरै बेर जोगाउन सकेन ।

३५ औं मिनेटमा जन ज्योती खेलमा फर्कदैं बराबरी गोल गरेको थियो । जन ज्योतीका लागि दिक्षा खाँणले गोल गरेकी हुन् । पहिलो हाफमा १–१ गोलको बराबरीमा सकिएको खेलमा जन ज्योतीले निर्णायक गोल दोस्रो हाफमा गरेको थियो । ५१ औं मिनेटमा एलिसा थापा मगरले जन ज्योतीका लागि गोल थप्दै २–१ को अग्रता बनाइन् ।

त्यसपछि बाँकी समय गोल नभएपछि अन्ततः जन ज्योती पब्लिक स्कूलले क्विक्स कप छात्रा फुटबलको उपाधि जित्न सफल भयो । प्रतियोगिताको विजेता जन ज्योतीले नगद ३ लाख रुपैयाँ पुरस्कार हात पार्दा दोस्रो भएको दुर्गा माविले १ लाख ७५ हजारमा चित्त बुझायो ।

तेस्रो स्थानका लागि आइतबार नै भएको प्रतिस्पर्धमा महादेव मावि सफल भयो । महादेव माविले ज्वालामुखी माविलाई १–० गोल अन्तरले पराजित गर्दै तेस्रो स्थान कब्जा गरेको हो । तेस्रो भएको महादेव माविले ७५ हजार प्राप्त गर्दा पराजित भएको ज्वालामुखीले ५० हजार पायो ।

विधागत तर्फ जन ज्योतीका दिक्षा खाँण उत्कृष्ट फरवार्ड, उत्कृष्ट गोलकिपर विशिना सुनार र उत्कृष्ट प्रशिक्षक अमृत केसी घोषित भए । यस्तै महादेव माविकी प्रतिक्षा चौधरी उत्कृष्ट डिफेन्डर चयन हुँदा दुर्गा माविकी सुनिता सुनार उत्कृष्ट मिड फिल्डर चुनिए । विधागत तर्फ उत्कृष्ट चुनिएका खेलाडी तथा प्रशिक्षकले जनही ५ हजार प्राप्त गरे ।

Post Add 1025X115
Loading...