६० को दशकमा राज गरेको नेपाल पुलिस क्लब अहिले किन पछाडि ?

फुटबलकाे नयाँ माहाेलमा भिज्न प्रयास गर्दैछौं: प्रशिक्षक थापा

0

नेपाली फुटबलमा केही समयअघि सम्म नेपाल पुलिस क्लबले राज गरेको थियो । आधुनिक लिग सुरु भएपछि पुलिसले नेपाली शीर्ष डिभिजनको उपाधि तीन पटक जित्यो । त्यसअघि पनि पुलिसले पुरानो लिग पनि पुलिसले दुई पटक जितेको थियो । कुल पाँच पटक लिग जितेको नेपाल पुलिस क्लब ए डिभिजन लिगको तेस्रो सफल टिम हो ।

अन्तर्राष्ट्रिय क्लब च्याम्पियनसिपमा पनि नेपाल पुलिस क्लब सर्वाधिक सफल टिम हो । एएफसी प्रेसिडेन्ट कपको फाइनल खेल्ने एकमात्र नेपाली क्लब पनि हो । सन् २००७ को संस्करणमा नेपाल पुलिस क्लब फाइनलमा पराजित भएको थियो ।

नेपाली फुटलबमा नेपाल पुलिस क्लबको दबदबा यतिमा सिमित हुँदैन । ६० को दशकको अधिकांश समय घरेलु फुटबलमा पनि नेपाल पुलिस क्लबले दबदबा गरेको थियो । राष्ट्रिय टिमका अधिकांश खेलाडी नेपाल पुलिस क्लबलाई नै प्रतिनिधित्व गरेका थिए । सजिलो गरी बुझ्दा नेपाल राष्ट्रिय टिमको आधार नै थियो नेपाल पुलिस क्लब ।

पछिल्लो समय नेपाल पुलिस क्लबको प्रदर्शन खस्किएको छ । अघिल्लो सिजनको ए डिभिजन लिगमा छैटौं भएको पुलिस यो सिजनको चौथो चरण सकिँदा पाँचौं स्थानमा छ ।

पुलिसको गोल्डेन जेनेरेसन

नेपाल पुलिस क्लबलाई रियल मड्रिडसँग तुलना गर्ने गरिन्थ्यो । नेपाली फुटबलमा उपलब्ध उत्कृष्ट खेलाडीलाई पुलिसले अनुबन्ध गरिहाल्थ्यो । राष्ट्रिय टिममा खेल्न सक्ने सम्भावना भएका खेलाडीलाई सरकारी सुविधा दिएपछि उनीहरु पनि आकर्षित हुन्थे ।

त्यसबेला अहिलेका प्रशिक्षक अनन्त थापा, हरि खड्का, राकेश श्रेष्ठ, पर्वत पाण्डे, जुमानु राई, रमेश बुढाथोकी जस्ता खेलाडी नेपाल पुलिस क्लबमै थिए । त्यसको लगत्तै भोला सिलवाल, सुमन सुवेदी पनि थपिए । यो टिमको उपस्थितीमा पुलिसले २०६३ को लिग जित्यो । त्यसपछि भएका दुई संस्करण (२०६६–७६ र २०६८) मा पनि च्याम्पियन बन्यो । राष्ट्रिय लिग पनि जित्यो । अहिले विभागीय टिम भन्दा अन्य क्लबहरुको प्रदर्शन राम्रो हुन थालेको छ ।

फुटबलको फेरिएको रुप

प्रशिक्षक अनन्त थापा पुलिस क्लबको गोल्डेन जेनेरेसनका मुख्य सदस्य हुन् । पुलिसको त्यही छबीलाई पुनः नेपाली फुटबलमा फर्काउन प्रयास गरिरहेका छन् । त्यसबेला जस्तो स्थिती भने अहिले छैन । अहिले नेपाली फुटबल पूर्ण रुपमा कायापलट आएको अनुभव प्रशिक्षक अनन्तको छ ।

‘त्यो जमाना र अहिलेमा धेरै फरक छ । प्राविधिक रुपमा पनि त्यो बेलाको फुटबल र अहिलेमा धेरै अन्तर छ,’ अनन्तको अनुभव छ ।

‘हामी खेल्दा राष्ट्रिय टिमका आठ–नौ जना खेलाडी पुलिस क्लबमा थिए । यसले गर्दा विपक्षीको मनोबल त्यसै कमजोर बन्थ्यो ।’

‘त्यो बेलाको टिममा ‘इन्डिभिज्योल ब्रिलियन्सी’ हाबी थियो । त्यसबेला खेलाडीका लागि पनि ‘प्रोपर पोजिसन’ भन्ने थिएन । खेलाडीले राम्रोसँग फुटबल नै बुझेका थिएनन् ।’

त्यसबेला अहिले जत्तिको ब्यावसयिकता फुटबलमा थिएन । सेवा सुविधामा तथा तयारीमा पनि विभागीयको तुलनामा अरुको फिका थिए ।

अहिले सबै क्लबहरुले फुटबललाई गम्भीर रुपमा लिएर त्यही अनुरुप तयारी गर्दै आएका छन् ।

‘अहिले प्रशिक्षकको स्तरमा पनि ठूलो परिवर्तन आइसकेको छ । त्यसबेला टिमको प्रदर्शन खेलाडीको ब्यक्तिगत प्रदर्शनमा निर्भर हुन्थ्यो । अहिले प्रशिक्षक रणनीतिले टिमको जित हार निर्धारण गर्दछ ।’

त्यो बेला नेपाल पुलिस क्लब भन्ने वित्तिकै अन्य क्लबहरु खेल्नु अघि नै मानसिक रुपमा पराजित भइसकेका हुन्थे । प्रशिक्षण कोर्सहरु विरलै हुन्थे, जसका कारणले गर्दा ठूला क्लबलाई साना क्लबमाथि जित निकाल्न गाह्रो पर्दैनथ्यो । अहिले प्रविधिसँगै खेलाडी आफैंले पनि सिक्न थालेका छन् । लिगमा विदेशी खेलाडी छान्दा पनि प्रशिक्षकले आफ्नो रणनीति अनुशारका खेलाडी छान्न सक्छन् ।
प्रशिक्षकले विपक्षी टिमको सुक्ष्म अध्यन गर्न सिकिसकेका छन् । त्यही अनुरुप ‘गेम प्लान’ बनाउँछन् । यस्तै रणनीतिका कारण ठूला क्लबलाई पनि साना क्लबमाथि जित निकाल्न सहज छैन ।

क्लबहरु पनि त्यति ब्यवस्थित थिएनन् । अहिले लिगका लागि क्लबले लाखौं खर्च गर्न थालेका छन् ।

विभागमा टिममा घट्ने आकर्षण

पछिल्लो समय विभागीय टिममा खेलाडीको आकर्षण घट्दो अवस्थामा छ । राष्ट्रिय टिममा प्रतिनिधित्व गर्ने खेलाडीले विभागीय क्लब छोड्दै गएका छन् ।

विभागले तोकेको सिमित सुविधाभन्दा बढी पारिश्रमिक निजी क्लबहरुले दिँदै आएका छन् । त्यसैले पनि विभाग बाहिरका क्लबमा खेलाडी आकर्षित भएका हुन् ।

विभागको नियमभित्र बाँधिनु परेकाले ब्यक्तिगत निर्णयमा खेलाडीको सेवा सुविधा बढाउन सम्भव पनि छैन ।

पुनरागमनको तयारीमा पुलिस

नेपाल पुलिस क्लबको गोल्डेन जेनेरेसनका अर्का पात्र हुन् भोला सिलवाल र रविन श्रेष्ठ । झण्डै एक दशक उनले राष्ट्रिय जर्सी लगाए । केही समय घाइते भएर खेल्न सकेनन् । अघिल्लो सिजनको लिगमा उपस्थिती जनाए । यो संस्करणको नेपाल पुलिस टिममा पनि उनी समावेस छन् ।

केही भेटरान र अधिकांश युवा खेलाडी समावेश गरेर नेपाल पुलिस क्लब बनेको छ । सबै खेलाडीमा एक दशक अघिको प्रदर्शनलाई फर्काउने भोक छ । लिगमा सोचे अनुरुप प्रदर्शन गर्न नसकेपनि नकआउट प्रतियोगितामा भने पुलिसले सन्तोषजनक नतिजा निकाल्दै आएको छ ।

‘लिगमा पनि अहिले हामी शीर्ष पाँचमा छौं । सबै खेलाडी लिग जित्ने मनोबलका साथ खेलिरहेका छन्,’ भोलाले भने ।

‘लिगमा हामी धेरै पछि छैनौं । हाम्रो लिग जित्ने सम्भावना अझै टरेको छैन ।’

प्रशिक्षक अनन्त थापा पनि क्लबको पुरानो छवी फर्काउन प्रयासरत छन् । तर, त्यसका लागि प्रशिक्षक र खेलाडीको मेहनतमात्र पर्याप्त छैन ।

‘अहिले टिममा युवा खेलाडीको बाहुल्यता छ । उनीहरुलाई फुटबलको प्राविधिक शिक्षा दिनु जरुरी छ । अहिले प्रशिक्षक दलको सदस्यमा पनि बृद्धि गरेका छौं,’ ब्यवस्थापनले पनि सकेजति सहयोग गरेको प्रशिक्षक थापाको भनाई छ ।

डिफेन्डर रविन श्रेष्ठ पनि क्लब ब्यवस्थापनले बढी प्राथमिकता दिएको खण्डमा क्लबले गुमाएको शाख फिर्ता पाउने बताउँछन् ।

ए डिभिजन लिगका चारवटा खेल सकिँदा नेपाल पुलिस क्लबले दुई जित, एक बराबरी र एक हारको नतिजा निकालेको छ । शीर्ष स्थानको मनाङ मस्र्याङ्दी क्लबभन्दा पुलिस तीन अंकले मात्र पछि छ । युवाको बाहुल्यता र भेटरानको अनुभवका कारण नेपाल पुलिस क्लबले पनि पुरानो छवी फर्काउन सक्छ । फुटबलका ‘ठूला’ नाम नभएको पुलिस क्लबलाई त्यो सफलता हात पार्न भने धेरै मेहनत गर्नु जरुरी छ ।

Post Add 1025X115
Loading...