स्वर्ण पदक विजेता हमालसहित छ खेलाडी पुरस्कृत

0

कर्णाली प्रदेश सरकारले गत महिना नेपालमा सम्पन्न भएको दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)मा उसु खेलमा स्वर्ण पदक जित्ने सुर्खेतका दीपक हमाललाई पुरस्कृत गरेको छ ।

कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा बुधबार राजधानी सुर्खेतमा आयोजित ‘नेपाल भ्रमण वर्ष सन् २०२०’ को शुभारम्भ कार्यक्रममा शाहीसहित छ जना पुरस्कृत भएका हुन् । स्वर्ण पदक विजेता हमाललाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले रु तीन लाखसहित प्रमाणपत्र प्रदान गर्नुभयो ।

त्यस्तै, साग खेलमा म्याराथुनमा रजत पदक जित्ने सल्यानका पुष्पा भण्डारी, महिला भलिबलमा रजत पदक प्राप्त सुर्खेतका गीता राणा र ह्याण्डबलमा रजत पदक विजेता रुकुमपश्चिमका शारदा विकलाई जनही रु दुई लाखसहित प्रमाणपत्र प्रदान गरिएको छ । सोही प्रतियोगितामा पुरुष खो–खो खेलमा कास्य पदक जित्ने सुर्खेतका टेकबहादुर सार्की र बक्सिङमा कास्य पदक विजेता दैलखका चन्द्रकला थापालाई समेत प्रदेश सरकारले जनही रु एक लाखसहित प्रमाणपत्र प्रदान गरेको हो । ‘यसपालि, घुमोैँ कर्णाली’ नारा भएको लोगोका डिजाइनर सुर्खेत निवासी गणेशप्रसाद आचार्यलाई सरकारले रु ४० हजारसहित प्रमाणपत्रले पुरस्कृत गरेको छ ।

पर्यटनसँग सम्बन्धित छुट्टै लोगो निर्माणका लागि भएको खुला प्रतियोगितामा १३ जनाले भाग लिएका थिए । ‘यसपालि, घुमौँ कर्णाली’सहितको उक्त लोगो कर्णाली सरकारका मुख्यमन्त्री शाहीले भ्रमण वर्ष शुभारम्भ कार्यक्रममा सार्वजनिक गर्नुभयो । नेपाल पाराओलम्पिक कमिटी सुर्खेतलाई रु २० हजार नगद प्रदान गर्नुका साथै नियमितरुपमा कर्णाली प्रदेशलाई सेवा प्रदान गरेबापत बुद्ध एयरलायन्स सुर्खेतका स्टेशन प्रबन्धक नरबहादुर बस्नेतलाई पनि सम्मान गरेको छ ।

‘नेपाल भ्रमण वर्ष सन् २०२०’ को शुभारम्भ कार्यक्रममा सुर्खेतको गढीदेखि कार्यक्रमस्थल बुलबुलेसम्म प्याराग्लाइडिङमा सहयोग गर्ने ‘द बाबु एडभेन्चर्स इन्टरनेश्नल स्कूल प्रालि’का सञ्चालक सानोबाबु सुनुवारको टोली र भ्रमण वर्षमा कर्णालीमा आउने युरोपेली मुलुकसहित छिमेकी देश भारतबाट कर्णाली पुगेका पर्यटकलाई प्रदेश सरकारले सम्मान गरेको थियो ।

Post Add 1025X115
Loading...