सुखद विदाईको पर्खाईमा भोला सिलवाल

0

आठ वर्ष राष्ट्रिय टिममा योगदान दिएका भोला सिलवाल पछिल्लो समय राष्ट्रिय टोलीमा छैनन् । तर, नेपाल पुलिस क्लबबाट भने उनी निरन्तर खेलिरहेका छन् ।

इन्ज्युरी निको भएपछि उनी अघिल्लो सिजन ए डिभिजन लिगमा फर्किए । एक गोल पनि गरे । यो सिजनको लिगमा पनि उनी टिममा छन् । मोफसलका प्रतियोगिताहरुमा पनि राम्रै प्रदर्शन गरेका थिए ।

आइतबार ३४औं जन्मदिन मनाएका भोलाले अब राष्ट्रिय टिममा पर्ने अपेक्षा नरहेको बताए ।

‘राष्ट्रिय टिममा पर्ने मेरो सम्भावना चाहीँ लगभग सकिएको छ,’ यो समयमा आएर राष्ट्रिय टिममा खेल्ने उनको अपेक्षा पनि छैन ।

सन् २००८ मा नेपालमा भएको प्रधानमन्त्री कपमा नेपाल नीलो टिमबाट डेब्यू गरेका भोलाले तीन साताअघि भएको जापानी टिमसँगको मैत्रिपूर्ण खेलमा पनि नीलै जर्सी लगाए । राष्ट्रिय टिमको जर्सीमा त्यही नै अन्तिम खेल हुन सक्ने उनको बुझाई छ ।

‘मैले डेब्यू पनि नेपाल ‘ब्ल्यू’ टिमबाट गरेको थिएँ । अन्तिम म्याच पनि ब्लूबाटै भयो जस्तो लागेको छ ।’

लगातार आठ वर्ष राष्ट्रिय टिमबाट खेलेको भोला सम्बन्धित निकायले विदाईका लागि उचित वातावरणको अपेक्षा गरेका छन् ।

कुनै पनि खेलाडीले आफ्नो विदाई मैदानमै होस भन्ने चाहन्छ । उनले भनेको उचित वातावरण कुनै खेलबाट विदाई गरियोस भन्ने हो ।

त्यससँगै आफूले फुटबलमा दिएको योगदानको प्रतिफल स्वरुप केही पुरस्कार र सुविधाको पनि अपेक्षा हो ।

‘हामीले यत्रो वर्ष फुटबलमा योगदान दियौं । विदा हुने बेलामा योगदानको केही कदर भइदिए खुसी हुने थिएँ,’ भोला त्यो समय कुरिरहेका छन् ।

Post Add 1025X115
Loading...